विद्युतीय शवदाहगृह बनाउन ४५ संस्थाको माग

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७७
bidhutiya chita

पोखरा । पोखरा महानगरपालिका– १० रामघाटमा निर्माणाधीन विद्युतीय शवदाहगृह निर्माण सञ्चालन गर्न तमु धिं नेपाल लगायत विभिन्न समाजले माग गरेका छन् । रामघाटस्थित बौद्ध अर्घौ सदनले लामो समयदेखि चिता व्यवस्थापन गरी परम्परागत रुपमा शवदहन हुँदै आएको छ ।

स्मार्ट सिटी पोखराको अवधारणालाई आत्मसात गर्दै पोखराका लागि अतिआवाश्यक विद्युतीय शवदहन गृह निर्माण योजना हाल स्थगित रहेकामा निर्माण सञ्चालन गर्न संघीय आयोजना कार्यान्वयन इकाई, पोखराका आयोजना प्रमुख इञ्जिनियर झपटबहादुर थापालाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले ज्ञापनपत्र बुझाएका हुन् ।

पोखराका विकासका लागि धेरै पहल पश्चात प्राप्त विद्युतीय शबदाहगृह निर्माण सम्पन्न गर्ने जिम्मेवार प्राप्त संघीय आयोजना कार्यान्वयन इकाई, कास्की, पोखरालाई आवाश्यक वातावरण बनाई योजना सम्पन्न गर्न तमु धिं नेपाल लगायत विभिन्न ४५ समाज तथा संघ संस्थाले माग गरेका हुन् । विकास सबैका लागि भएकाले विकासका लागि कोही बाधक बन्न नहुने भन्दै उक्त ज्ञापनपत्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख माननबहादुर जिसीलाई बोधार्थ दिइएको छ ।

पोखरा महानगरपालिका– १० रामघाटमा पोखराको लागि अतिआवश्यक विद्युतीय शवदाह गृह निर्माण पोखरा क्षेत्रकै गौरवको योजना सम्पन्न गर्न आवाश्यक वातावरण बनाउन आफूहरु पनि सरोकारवाला भएकाले सघाउन तयार रहेको अध्यक्ष गुरुङले बताए ।

दाउराले शवदहन गर्दा भन्दा विद्युतीय मेसिनबाट प्रदुषण ९६% कम हुने

लामो समयदेखि सबैका लागि चिता सञ्चालन र व्यवस्थापन गरी सेवा प्रदान गर्दै आएको रामघाटस्थित बौद्ध अर्घौ सदनले परम्परागत शैलीमा दाउराबाट शवदहन गर्दा दाउराका लागि दैनिक वन मासिदै भूक्षय पहिरोको जोखिम बढ्दै जाने, वातावरणीय प्रदुषण बढ्दै जाने ज्ञापनपत्रमा उल्लेख छ । शवदहन खर्चिलोका साथै धेरै समय लाग्ने र विद्युतीय शवदाह गृह निर्माणले दाउरा कटान गर्नु नपर्ने अवस्थामा भूक्षय पहिरोको जोखिम कम हुने, दाउराले शवदहन भन्दा विद्युतीय मेसिनले शवदहन गर्दा ९६% प्रदुषण कम हुने, कम खर्चमा कम समयमा शवदहन हुने, सम्मानपूर्वक सतगत हुने उल्लेख गरिएको छ ।

योजना निर्माणका लागि शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्की पोखरा मार्फत आवाश्यक तयारीका साथ बोलपत्र आव्हान गरी निर्माण कम्पनी सिनर्जी बिल्डर्स प्रालिले १४ करोड १३ लाख ४७ हजार ६३६ रुपैयाँ १७ पैसामा निर्माण जिम्मा पाएको छ । २४ महिनामा सम्पन्न गर्ने कार्यदेशसहित २०७६ भदौ २३ गते सम्झौता भई निर्माण कार्य सुरु पनि भएको थियो । तर स्थानीयको विरोध भन्दै अहिले निर्माण कार्य स्थगित छ ।

विद्युतीय शवदाह गृह निर्माण गर्नकै लागि बौद्ध अर्घौ सदनलाई सदन परिसरसँगै रहेको कित्ता नम्बर २२०७ को १० रोपनी जग्गा भोगाधिकारका लागि २०५६ साल असार ६ गते तत्कालीन पोखरा उपमहानगरपालिकाले प्रदान गरेको थियो । पत्र ग्रहण गर्दै आयोजना प्रमुख इञ्जिनियर झपडबहादुर थापाले विद्युतीय शवदाहगृह निर्माणका लागि आफुले सक्दो पहल गर्दै आएको र अनुकुल वातावरणका लागि उनले तमु धिं लगायत सम्पूर्ण समाज, संघ संस्था, पोखरेलीलाई आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width