कास्की २ मा उपचुनाव गराउन कांग्रेस नेता गगन थापाकाे माग

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७७
gagan thapa

पाेखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले उपचुनावमा नेकपाको नामबाट निर्वाचित भएका जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न नसकिने बताएका छन् ।

पोखरामा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको भेलालाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मरिसकेकोले त्यो पार्टीको नाममा निर्वाचित व्यक्तिलाई सांसद मान्न नसकिने बताए ।

‘नेपाल कम्युनिष्ट पार्टी सकियो । कोही एमालेमा फर्किनुभयो, कोही माओबादीमा फर्किनुभयो । कास्की २ को सांसद कुन पार्टीको हो ?,’ उनले भने, ‘त्यो निर्वाचन खारेज हुनुपर्छ । नेपाल कम्युनिष्ट पार्टीको नामबाट आएको जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न सकिन्न ।’

उनले ति ठाउँमा जनताले प्रतिनिधि छान्न पाउनुपर्ने बताए । ‘त्यसरी निर्वाचित भएका व्यक्ति कुन पार्टीका हुन् भनेर सोध्दा वहाँहरुले छान्न पाउनुहुन्छ भनेका छन् । त्यसो गर्न मिल्दैन । मत नेपाल कम्युनिष्ट पार्टीले पाएको हो । कस्केलीले कम्युनिष्टलाई मत दिएको हो,’ उनी भन्छन्, ‘सांसदले पार्टी छान्न पाउँदैनन् । जनप्रतिनिधि छान्ने अधिकार जनताले पाउनुपर्छ ।’
उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भएको दिन कम्युनिष्टहरु नै बढी खुशी भएको बताए । ‘अदालतको फैसला आएपछि मैले शोक व्यक्त गरें । तर नेपाल कम्युनिष्ट पार्टी मरेको दिन मलामी जाने मान्छे कोहि पनि भएनन् । म त एक्लै भएँ,’ उनले भने, ‘शोक गित बजाउलान भनेको लोक गित बजाएर कोहि लड्डु खाएका छन्, कोहि नाचेका छन् । आहा कम्युनिष्ट पार्टी म¥यो भनेका छन् ।’

उनले प्रधानमन्त्री ओली स्वेच्छाचारी भएर संसदसँग बदला लिन लागेको बताए । ‘प्रधानमन्त्री ओलीले सरकार चलाउने भए हाम्रो आपत्ति छैन । ओली प्रबृत्ति भनेको सरकार होईन, सत्ता हो । ओली प्रबृत्ति सिहं दरबारको सीमा भित्र बस्न खोजेन । फैलिएर अदालत पुग्न खोज्यो, अख्तियारमा पुग्न खोज्यो, निर्वाचन आयोगमा पुग्न खोज्यो,’ उनले थपे, ‘वहाँ के भन्ने ठान्नुहुन्छ भने, प्रधान न्यायधिसको कुर्चीमा बस्ने पनि मै हो, अख्तियार प्रमुख, निर्वाचत आयोग प्रमुख, अड्डा प्रशासन, सेना, प्रहरीको प्रमुख पनि मै हो भन्नुहुन्छ । सबैको प्रमुख मै हो भन्ने कुरा प्रजातन्त्रमा त्यो सम्भव छैन । वहाँ अहिले संसदसँग बदला लिँदै हुनुहुन्छ ।’

नेकपाले जनताबाट पाएको म्याण्डेट गुमाएकोले अव सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने थापाको तर्क छ ।

‘ओलीको नेतृत्वमा नेपालमा निष्पक्ष चुनाव हुँदैन । अनुदार, निरंकुश सोच भएको प्रधानमन्त्रीले निष्पक्ष चुनाव गर्दै गर्दैन,’ उनले भने, ‘निर्वाचन आयोग, अख्तियार, अड्डा अदालत कसैले पनि प्रधानमन्त्री ओलीको नेतृत्वमा निष्पक्ष भएर काम गर्न पाउँदै पाउँदैन ।

प्रमाणित भैसक्यो । अव कांग्रेसले नेतृत्व लिनुपर्छ ।’ तत्कालै केन्द्रीय समिति र संसदीय दलको बैठक बसेर कांग्रेसको नेतृत्वमा सरकार गठनको निर्णय गर्नुपर्ने उनले बताए । ‘हाम्रो अग्रसरतामा सरकार बनाउने भनेर निर्णय गर्ने ।

त्यहि निर्णय लिएर जसपा र माओबादीसँग बार्ता गर्ने,’ उनी भन्छन्, ‘जसपाले पनि अलमलाउने काम गर्ने होईन । कांग्रेसलाई समर्थन दिने भए दिने भन्नुस । केपी ओलीसँग टाँसिने भए टाँसिने भन्नुस् । माओबादी केन्द्रले पनि टुंगो लगाउनुस् ।’ देश चुनावमा होमिएको भन्दै उनले त्यसको तयारी गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width