साइन रेसुंगाले खोल्यो पोखरामा शाखा

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७७
shine resunga (1)

पोखरा । साइन रेसुंगा विकास बैंकले पोखरामा शाखा सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशमा उक्त बैंकको यो पहिलो शाखा हो । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वरीप्रसाद भट्टराईले पोखराको न्युरोडमा खुलेको शाखा मंगलबार उद्घाटन गरे । बैंकको यो ७७ औं शाखा हो ।

निर्देशक भट्टराईले अब विकास बैंकहरुले प्रविधिमैत्री सेवामा जोड दिन आग्रह गरे । गण्डकी प्रदेशमा सञ्चालित बैंक, फाइनान्स तथा वित्तीय संस्थामा हाल ३ सय ७७ अर्ब निक्षेप रहेकोमा २ सय ३५ अर्ब मात्र कर्जा प्रवाह भएको तथ्यांक उनले पेस गरे । निक्षेपको वृद्धिदर ४० प्रतिशत रहँदा कर्जा प्रवाहको वृद्धिदर भने २० प्रतिशत मात्र रहेको निर्देशक भट्टराईले बताए । यो क्षेत्रमा कर्जा प्रवाहलाई विस्तार गर्ने प्रशस्त सम्भावना रहेकाले बैंकहरुले त्यसै अनुसार गर्न उनले आग्रह गरे ।

गण्डकी प्रदेशमा कृषि, पर्यटन, ऊर्जा क्षेत्रमा प्रशस्त लगानीको सम्भावना रहेकाले अनुसन्धानमा आधारित रहेर कर्जा प्रवाह गर्न समेत उनले आग्रह गरे । नेपालमा आर्थिक वृद्धिदर राम्रो रहँदा पनि वित्तीय प्रगति भने त्यस अनुसार हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । बैंक तथा फाइनान्सहरुले उत्पादनमुखी योजनामा लगानी गरेमा अर्थतन्त्र विस्तारै उकासिँदै जाने उनको भनाइ थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले ११ जना कर्मचारीबाट ६ करोडको पुँजीमा सुरु भएको बैंक अहिले ४ अर्ब भन्दा बढी चुक्ता पुँजी पुगेको जानकारी गराए । अहिले निक्षेप ३३ अर्ब र कर्जा प्रवाह ३१ अर्ब रहेको उनले बताए । उनका अनुसार बैंकले ४ लाख ४० हजार ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

फागुन ११ गते १२ औं वार्षिकोत्सवको अवसर पारेर बुटवलस्थित आफ्नै भवनमा बैंकले केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको बैंक भइकन काठमाडौं बाहिर रहेको केन्द्रीय कार्यालय रहेको बैंक साइन रेसुंगामात्र रहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले दाबी गरे ।

नेपालका प्रमुख सहरका अब विस्तार शाखा विस्तारको योजना बैंकले अघि सारेको छ । गुल्मी, अर्घाखाँची, दाङ, प्युठान लगायतका जिल्लाका दुर्गम भेगमा साइन रेसुंगाले वित्तीय पहुँच बैंकले पु¥याएको छ । ग्राहकलाई नै सर्बोपरी ठानेर काम गर्दै आएको बैंकले पोखरामा पहिलो पटक शाखा खोलेको र विस्तारै आसपासमा खोल्दै जाने प्रतिबद्धता उनले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width