ओलीविरुद्ध खनिए पौडेल

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७७
ramchandra-poudel

म्याग्दी। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारलाई बिदाइ नगरे देशले थप संकट व्यहोर्नुपर्ने दाबी गरेका छन् ।

ओलीसँग सहकार्य गर्नु भनेको लोकतन्त्र विरोधीलाई समर्थन गर्नुसरह भएको बताउँदै पौडेलले संसदमा पेस हुने अविश्वासको प्रस्तावमा कांग्रेसले कुनै पनि हालतमा साथ दिनुपर्नेमा जोड दिए ।

कांग्रेस म्याग्दीका पूर्व सभापति डा भूपेन्द्रबहादुर खड्काको छैटौं दिनको पुण्यतिथिमा बेनीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै पौडेलले ओलीको हरेक गतिविधि लोकतन्त्र विरोधी र संविधानको रक्षाका लागि बाधक भएकाले बर्हिगमन अपरिहार्य भएको बताएका हुन् ।

‘नयाँ राजनीतिक परिस्थितिमा काँग्रेसले ढुलमुल नीति लिने अवस्था छैन । खास कुरा गर्नुपर्दछ र जनातालई विश्वास दिलाउनुपर्दछ,’ उनले भने ।

नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने विकल्प पनि उल्लेख गरे । ‘केपी ओलीको नेतृत्वमा निर्वाचन सम्भव नै छैन । निर्वाचन हुने अवस्था आए पनि अहिलेको सरकारले गर्न सक्दैन । गरेपनि ठूलो दुर्घटना हुन्छ’, उनले भने ।

नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई सत्ता र नियुक्तिमा प्रधानमन्त्री ओलीको प्रलोभन देखाइरहेको समेत बताए । कम्युनिस्टमा आएको विघटनले मुलुकमा अस्थिरता निम्तिएको उनकोे भनाइ थियो । नीति र सिद्धान्तमा एकता नभएकाले कम्युनिस्टमा भाँडभैलो मच्चिएको उनले बताए । सत्तामा बाँडीचुँडी खानका लागि मिलेका कम्युनिस्ट भागबन्डा नमिलेका कारण एकता भंग भएको उनको भनाइ थियो ।

अधिकांश समय प्रधानमन्त्री ओलीविरुद्ध खनिएका नेता पौडेलले विकृत राजनीतिकै श्रृंखलालाई निरन्तरता दिनबाट रोक्न नयाँ सरकार आवश्यकता रहेको बताए ।
बेनी नगरपालिका–८ संगमचोक निवासी खड्काको गत मंगलबार ८० वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो । खड्का २०५६ देखि २०६७ सम्म २ कार्यकाल जिल्ला सभापति बनेका थिए ।

कांग्रेस जिल्ला सभापति खमबहादुर गर्बुजा खम्बिरले खड्काको सम्झनामा केही काम गरिने जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width