३५ वर्षपछि सरकारी सेवाबाट विश्राम, प्रमुख सचिव नेपालकाे बिदाइ

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७७
Farewell Photo 2

पोखरा । स्याङ्जा सदरमुकाम नजिकैका विष्णुप्रसाद नेपाल एसएलसी पास भएलगत्तै जागिर खान भैरहवा हानिए । त्यता जागिर खाने तालमेल नमिलेपछि घर फर्केर शिक्षण पेसामा लागे । २०३७ साल सुरु गरेर ३ वर्ष उनले पढाउने काम गरे । २०४१ सालमा सिँचाइ कार्यालयको सुपरभाइजर भएर ३ वर्ष सेवा गरे । २०४३ सालमा लोकसेवा उत्तीर्ण भएर नायब सुब्बाको नियुक्ति लिएर महोत्तरीबाट जागिर थाले ।

त्यसलगत्तै उनी कानुन मन्त्रालयमा काम गर्न सिंहदरबार हानिए । उनले २०४९ सालसम्म कानुन मन्त्रालयमै सेवा गरे । त्यसपछि ५ वर्ष हुलाक सेवा विभागमा काम गर्न पुगे । २०५३ सालपछि भने उनी फेरि सिंहदरबार पुगे, त्यहाँ उनले आर्थिक मन्त्रालयको जिम्मेवारी लिए । नेपाल कर कार्यालयको महानिर्देशक, योजना आयोगको सहसचिव (२०७०–७२) सामाजिक महाशाखा, महालेखा निर्देशक हँुदै अर्थ मन्त्रालयको सहसचिवसम्मको जिम्मेवारीमा रहे । २०७६ साल भदौमा उनी सुर्खेतमा आर्थिक मामिला तथा योजना मन्त्रालयमा पुगे । त्यसपछि उनी फेरि २०७७ जेठमा प्रधानमन्त्रीको कार्यालयमा गए । अन्त्यमा २०७७ साउनमा गण्डकी प्रदेशको मुख्य सचिव भएर आएको ८ महिनापछि आइतबार अन्तिम हाजिर गरे ।
। २०७७ साल साउनमा मुख्य सचिवको जिम्मेवारी लिएर आएका नेपालले उमेरहदका कारण अनिवार्य अवकाश पाएका हुन् । नेपाललाई पोखरास्थित मुख्यमन्त्रीको कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरिएको छ ।

बिदाइ समारोहमा प्रमुख सचिव नेपालले ७ महिनाभित्र प्रदेशका काम सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा आफूलाई गौरवको अनुभूति भएको बताए । जीवनको लामो कालखण्ड सरकारी सेवामा बिताएको उनले बताए ।

माओवादीको जनयुद्धको समयमा चुनौतीका बीचमा पनि काम गरेको उनले सम्झिए । सुर्खेतको आर्थिक मामिला मन्त्रालयमा काम गरेको अनुभवले पनि गण्डकी प्रदेशमा काम गर्न सजिलो भएको उनको भनाइ थियो । मन्त्रीहरुको बुझाइ र अनुभव कम भएका कारण काम गर्न केही असजिलो भएको बताए । ‘मुख्यमन्त्री पहिला पनि मन्त्री भएको कारण उहाँ अनुभवी हुनुहुन्छ,’ उनले भने, ‘अनुभव कै कमीका कारण १९/२० को होइन १०/२० को फरक पर्न गएको छ ।’

आफ्नो काममा सहयोग गर्ने कर्मचारीहरुलाई धन्यवाद पनि दिए । ‘मेरो कार्यकालमा जति पनि राम्रा काम भएका छन्, सबैको साथ र सहयोगले भएको हो,’ उनले भने, ‘नभएका र हुन नसकेका काम मेरै कारण नभएका हुन् ।’ अब आउने मुख्य सचिवले बाँकी काम पूरा गर्ने उनको विश्वास छ । संघमा सचिव भएकाहरु प्रदेशमा ल्याउनुपर्नेमा उनको जोड छ । मुख्यमन्त्रीतर्फ इंगित गर्दै उनले भने, ‘केन्द्रमा मन्त्री भएको व्यक्ति प्रदेशमा मुख्यमन्त्री हुन मिल्छ भने संघमा सचिव भएको मान्छे प्रदेशमा प्रमुख सचिव हुन किन नमिल्ने ?’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्य सचिव नेपालले आफ्नो दाहिने हात भएर काम गरेको बताए । कर्मचारीदेखि मन्त्रीहरुसम्म सम्बन्ध राम्रो बनाउँदै नेपालले काम गरेको मुख्यमन्त्री गुरुङले सुनाए । नेपालको कार्यकालमा धेरै राम्रा काम भएको बताउँदै अब आउने मुख्यसचिवले त्यसलाई नै आधार मानेर काम गर्नुपर्ने उनको धारणा छ । आफूले प्रदेश स्थापना भएदेखि नेपालसहित ५ जना मुख्यसचिवसँग काम गरेको स्मरण गरे । ५ जनामध्ये नेपालसँग काम गर्न तुलनात्मक रुपमा निकै सहज भएको प्रतिक्रिया मुख्यमन्त्री गुरुङले दिए । काम गर्न निकै सहज मुख्यसचिव पाउँदा पनि प्रदेशले धेरै काम गर्न नसकेको गुरुङले बताए । शासकीय क्षमता अभिवृद्धि गर्ने कुरामा प्रदेशको अझै ध्यान जान नसकेको उनको भनाइ छ । प्रदेशस्थित कार्यालयहरु चिनाउन नसकेका कारण नयाँ कार्यक्रम ल्याउनुपर्ने उनले बताए । स्थानीय तहसँग तालमेल नमिलेका कारण कसरी स्थानीय तहसँग मिलेर जान सकिन्छ भन्ने बारेमा विचार गर्नुपर्ने उनको धारणा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width