अलमलमा एयरपोर्ट

प्रकाश ढकाल
चैत्र ८, २०७७
airport 1

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउँदो वैशाखमा उद्घाटन गर्ने तयारी छ । निर्माण पूरा नहुँदै वैशाखमा भैरहवा र पोखरा विमानस्थलको उद्घाटनको चर्चा सुरु भएको हो । तर विमानस्थल निर्माण पक्षले भने उद्घाटनका लागि कुनै जानकारी नआएको जनाएको छ ।

तोकिएकै समयमा काम सकियो भने पनि असार छुन्छ । कोभिड र सरकारी ढिला सुस्तीका कारण तोकिएको मितिमा काम नसकिने आयोजना प्रमुख विनेश मुनंकर्मी बताउँछन् । ‘ल्यान्डफिल साइट सार्ने कुनै तयारी छैन । डाँडा काट्ने काम सुरु भएको छैन । कामदार र सामान अझै सीमामै रोकिएका छन्,’ उनले भने, ‘जुलाईसम्म आयोजना निर्माण सकिँदैन । केही समय थपिएला । तर निर्माण कम्पनीले समय थपका लागि निवेदन दिएको छैन ।’ रिठ्ठेपानीको डाँडा काट्न राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले सरकारलाई फागुन १३ गते नै निर्देशन दिएको थियो ।

आयोजना निर्माणको काम २०१७ नोभेम्बर १ बाट सुरु भएको थियो । सम्झौता अनुसार सन् २०२१ जुलाई १० तारिखमा काम सक्नुपर्छ । सम्झौता मितिभन्दा ६ महिनाअघि काम सक्ने दाबी गरिएको आयोजनामा अहिलेसम्म ७२ प्रतिशत मात्रै काम पूरा भएको छ । मुस्किलले ४ महिनाभित्र बाँकी २८ प्रतिशत काम सक्न असम्भव प्रायः रहेको मुनंकर्मीले बताए ।

रिठ्ठेपानीको डाँडा नकाट्दासम्म नयाँ एयरपोर्टमा जहाज ओर्लिंंदैन, ल्यान्डफिल साइट अर्को ठूलो चुनौती

‘ठेकेदार पक्ष समयमै सक्ने विश्वासमा छ । कामदार थपेर द्रुत रुपमा निर्माण भइरहेको छ,’ उनी भन्छन्, ‘सरकार पक्षले समस्याको गाँठो फुकाएको छैन । रोकिएका सामान कसरी ल्याउने ? कामदार कसरी ल्याउने ? तोकिएको समयमा काम नसकिए थप प्रक्रिया कसरी अगाडी बढाउने ? यावत चुनौती थुप्रिएको छ ।’ यद्यपि भैरहवा र पोखराको परीक्षण उडान भने एकै पटक गर्न आफूहरु कस्सिएर लागेको उनले सुनाए । ‘सबै काम नसकिए पनि परीक्षण उडान हुन त सक्छ । दुवै एयरपोर्टमा टेस्ट फ्लाइट सँगै गर्ने कुरा भएको छ,’ उनले थपे, ‘उपकरण जडान बाँकी नै छ । हामी त्यसमा लागि रहेका छौं ।’ हाल एयरपोर्टमा १ सय ५० विदेशी र ४ सय नेपाली सहित ५ सय ५० कामदार कार्यरत छन् । अब अधिकांश प्राविधिक काम बाँकी छ । ८० प्रतिशत भौतिक र २० प्रतिशत प्राविधिक काम सकेपछि विमानस्थल पूर्ण हुन्छ ।

भिआइपीको आश्वासन मात्रै

पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा नयाँ मन्त्री र हाकिम फेरिएलगत्तै पहिलो घुमाइ हुन्छ, पोखरा विमानस्थल । जम्बो टोली लिएर आउँछन्, विमानस्थलको निर्माण प्रगति बुझ्छन् र आवश्यक सबै सहयोग गर्ने आश्वासन दिन्छन् । उनीहरु काठमाडौं फर्किन्छन्, समस्या ज्यूँका त्यूँ छ । पछिल्लो पटक नयाँ पर्यटन मन्त्री भानुभक्त ढकालले विमानस्थलको निरीक्षण गरे र निर्माणबाट आफु सन्तुष्ट रहेको प्रतिक्रिया दिए । पत्रकारहरुले निर्माणसम्बन्धि सोधेका प्रश्नमा उट्पट्याङ जवाफ दिएका मन्त्री ढकालले तोकिएकै समयमा विमानस्थल बन्ने दाबी गरे ।

एयरपोर्ट निर्माणमा अहिलेको मुख्य चुनौती भनेकै विदेशी कामदार आउन नसक्नु र सामग्री सीमामै रोकिनु हो । धेरै उपकरणहरु चीन र भारतमा छन् । कामदार पनि उतै छन् । रिठ्ठेपानीको डाँडा नकाट्दासम्म नयाँ एयरपोर्टमा जहाज ओर्लिंंदैन । डाँडा काट्न सरकारी प्रक्रिया नै पूरा भएको छैन । डाँडाको उचाइ कम्तीमा ४० मिटर घटाउनुपर्छ ।

ल्यान्डफिल साइट यहाँको सबैभन्दा ठूलो चुनौती हो । नयाँ विमानस्थलमा जहाज झार्न पहिलो शर्त ल्यान्डफिल हटाउनुपर्ने छ । १४ नम्बर वडाको बाच्छेबुडुवामा रहेको ल्यान्डफिल हटाउने दायित्व पोखरा महानगरको हो । मेयर मानबहादुर जिसीले जग्गाको लगभग टुंगो लागिसकेको बताए । ‘जग्गा करिब फाइनल भयो । एयरपोर्टसँग समन्वय भइरहेको छ,’ उनले भने, ‘हाम्रो कारण उडान रोकिँदैन । तोकिएकै समयमा हाम्रो जिम्मेवारी पूरा गर्छौं ।’ उनका अनुसार केही सार्वजनिक जग्गा र केही लिजमा लिएर ल्यान्डफिल बनाउन लागिएको हो । त्यसो त अहिले भैरहेको ल्यान्डफिललाई नै बन्द रुपमा पनि सञ्चालन गर्न सकिने प्रस्ताव जानकारहरुको छ । ‘यो ल्यान्डफिल बन्दै गर्नुपर्ने होइन । चराचुरी र गिद्धका कारण उडानमा असर नपरोस् भन्ने हो,’ उनीहरु भन्छन्, ‘तर एयरपोर्टले नराख्नु भनेपछि हटाउनु राम्रो हो ।’

महानगरपालिकाका अनुसार पोखरा ३३ पुँडीटार क्षेत्रमा ल्यान्डफिल बनाउने जग्गा हेरिएको छ । २१ र २५ नम्बर वडामा पनि जमिन हेरिएको छ । तर टुंगो लागेको छैन । सबैजसो ठाउँमा पर्याप्त जग्गा छैन । ‘१ सय रोपनी जमिन चाहिन्छ । त्यहाँ ४०–५० रोपनी मात्रै राम्रो देखियो,’ नगरपालिकाका इन्जिनियर नेत्र तिमिल्सिना भन्छन्, ‘त्यो पनि व्यक्तिको जग्गा धेरै छ । कतै नपाउनु भन्दा निर्वाहका लागि चल्छ । नत्र दीर्घकालसम्म जाँदैन ।’

अर्को चुनौती बर्खा र नहरको भेलबाढी पनि छ । पोखरा विमानस्थल होचो ठाउँमा भएकोले पोखरा उपत्यकाको आधा पानी बगेर यही एयरपोर्टमा थुप्रिन्छ । आयोजनाले पानीको निकासका लागि प्रदेश सरकारलाई आग्रह गरे पनि काम सुरु भएको छैन । खासगरी सुरुमै सबै सरकारको जिम्मेवारी नतोकेका कारण अहिले समस्या देखिएको मुनंकर्मीले बताए ।

चीन सरकारको २२ अर्ब सहुलियत ऋण सहयोगमा चीनकै सिएएमसी कम्पनीले आयोजना निर्माणको ठेक्का लिएको छ । पोखरामा बोइङ ७५७ र एयरबस ३२० सम्मका विमान आउजाउ गर्न सक्छन् । विमानस्थलको सुरुवात अघि नै आवश्यक पर्ने पोखरा र आसपासका सडक स्तरोन्नति, पुल र अन्य भौतिक संरचना निर्माणमा तीनैवटा सरकार अलमलिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width