२ वर्षदेखि ओछ्यानमै गमबहादुर : पतिलाई मिर्गौला दिएर बचाउने इच्छा रकम अभावले राेकियाे

धनबहादुर गुरुङ
चैत्र ८, २०७७
kidney news

पाेखरा । २ वर्षदेखि जीवन मरणको दोसाधमा छन्, नवलपुर बौदीकाली १ का ४१ वर्षीय गमबहादुर थापा । वैदेशिक रोजगारको सिलसिलामा दुबई पुगेका थापाको दुवै मिर्गौलाले काम नगरेपछि घर फर्किए । दुबईमा सुपरभाइजर जिम्मेवारीमा रहेका थापा आजभोलि कति बेला डायलोसिस गर्न लैजान्छ होला भनेर कुर्दैमा दिन बित्छ । परिवारमा आर्थिक बोझ पर्दै गएको छ । श्रीमती पीडामा छिन्, आँखाबाट आँसुमात्र झार्न सक्दिनन्, तर मन भने सधैं रोइरहन्छ श्रीमती टीका थापाको । गमबहादुरको नियमित डायलोसिस गराउनुपर्ने बाध्यता छ । १ पटकमा डायलोसिस गर्दा १० देखि १२ हजार खर्च लाग्छ, आर्थिक अभावले गर्न सक्ने अवस्था छैन । डायलोसिस गर्दा खर्च बढी भएको हो कि भन्ने भान भएर मिलेदेखि आफ्नै मिर्गाैला प्रत्यारोपण गर्ने विचार गरेकी उनीसँग रकम अभाव छ । उनीहरुका १९ र ५ वर्षका २ छोरा छन् । छोराहरु हुर्काउनेदेखि श्रीमान्को स्याहार गर्ने जिम्मेवारी टीकाको काँधमा आइपरेको छ ।

गमबहादुरको पहिलादेखि नै वैदेशिक रोजगारमा आउजाउ चलिरहन्थ्यो । विदेशको कमाइले पोखरामा बसेर पढेका बालबच्चा पढाउन, घर परिवार चलाउन पुगेकै थियो । काम गर्न सकुन्जेल सहजै चलेको उनको परिवार २०७१ मा ठूलो बज्रपात भयो । घरबिदामा आएका गमबहादुर दुबई फर्कने क्रममा काठमाडौं जाँदै गर्दा दुर्घटनामा परे । उनको करङको हड्डी भाँचियो । भोलिपल्टको फ्लाइट भेट्न हतार गरेका गमबहादुर हस्पिटलमा पुगे । दुबई फर्केर काम गर्ने उनको सपना हस्पिटलको बेडमा पुगेपछि तुहियो, कम्पनीले भिसा रिजेक्ट ग¥यो । करङको उपचार गरेर उनी परिवारसँगै बस्ने गरी पोखरा आए । पोखरा आएर १ वर्ष आराम गरेरै बसे । गमबहादुरले आफू दुर्घटनामा परेको जानकारी गराउँदै कम्पनीमा पत्र पनि पठाएका थिए । तर निको हुने बेलासम्म कम्पनीबाट कुनै खबर आएन । उनले अर्को कम्पनीतिर काम खोज्न थाले । २०७४ सालमा फेरि दुबईमा नै सुपरमार्केटमा काम गर्ने गरी भिसा लाग्यो र कामका लागि उनले नेपाल छाडे ।

श्रीमान्लाई मिर्गाैला प्रत्यारोपण कसरी गर्ने भन्ने चिन्ताले टीकालाई सताउने गरेको छ ।

उनको मनमा अब फेरि पुरानै लयमा फर्कन्छु भन्ने थियो । १ वर्ष रामै्रसँग काम चल्यो, घरमा पैसा पनि पठाए । १ वर्षमा बिदा पाइने कम्पनी भएको कारण २०७५ भदौमा घर फर्किए । १ महिनाको बिदामा आएका गमबहादुर असोजमा काममा फर्किए । उनको काम सुरु भयो, दिनचर्या चलिरहेको थियो । १ दिन खाना खाने बेलामा बान्ता गरे । साथीहरुले हस्पिटल पुर्‍याए, त्यहाँ प्रेसर बढेको भन्दै अर्को हस्पिटल रिफर गरिदियो । तत्कालै अर्को हस्पिटलमा पु¥याएर जाँच गर्दा मिर्गाैलामा समस्या देखिएको भन्दै आइसियुमा भर्ना गरियो ।

नेपालमा श्रीमतीलाई खबर आयो, श्रीमान् बिरामी भए भनेर । श्रीमती टीका थापाले मिर्गाैलामा समस्या भएको भन्ने भेउ पाएकी थिइनन् । उनलाई कम्पनीका फिलिपिनी सुपरभाइजरले अंग्रेजीमा बेलिबिस्तार लगाए । ‘मैले अलिअलि अंग्रेजी बुझ्थँे र सजिलो भयो,’ उनले भनिन्, ‘मलाई बिरामी छ भन्नेमात्र भन्नुभएको थियो । आत्तिएँ, के भयो होला भनेर दिनभरि रोएँ ।’ त्यसपछि नेपाल ल्याउने प्रक्रिया सुरु भयो । सुरुमा १५ दिनमा ल्याउने भनिए पनि सिकिस्त बिरामी भएका कारण २५ दिनपछि मात्र नेपाल ल्याइयो । फोनमा डायलोसिस गरिएको छ भन्ने सुनेकी गमबहादुरकी श्रीमतीले नेपाल ल्याएपछि मात्र चाल पाइन् श्रीमान्को दुवै मिर्गाैलाले काम गर्न छोडेको रहेछ भनेर ।

मन थमाएर विमानस्थलमा पुगेकी टीकाले श्रीमान् देख्नासााथ केही समय रोइन् पनि । जे भयो भयो अब रोएर हुँदैन भनेर मन थमाएर श्रीमान्लाई साथमा लिएर विमानस्थलबाट बाहिरिन् । उनलाई लिएर कम्पनीको १ जना प्रतिनिधि पनि आएका थिए । नेपाल आउनासाथ समस्या देखिएपछि सिधै हस्पिटल पुगिन् । ३ महिना जति काठमाडौंमा नै राखेर डायलोसिस गराइन् । खर्च सकिँदै गयो, समस्या थपिन थाल्यो । कम्पनीबाट पनि कुनै सहयोग नहुने खबर आयो । अनि श्रीमान्लाई लिएर पोखरा आइन् । पोखरा आएर पनि डायलोसिस गराइरहेका छन् । सुरुमा हप्तामा ४ पटकसम्म डायलोसिस गरिएकोमा आजभोलि रकम अभावकै कारण उनको महिनामा १ पटक पनि गाह्रो परेको छ । गमबहादुरको स्वास्थ्यमा समस्या बढिरहेको छ भने श्रीमतीको खल्तीको रकम घटिरहेको छ ।

डायलोसिस गराउनुभन्दा मिर्गाैला प्रत्यारोपण गरे राम्रो हुने सुनेकी टीकाले मिलेसम्म आफ्नै मिर्गाैैला प्रत्यारोपण गर्न चाहन्छिन् । तर उनले प्रत्यारोपण गर्न ६०/७० लाख खर्च लाग्ने पनि सुनेकी छिन् । उनीसँग त्यतिका धेरै रकम छैन । कमाउन सक्ने अवस्था पनि रहेन । पहिला शिक्षण पेसा गर्ने उनी श्रीमान् बिरामी भएदेखि स्याहार सुसारमै दिन बिताउने गर्छन् । छोराहरु कमाउने उमेरका भएका छैनन् । रकम अभावकै कारण ठूलो छोराको अध्ययन रोकिएको छ । श्रीमान्लाई मिर्गाैला प्रत्यारोपण कसरी गर्ने भन्ने चिन्ताले उनलाई सताउने गरेको छ । उनले सहयोगीको खोजी गर्न थालेकी छिन् । सहयोग रकम जम्मा भए र स्वास्थ्यले साथ दिए आफ्नै मिर्गाैला दिने टीकाको योजना छ । गमबहादुरको जीवन रक्षाका लागि सहयोग गर्न चाहनेले टीका थापाको नाममा रहेको प्रभु बैंकको ०५६००५०३५५२०००११ खाता नम्बरमा रकम जम्मा गरिदिन अनुरोध गरेकी छन् ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width