पोखरामा जहाज दुर्घटना !

धनबहादुर गुरुङ
चैत्र ४, २०७७
plane

पोखरा । काठमाडौंदेखि पोखरा आउँदै गरेको जहाजको दुवै इन्जिनमा एक्कासी खराबी आयो । त्यसको जानकारी पोखरा विमानस्थलको कन्ट्रोल टावरमा आयो । विमान चालकले टावरसँग सुरक्षित अवतरण माग गरे ।

सूचना पाएलगत्तै टावरबाट  क्रयास अलार्मसहित रेस्क्यु टिमलाई अलर्ट बनायो । विमानस्थलबाटै बारुणयन्त्र, अस्पताल, ट्राफिक प्रहरी, नेपाल प्रहरी, रेडक्रस तथा सम्बन्धित विमानलाई सतर्क रहन निर्देशन पनि दियो । सबै टावरमा खबर गरेर सबै स्टेसन स्थगित गरी आकाशबाटै सुरक्षित अवतरणका लागि अनुमति पनि दियो ।

खबर आएको करिब ५ मिनेटमै सन्तुलन गुमाउँदा अन्नपूर्ण एयरलाइन्स, एननए–२०५ कल साइन जहाज रन–वेभन्दा बाहिर दुर्घटना हुन पुग्यो । जहाजको पुच्छरतिरबाट एक्कासी आगो दन्कियो । दुर्घटना चाल पाएपछि केही यात्रु अत्तालिएर गुहारगुहार भन्दै बाहिर निस्के । हेर्दाहेर्दै जहाजमा भीषण आगो लाग्छ । सतर्क सुरक्षा टोली, बारुण यन्त्र उद्धारमा परिचालित हुन्छन् ।

जहाज दुर्घटनाको नमुना अभ्यास भइरहँदा विमानस्थल आसपासका मानिस भने झुक्किएका थिए ।

यात्रुले गुहार मागेको आवाज बाहिरबाटै प्रष्ट सुनिन्थ्यो । दुर्घटना खबर प्राप्त हुनासाथ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा पोखरा विमानस्थलको विपद् व्यवस्थापन टिम संयुक्त रुपमा घटनास्थलमा उद्धारमा खटियो ।

जहाजमा चालक दल दलका ३ सदस्यसहित २८ यात्रु सवार थिए । जसमध्ये ११ जना आकस्मिक ढोकाबाट बाहिर निस्के भने १७ जना निस्कन सकेनन् ।

यता, रेस्क्यु टिमले निकै सुझबझ ढंगले काम गरिरहेको थियो । एयर ट्राफिक सर्भिस पोखरा टावरले क्रयास अलार्म बजाएर दुर्घटनाको विवरण सबै सम्बन्धित क्षेत्र गराउँछ । उद्धारका लागि विमानस्थलको ०४ कर्नरमा प्रभु एअरलाइन्सको हेलिकोप्टर पनि तैनाथ राखिएको थियो ।

दुर्घटनाको करिब ८ मिनेटमै बारुणयन्त्र सहायतामा आगो नियन्त्रण भयो । एम्बुलेन्स पनि दुर्घटना क्षेत्रमा पुग्यो । उद्धार टोलीले उद्धार गरेका घाइतेलाई अस्पताल लैजाने कार्य पनि भयो । फायर फाइटर ग्यास मास्क लगाई आगो लागिरहेको जहाजभित्रै पसेर घाइतेको उद्धार गरे भने ५ जनाको शव निकाले ।

शव व्यवस्थापनका लागि नेपाली सेना तथा सशस्त्र प्रहरीको जिम्मा लगायो । १२ सिकिस्त घाइतेलाई हेलिकोप्टरबाट अस्पतालतर्फ लगियो भने सामान्यलाई प्राथमिक आकस्मिक उपचारपछि परिचय खुलाई एम्बुलेन्स मार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र फेवा सिटी अस्पताल पुर्याइयो । जहाज दुर्घटनामा १२ जना सख्त घाइते र ११ जना सामान्य घाइते भए । उनीहरुमध्ये १४ को गण्डकी हस्पिटल र ९ जनाको फेवा सिटी अस्पतालमा उपचार गरिरहेको छ ।

दुर्घटनामा घाइतेहरुको अवस्था र कुन हस्पिटलमा उपचार भइरहेको छ भन्ने जानकारी पनि दिइएको छ । केही बेरपछि पोखरा नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्ति जारी गरेर दुर्घटनाबारे जानकारी दिन्छ । अहिले अस्पतालमा ९ जनाको उपचार भइरहेको छ । मृतकजनप्रति गहिरो श्रद्धाञ्जली प्रकट गर्दछौं भनी कार्यालयका देवराज सुवेदी र अर्चना अधिकारी हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।’

जहाज दुर्घटनाको फेहरिस्तमा तपाईं भने नझुक्किनु होला । यो काल्पनिक घटना हो ।

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा बुधबार दिउँसो पोखरा विमानस्थलमा हवाईजहाज आपतकालीन उद्धार अभ्यासको सो नमुना प्रदर्शन गरिएको थियो । भित्र नमुना भइरहँदा विमानस्थल बाहिर रहेकाहरुले वास्तविक घटना भनिरहे पनि वास्तविक भने थिएन ।

आकस्मिक हुने दुर्घटनामा जोखिम न्यूनीकरणका लागि नमुना मात्र गरिएको मन्त्री हरिबहादुर चुमानले बताए । विपत् जोखिम न्यूनीकरण, विपद्को खोज उद्धार र त्यसका राहत पुनस्र्थापना लगायत विविध कार्यक्रममा प्रदेशको सक्रियता देखाउने उद्देश्यले नमुना दुर्घटना प्रस्तुत गरिएको उनको भनाइ छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विपद् समयमा स्रोतसाधन कमी हुने गरेको बताए । २०७२ सालको विनासकारी भूकम्पले हरेक विपद्ले तयारी अवस्थामा रहन सिकाए पनि समस्या जस्ताको तस्तै रहेको उनको भनाइ थियो । विपद्मा मानवीय शक्ति हुँदाहुँदै पनि काम गर्न सक्ने अवस्था नरहेको उनले बताए । विपद् व्यवस्थापनमा प्राधिकरण नै गठन गर्नुपर्ने उनको जोड छ ।

नमुना उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, हवाई उड्डयन प्राधिकरण, पोखरा विमानस्थल, यति तथा बुद्ध एयरलाइन्स, प्रभु हेलिकोप्टर, रेडक्रस सोसाइटी संलग्न थिए । हवाइ दुर्घटनामा कसरी उद्धार गर्ने ? कसको भूमिका के हुने भन्नेबारे नमुना कौशल प्रस्तुत गरिएको थियो । आपतकालीन उद्धार तालिम गत चैत १ देखि सञ्चालन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width