अव्यवस्थित तारले जोखिम

सविन लामिछाने
चैत्र ५, २०७७
damauli wire (2)

दमौली  । दमौली बजार क्षेत्रमा अव्यवस्थित टाँगिएका तारका कारण बजार क्षेत्रमा जोखिम बढेको छ । सुरक्षा हिसाबले संवेदनशील रहे पनि सरोकारवालाले चासो नदिँदा जोखिमसँगै सुन्दरतामा ह्रास हुँदै गएको छ ।

बजार क्षेत्रका बिजुलीका प्रत्येक पोलमा टेलिफोन, इन्टरनेट, बिजुलीको तारको चाङ देखिन्छ । एकै ठाउँमा टाँगिदा सबै खालका तार बटारिएका छन् । कैंयौँ बिजुलीका पोल पुराना भइसकेकाले तारको भार थाम्न नसकेर ढल्ने अवस्थामा पुगेका छन् ।

गुजुल्टिएका तारका कारण कुनै बेला दुर्घटना निम्तिन सक्ने खतरा रहेको स्थानीय युवा व्यवसायी कविराज श्रेष्ठले बताए । बजार क्षेत्रको मुख्य चोकका पोलमा जोखिमपूर्ण अवस्थामा बिजुली, इन्टरनेट र टेलिफोनका तार भेटिन्छन् । तर व्यवस्थापनमा ध्यान नपुर्‍याउँदा सम्भावित दुर्घटनाको जोखिम मोल्नुपर्ने निश्चित छ । खासगरी भूकम्प, आगलागी, हावाहुरी जस्ता प्राकृतिक विपतमा झनै जोखिम हुने गरेको स्थानीयको गुनासो छ । गर्मीयाम बढ्दै गएको छ । हावाहुरी चल्दा पनि उस्तै डर छ ।

‘पोलमा तारहरू यसरी बटारिएका छन् कि बिजुली सट हुनेवित्तिकै सबै सखाप हुने स्थिति छ,’ स्थानीय व्यवसायी सरोज भण्डारीले बताए ।

विद्युत् प्राधिकरणका कर्मचारीलाई पनि कुन सेवाग्राहीको कुन तार हो भन्ने छुट्याउन मुस्किल हुने गरेको छ । टेलिफोनमा समस्या आउँदा पनि प्राविधिकलाई पनि काम गर्न समस्या हुने गरेका भण्डारीले बताए ।
‘टाँगिएको होचा तार ठूला मालबाहक सवारीसाधनले चुँडाउने र लाइन सट जोखिम उत्तिकै बढेको छ । यसबारेमा न त बिजुली अफिसले हेर्छ, न त टेलिकमले । इन्टरनेट प्रदायक कम्पनीले नै । कतिबेला कसको धनजनको क्षति हुने हो, टुङ्गो छैन,’ भण्डारीले भने ।

यता, नेपाल विद्युत् प्राधिकरण लमहीका प्राविधिक प्रमुख इन्जिनियर कपिल पाण्डेले बिजुलीको पोलमा बाहिरी तारले गर्दा जोखिम बढेको बताउँछन् । उनले भने, ‘बिजुलीको तार बाहेक बाहिरी तारले जोखिम बढेको छ । तार व्यवस्थापन गर्न सबैको समन्वयको आवश्यकता रहेको छ ।’

व्यास नगरपालिका भने दमौली बजारलाई स्मार्ट सिटी बनाउने लक्ष्य राखेको छ । तर अव्यवस्थित तारले बजारलाई कुरुप बनाएको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेले अव्यवस्थित तार अन्डरग्राउन्ड गर्न लागिएको बताउँछन् । ‘कोभिडभन्दा अगाडि नै हामीले तार व्यवस्थापन थालेका थियौं । कोभिडले गर्दा रोकिएको हो,’ उनले भने, ‘अब छिट्टै अव्यवस्थित तार व्यवस्थापन हुन्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width