प्रेमभित्र यौनको परिभाषा

कौशिक नवराज
चैत्र ७, २०७७
Kaushil Navaraj

अनुसन्धानहरूले के देखाएका छन् भने प्रेममा सेक्स हुन्छ नै । प्रेममा परेकाले सेक्स गरे कि गरेनन् ? भनेर खोजी निन्दा गर्नु बेकार छ । सेक्सलाई तिल माने हुन्छ, पहाड बनाउनु जरुरी छैन ।

मनले चाहेको हरेक वस्तु सुन्दर देखिन्छ । हरेक कुरामा सुन्दरता खोज्नु नै प्रेमको विशेषता हो । प्रेमका धेरै आयाम र तह हुन्छन् । प्रेम मानव जीवनको आवश्यकता । प्रेम मनको सुन्दर परिकल्पना र भावना पनि । समाजमा देखिने प्रेम प्रेम नै हो वा प्रेमको नाममा विकृति ? अर्थात् प्रेममा यौन अनिवार्य ! प्रेमको अन्तिम गन्तव्य के त ?

प्रेमको उमेर

समाजले प्रेम गर्ने र विवाह गर्ने उमेर निर्धारण गरेको छ । किशोरावस्थामा प्रेमका हर्मनहरू बढी सक्रिय हुन्छन् र विपरीत लिंगीप्रति आकर्षण हुन्छ । कसैको सुन्दरतामा, कसैको बोलीमा लट्ठ भएर गरिने प्रेमहरू सुन्दरता सकिएसँगै अन्त्य हुन्छ । उमेर अनुसार विपरीत लिंगीप्रतिको आकर्षण क्रमश कम हुँदै जाने देखिन्छ । यसको मतलब हो, हाम्रो शरीरमा रहेको प्रेम हर्मोनहरू क्रमश परिवर्तन हुँदै जानु नै हो । मनका विभिन्न तह हुन्छन्, जहाँ भावनात्मक तह एउटा हुन्छ । युवा उमेरमा कोही मानिस प्रेममा पर्न सकेन अर्थात् उसको भावनात्मक रूपमा कोही कनेक्ट भएन त्यस्तो अवस्थामा मानिस पागल बन्न सक्छ ।

युवा उमेरमा म प्रेममा परिनँ भनेर कसैले भन्छ भने त्यसले कि झुट बोलेको ठहरिन्छ कि उसको शरीरमा कुनै हर्मोनको कमी देखियो अर्थात् शरीर विकासक्रममा गडबडी भएको ठहरिन्छ । समाज र सामाजिक सोच परिवर्तन भएसँगै विवाह सन्तान उत्पादनका लागि मात्रै हुँदैन भन्ने बुझाइ आयो । भविष्यको साथी र दुख सुखका सहयात्राका लागि भनेर विवाह गर्ने गरेको देखिन्छ ।

अनमेल विवाह अर्थात् उमेरमा धेरै फरक परेर गरिने विवाह । हामी समाजमा देखिरहेका हुन्छौं, बाउ र छोरी उमेरका विपरीत लिंगीप्रति पनि प्रेम अंकुरण भएको र विवाह भएको । समाजले यस्तो अनमेल विवाहलाई अझै पनि शंकाको दृष्टिले हेर्ने गरेको छ । यस्तो विवाह त परको कुरा, प्रेमलाई पनि स्वार्थको रूपमा चित्रित गरेको पाइन्छ । विवाहलाई सेक्सको नजरले हेरेर यसलाई खिस्याउने काम गरिन्छ ।

शरीर पाएको दिन प्रेमको विर्सजन पनि हुने गरेको देखिन्छ । प्रेममा त्यागभन्दा वासना अनिवार्यजस्तै हुँदै गएको छ । सेक्सकै लागि प्रेमको नाटक गरिन्छ ।

अनमेल विवाहको त यस्तो अवस्था देखिन्छ भने अन्तरजातीय विवाहलाई समाजले अझै पनि स्वीकार गरेको देखिँदैन । प्रेम जोसँग गरे पनि विवाह चाहिँ आफ्नै जातसँग गर्नुपर्छ भन्ने प्रचलन र सोच भएका युवा अझै भेटिन्छन् । नेपाली समाज जात व्यवस्थामा आधारित छ । यहाँ जातको वर्गीकरण गरिन्छ, त्यो पनि उसको जन्मको आधारमा अनि उसको कर्म निर्धारण गरिन्छ । कर्म पनि यस्तो कर्म जसलाई परिवर्तन गर्ने अधिकार उसलाई हुँदैन । प्रेम प्राकृतिक अवस्था हो । प्रेमले जात हेर्दैन, विचार हेर्छ, मन हेर्छ ।

प्रेमको यौन

म तिमीलाई माया गर्छु । तिमीलाई जीवनभर साथ दिन्छु । तिमीलाई एकै पल नदेख्दा के–के भएजस्तो लाग्छ । यस्तै यस्तै वाक्यहरू प्रेममा परेका जोडीहरूमा खुब सुनिन्छ । तर वास्तवमा यो सबै प्रेमको नाटक हो । यो सबै ढोंगीपन हो । यो सब केका लागि ? भनिन्छ, यो सबै शरीर पाउन अर्थात् सेक्सका लागि । अहिलेको प्रेम मुना–मदन वा राधा र कृष्णको जस्तो बन्न सकेको देखिँदैन । प्रेममा त्याग देखिँदैन । यहाँ त्याग भनेको समर्पण अर्थात् शरीर सुम्पिनुलाई बुझ्ने गरिन्छ । शरीर नपाउन्जेल मरिहत्ते गर्ने परिपाटीले यही कुरा स्पष्ट पार्छ । शरीर पाएको दिन प्रेमको विर्सजन पनि हुने गरेको देखिन्छ । प्रेममा त्यागभन्दा वासना अनिवार्यजस्तै हुँदै गएको छ । सेक्सकै लागि प्रेमको नाटक गरिन्छ । प्रेममा सेक्स सही होला तर अनिवार्य नहुन सक्छ तर त्यसकै लागि यो सबै मरिहत्ते किन ?

रिसर्चले देखाएको अर्को कुरा के पनि हो भने प्रेमको सुन्दर तत्व यौन हो । यौन सृष्टिको नियम र निरन्तरताको उपज पनि हो । सृष्टि चलाउन र सन्तान उत्पादन गर्न सेक्स अनिवार्य भएको अवस्थामा चिने वा नचिनेकै विपरीत लिंगीसँग भावनात्मक रूपमा एकाकार भएर गरिने सेक्स एउटा पाटो हो । यस्तै यसबाट उत्पादित सन्तान र नचिनेको अवस्थामा अर्थात् मनको कनेक्सन नभई गरिने अवस्थाको सेक्समा फरक पर्ने यसबाट उत्पादित नयाँ जीवमा पनि फरक पर्ने भनेर देखाएकै अवस्था देखिन्छ ।

प्रेमको केन्द्रीय तत्व यौन हो । फेरि यौन मात्रै भन्ने पनि हुँदैन । यौनसँगै सन्तान उत्पादन र समाज आउँछ । यौनमा अराजकता आए त्यसले समाजमा अपराधदेखि सामाजिक कर्ममा समेत व्यवधान खडा गर्छ । प्रेमको केन्द्रीय र सुन्दर सार भनेकै यौन भएझैं प्रेमको गन्तव्य भने विवाह होइन । विवाह त प्रेमको समाप्ति हो । सबैमा यो मान्यता पनि लागू हुँदैन । विवाहले समानता र सम्मानमा आधारित प्रेमको गन्तव्यलाई समाप्त पार्ने काम गरेको देखिन्छ ।

प्रेमको विवाह

प्रेमको अन्तिम गन्तव्य विवाह हो । विवाह प्रेमको अन्त्य हो । मान्छेपिच्छे फरक बुझाइ छ । के विवाह प्रेमको अन्तिम गन्तव्य नै हो त ? प्रेमका लागि विवाह अनिवार्य पूर्व शर्त हो ? के विवाहसम्म प्रेम पुग्न सकेन भने त्यो प्रेम असफल हुन्छ ? प्रेमलाई स्वतन्त्रता र समानताको अर्थमा पनि लिइन्छ । प्रेम विपरीत लिंगीबीचको समानता र सम्मान हो ।

विवाहपूर्वको अवस्थाको प्रेममा दुवै पक्षबीचमा स्वतन्त्रता र समानता हुने गर्छ । एक पक्षले अर्को पक्षको विचार र भावनाको कदर गर्ने सम्मान गर्ने परिपाटी देखिन्छ । दुवै पक्षबीच जब सम्मान र सुरक्षाको महसुस हुन्छ, तब प्रेमको बिजारोपण हुँदै जान्छ । तर विवाहपछि यस्तो स्वतन्त्रता र सम्मान क्रमश हराउँदै जान्छ । यसको विलय बिन्दुमा पुग्ने गरेको तथ्यहरू बाहिर आएकै छन् ।

विवाह प्रेमको संस्थागत वैधानिक गन्तव्य पक्कै हो । समाजले विवाहलाई कानुनी र वैधानिक मान्यता प्रदान गरेको छ । जब प्रेममा परेका जोडीले विवाह गर्छन् तब उनीहरूको बीचमा रहेको सम्मान र समानता हराउँदै जाने गरेको पाइन्छ । प्रेमको तुलो तलमाथि पर्ने गरेको देखिन्छ । विवाह पुरुषवादी सोचको उपज पक्कै हो । यसले पुरुषले पहिलो र महिलालाई दोस्रो दर्जाको नागरिक व्यावहारिक रूपमा बनाएकै देखिन्छ । विवाहपश्चात् महिलाका लागि खुला आकाशको अन्त भएर पिँजडामा कैद हुनुपर्ने अवस्था देखिन्छ ।

विवाहपश्चात् व्यावहारिक रूपमा महिला घरायसी कामधन्दामा व्यस्त हुनुपर्ने तर पुरुषहरू बाहिरी काममा नै लाग्नुपर्ने अवस्था छ । स्वतन्त्रता पुरुषलाई निरन्तर प्राप्त भइरहने तर महिलालाई विवाहपश्चात् समाजको डर परिवारको इज्जतको मिश्रण आदिले घरको चौघैरामा सीमित हुनुपर्ने देखिन्छ । उखानै छ, प्रेमको पासोमा पार्न महिलालाई विवाहअघि अनेक आश्वासन दिइन्छ । पासोमा पारिसकेपछि घरायसी कामधन्दा महिलामाथि नै थोपर्ने प्रवृत्ति देखिन्छ । विवाहपछि प्रेम कसरी अन्त्य हुन्छ त ? के विवाहमा नपुग्ने प्रेमहरू सबै असफल नै हुन त ! विवाहलाई किन प्रेमको मापनका रूपमा लिइन्छ ?

कुनै विपरीत लिंगीहरूको प्रेम विवाहमा पुग्न सकेन । त्यसलाई असफल नै भनिहाल्ने त ! विवाह पनि प्रेमका लागि यही हो कि म तिमीलाई प्रेम गर्छु तिमीसँग जुनी सँगै बिताउँछु प्रेम गर्छु भन्नुको अर्थ कवितामा लेखेजस्तै तिमीलाई विवाहरूपी चिकेन बनाउन चाहन्छु भनेको हो । जहाँ म तिमीलाई नंग्याउँदै असमानतापूर्वक नै भए पनि तिमीलाई लभ गरिरहन्छु भन्ने बुझिन्छ ।

व्यापारिक प्रेम

सबैले भन्छन्, ‘प्रेम निस्वार्थ हुन्छ । प्रेम अर्थात् लभ, त्यो लभ होइन र त्यो आत्माको दिलको धड्कन पनि होइन । त्यो त व्यापारिक प्रेम हो ।’ जहाँ निस्वार्थभन्दा लिने र दिने काममात्रै चल्दै आएको छ । प्रेममा स्वार्थ खोजिन्छ । स्वार्थबिना प्रेमको परिकल्पना पनि आजकल हुन छोडेको छ । समाजले राधा र कृष्णको प्रेमलाई निस्वार्थ माने पनि समाजमा राधा र कृष्णजस्ता बन्न खोज्ने आदर्श जोडीहरूको स्थान मेटाउने प्रयास गरिन्छ । कसैले पनि छोरीलाई राधाजस्तो बनोस् भन्दैन तर हरेक पुरुषको ध्यान कृष्ण बन्नेतिर देखिन्छ, धेरैभन्दा धेरै गोपिनी अर्थात् सुन्दरीहरूसँग संगत गर्ने ।

स्वार्थजडित प्रेम

राष्ट्रकवि माधवप्रसाद घिमिरेको कुनै भिडियो हेरिरहेको थिएँ । उनले सोधेका छन्, ‘प्रेम गरिन्छ कि हुन्छ ? एकैछिन रोकिएर आफैं उत्तर दिन्छन्, ‘प्रेम हुन्छ भन्छन् । हो, वास्तवमै प्रेम गर्ने चिजभन्दा आपसेआप हुने चिज हो तर आजकालको प्रेम आपसेआप हुँदैन ।’ यहाँ त प्रेम गर्ने र प्रेम पार्ने गरिन्छ । प्रेम गर्ने अर्थात् सुन्दरतामा मोहित भएर प्रेम गर्ने, राम्रो र सुगठित शरीर देखेर प्रेम गर्ने, पैसा देखेर प्रेम गर्ने, अझ भनौं प्रेमको नाटक गर्ने प्रवृत्ति देखिन्छ । यो सबै बकबास हो । एक जनासँग प्रेम अन्त हुँदैमा प्रेमको अन्त हुँदैन । भावनाको अन्त हुँदैन, अर्कोसँग पुन अंकुराउन सक्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width