हिमाल पुग्ने छोटो पदमार्ग मर्दी

धनबहादुर गुरुङ
चैत्र ५, २०७७
Mardi 1

पोखरा । नजिकैबाट हिमाल अवलोकल गर्न जो कोहीले रोज्ने सहर पोखरा । पोखरा आइसकेपछि अन्नपूर्ण, माछापुाच्छ्रे, गंगापूर्ण, हिमचुली लगायत हिमाल सहजै सबैले नियाली हाल्छन् नै । कोही यतिमै सििमत हुन्छन् तर कोहीले असीमित इच्छा देखाइहाल्छन्, हिमाल नजिकै पुग्ने । भनिन्छ जहाँ इच्छा, त्यहाँ उपाय । पोखराबाट हिमालको नजिकै पुग्ने उपाय भनेकै पदयात्रा हो ।

पोखरा झरेपछि धेरै बेसक्याम्प पुग्न सकिन्छ । त्यो पनि हिँडेरै । पुनहिल, अन्नपूर्ण बेसक्याम्प, माछापुाच्छ्रे बेसक्याम्प तथा मर्दी हिमाल पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्छ । पछिल्लो समय मर्दी हिमाल पदमार्गले पर्यटकको ध्यान खिच्ने गरको छ । कारण, छोटो समयको साहसिक गन्तव्य ।

माछापुाच्छ्रे र धौलागिरि लगायतका थुपै्र हिमालको नजिकबाट अवलोकन गर्दै हिँड्न पाउनु पदमार्गको प्रमुख विषेशता हो । लालीगुराँसका फूल र जंगली पशुपंक्षीले पदमार्गमा अझ रौनकता थप्छ । ४ हजार मिटरको उचाइमैं चौंरी कम भैंसी भेडा ज्यादा देख्न पाउनु अर्को आकर्षण हो । पहिले क्याम्पिङ पदयात्रा हुने यो क्षेत्रमा पछिल्लो समय आवाससहितको पदयात्रासमेत थप भएका छन् ।

अहिले केही सुविधा सम्पन्न होटलहरु पनि थपिएको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष सुदीप गौतमले बताए । ‘पहिले ठाउँ नभएर गोठमा पनि पाहुनालाई सुताउनुपर्ने बाध्यता थियो, अहिले होटल बनेपछि त्यो समस्या टरेको छ,’ उनले भने, ‘यतिले मात्र पुग्छ भन्ने छैन, पर्यटक धेरै भएको बेलामा टेन्टमा पनि सुताउनुपर्छ ।’ तर केही पाहुना आफैंले टेन्ट रोज्ने गरेको उनको भनाइ छ । यस क्षेत्रमा होटल बनाउन पनि समस्या भएको उनले बताए । तर पनि पदयात्रीको सजिलोका लागि मर्दी रुटमा करिब ५० को हाराहारीमा होटल बनेका छन् भने १५ वटा जति चिया पसल बनेका छन् । त्यही रुटमा पर्ने सिदिङ गाउँमा १६ वटा होमस्टे पनि छन् । मर्दी हिमाल पदयात्रा अन्नपूर्ण संरक्षण क्षेत्र ‐एक्याप) भित्र भर्ने भएकोले सरकारको स्पष्ट नीति नहुँदा होटल बनाइहाल्न पनि समस्या रहेको गौतम बताउँछन् ।

४ हजार ५ सय मिटरमा रहेको मर्दी हिमाल आधार शिविरसम्म सबै पुग्न सक्दैनन् । अनुभवी पदयात्रीबाहेक अरूलाई ४ हजार २ सय मिटरमा रहेको भ्युप्वाइन्ट अथवा ३ हजार ५ सय ८५ मिटरको हाइक्याम्पसम्मको यात्रा उपयुक्त मानिन्छ । साँघुरो र भिरालो बाटो हुँदै मर्दी आधार शिविरसम्म पुग्न निकै अप्ठेरो छ । माथि पुगेपछि जब आँखै अगाडि हिमाल ठोक्किन आइपुग्छ अनि थकाइसँगै डर त्रास हराउँछ ।

मोटर बाटोले समेत नछोएको मर्दी ट्रेकमा आजकल स्वदेशी पर्यटकहरु बढी पुग्ने गरेका छन्, कारण हो कोरोना महामारी । कोरोनाले घरभित्रै बस्न बाध्य नेपालीहरु त्रास कम भएसँगै घुम्न निस्कने गरेका छन् । पछिल्लो समय धेरै आन्तरिक पर्यटकहरु पदयात्रामा भेटिने गरेको होटल कोकारका व्यवस्थापक राजकुमार गुरुङले बताए ।

भ्युप्वाइन्टमा पुगेको सबै आधार शिविरसम्म पुग्छन् भन्ने पनि छैन । धेरै हिमाल भ्युप्वाइन्टबाट नजिकै देखिने हुँदा पनि फोटो कैद गरेर त्यहीबाट फर्कन्छन् । कमै मात्र करिब ५/६ घन्टाको दूरी पार गरी मर्दी हिमाल बेस क्याम्पसम्मै पुग्ने गर्छन् ।

छोटो गन्तव्य र प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकै कारण पछिल्लो समय यो पदयात्रा लोकप्रिय हुँदै गएको माछापुाच्छ्रे गाउँपालिका ८ घलेलका राम गुरुङले बताए । चैत, वैशाख, मंसिर, पुस र माघ महिना मर्दी मार्गका लागि उत्तम मानिन्छन् । यो याम पनि पदयात्रीको लागि उत्तम याम हो ।

मर्दी पदयात्रामा चर्चाका ४ रुट
पोखराबाट १ हप्तामै मर्दी हिमाल पदयात्रा सम्पन्न गर्न सकिन्छ । छिटो हिँड्नेहरुले ४ दिनमा पनि यो पदयात्रा पूरा गर्छन् । कास्कीको माछापुच्छे« गाउँपालिका वडा नम्बर ९ मा पर्ने हाई क्याम्प पुग्न ४ वटा रुटको प्रयोग गर्दै आएको पाइन्छ ।
भूपि शेरचन राजमार्गको काँडे, फेदी र हेमजाको मिलनचोकलाई केन्द्र बनाएर मर्दी हिमाल पदमार्गको सुरुआत गर्न सकिन्छ । काँडेबाट अस्ट्रेलियन बेस क्याम्प, पोथना, पितम देउराली हुँदै फरेस्ट क्याम्प पुगिन्छ । फेदीबाट जाने हो भने धम्पुस, पोथना, पितम देउराली हुँदै फरेस्ट क्याम्पमै पुगिन्छ । हेमजाको मिलनचोकबाट जिपको यात्रामा कालीमाटीसम्म पुगेर पदयात्रा सुरु गरेपछि पनि फरेस्ट क्याम्प नै गइन्छ । यी ३ वटै रुटबाट पुग्न सकिने फरेस्ट क्याम्पबाट रेस्ट क्याम्प, लो क्याम्प, मिडल क्याम्प वा बादलडाँडा हँुदै हाइ क्याम्प पुगिन्छ । बाँकी रह्यो अर्को रुट मिलनचोकबाट सिदिङसम्म जिपको यात्रा गरेर पदयात्रा सुरु गरेपछि लो क्याम्प, मिडल क्याम्प वा बादलडाँडा हुँदै बास बस्न पुग्ने ठाउँ भनेको हाइ क्याम्प नै हो ।

मर्दी हिमाल पदयात्राको अन्तिम बास बस्ने ठाउँ हाइ क्याम्प हो । यो समुद्री सतहबाट ३ हजार ५ सय ८५ मिटरको उचाइमा छ । हाई क्याम्पभन्दा माथि बस्ने व्यवस्था छैन यदि जाने नै हो भने आफैंले सबै व्यवस्था गरेर जानु उचित हुन्छ । ४ हजार २ सयको उचाइमा रहेको भ्युप्वाइन्टमा केही चिया पसल भेटिन्छन् । त्योभन्दा माथि मर्दी हिमाल बेस क्याम्प सम्म घर गोठ भेटिंदैन । त्यसैले धेरै पर्यटकहरु हाइ क्याम्पमै बास बसेर बिहानै भ्युप्वाइन्ट र मर्दी हिमाल बेस क्याम्पसम्मको यात्रा तय गर्ने गर्छन् । भ्युप्वाइन्ट र मर्दी हिमाल बेस क्याम्प पुगेर सोही रुट हुँदै पोखरा फर्कन सकिन्छ ।

अर्गानिक नाममा विदेशी भाइब्स
मर्दी हिमाल पदमार्गमा भेटिने खाजा, खाना र बस्ने ठाँउहरुमा विदेशी नामले स्थान लिएको माछापुाच्छ्रे गाउँपालिका ८ घलेलका राम गुरुङले बताए । ‘बाटोमा अधिकांश क्याम्पहरु भेटिन्छन्, ती सबै हाम्रा खर्कहरु हुन्,’ उनले भने । बाटोमा भेटिने अस्ट्रेलियन बेस क्याम्पलाई ठूलाखर्क भन्ने गरेको उनी सम्झन्छन् ।

उनका अनुसार फरेस्ट क्याम्पलाई कोकर, रेस्ट क्याम्पलाई चुपरुङ डाँडा, लो क्याम्पलाई हुमल, मिडल क्याम्पलाई बादल डाँडा, हाइक्याम्पलाई क्ह्यु भन्ने गरिन्छ । मर्दी हिमालको भ्युप्वाइन्टको नाम पनि एक्ले देउराली र बगाले देउराली रहेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष सुदीप गौतमले बताए । विदेशीहरु घुम्दै आउने क्रममा रहेको नाम नै चर्चामा रहेको उनी स्वीकार्छन् । चर्चाको कारण अर्गानिक नाम नै लोप हुन नदिने उनले बताए । स्थानीय नाम जोगाउन राम गुरुङले सञ्चालन गरेको होटलको नाम नै पनि होटल कोकार राखेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width