उपमेयर मञ्जुको ४ वर्षे अनुभव : महानगरमा कम्तीमा ३ उपप्रमुख आवश्यक

धनबहादुर गुरुङ
चैत्र १, २०७७
Manju devi gurung

पोखरा । २०७३ साल फागुन २७ गते । यही मितिमा हो, पोखरा महागरपालिकाको जन्म भएको । पोखरा त्योभन्दा अगाडि उपमहागनरपालिका थियो । पोखरा त पोखरा नै थियो, सबैले यही भनेर चिन्थे र चिन्छन् । पछाडि जोडिएको नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिकाको वास्ता धेरैलाई छैन । चिन्ता छ त केवल राजनीतिक दलका नेतालाई ।

कति वडा छन्, कति जनसंख्या छन्, बजेट कति आउँला र कति भोट ल्याइएला भन्ने अनेक पिरलो हुन्छ उनीहरुलाई । देश संघीयतामा गइसकेपछि क्षेत्रफलको आधारमा देशकै ठूलो महानगरको परिचय बनाएको पोखराको उपमेयर बनिन्, मञ्जुदेवी गुरुङ । उनी उपमेयर बनेको अबको वैशाखमा ४ वर्ष पूरा हुन्छ । तर उनलाई ४ वर्ष बित्न लागेको भान भने भएको छैन । आफू विजयी भइसकेपछिको काम गराइ र गर्नुपर्ने कामको अवस्थाकै कारण उनलाई त्यस्तो लागेको हो ।
सुरुमा आफू विजयी भएर आउँदा कुनै क्षेत्र पनि व्यवस्थित नएकाले सुरुको वर्ष संरचना बनाउनमै खर्च भएको उनको भनाइ छ । दोस्रो वर्षमा ऐन नियम बनाएर काम गर्न सुरु गरेको उनी सम्झिन्छिन् । तेस्रो वर्षमा रिजल्ट आउला कि भन्ने समयमा कोरोनाले थला पारेर भनेको जस्तो काम हुन नसकेको उनी बताउँछिन् । चौथो वर्षमा रफ्तारमा काम भइरहेको उनी दाबी गर्छिन् । तर आफूले पाएको जिम्मेवारीमा भने उपमेयर गुरुङ सन्तुष्ट नै छिन् । महानगरका धेरै नीति, ऐन निर्माणमा प्रदेश र संघले निर्णय नगर्दा अझै पनि अलमलमै रहेको उनको भनाइ छ ।

पहिले महिलालाई खासै क्षेत्रहरुमा संलग्न गराउने प्रचलन थिएन् । तर देश संंघीयतामा गइसकेपछि महिलाका लागि कोटा नै छुट्याएर व्यवस्था गरेकै कारण उनी उपमेयर भएकी हुन् । उनी भने यो कुरामा असहमत जस्तै छिन् । महिलाहरु पनि आफैं सक्षम भएर पुरुषसँग प्रतिष्पर्धा गर्नुपर्ने धारणा राख्छिन् । ‘पहिला महिलाका लागि कोटा छुट्याउनैपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘केही समयपछि महिलाहरु आफैं सक्षम भएर अगाडि बढ्न सक्नुपर्छ ।’

जिम्मेवारीमा परेको कामलाई राम्रोसँग गर्ने हो भने पोखरा महानगरमा कम्तीमा ३ वटा उपप्रमुख आवश्यक पर्छ

पहिला उपप्रमुख भनेको स्वागत गर्ने प्रमुख नभएको बेला जिम्मेवारी लिएरमात्र बस्ने थियो । तर संघीय शासन व्यवस्थाले धेरै जिम्मेवारी दिएको उनको भनाइ छ । ‘जिम्मेवारीमा परेको कामलाई राम्रोसँग गर्ने हो भने पोखरा महानगरमा कम्तीमा ३ वटा उपप्रमुख आवश्यक पर्छ जस्तो मलाई लाग्छ,’ उनले भनिन्, ‘किनभने न्यायिक समिति, राजस्व परामर्श समिति, योजना तर्जुमा, अनुगमन, महिला, बालबालिका लगायतका समितिको संयोजक भएर काम गर्नुपर्ने हुन्छ ।’

आफूले पाएको जिम्मेवारी क्रमिक रुपमा पूरा गर्दै आएको उनको दाबी छ । काम बढी भएका कारण कुनै पनि औपचारिक कार्यक्रममा जान भ्याइँदैन । आफ्नो जिम्मेवारीमध्ये न्यायिक समितिको काम सबैभन्दा चुस्त छ । त्यसका लागि २९ वटा वडामा मेलमिलाप केन्द्र गठन गरिएको छ । १ सय ६४ मेलमिलापकर्ता छन् । मेलमिलाप केन्द्रमा सहायता कक्ष पनि स्थापना भएका छन् । राजस्व परामर्श, योजना तर्जुमा, अनुगमन, महिला, बालबालिका, अपांगता लगायत क्षेत्रमा पनि काम भइरहेको उनी बताउँछिन् ।

काम गर्नका लागि संघ र प्रदेश सरकारले कानुन निर्माणमा सहयोग नगरेको उनको गुनासो छ । ‘संघ र प्रदेश सरकारले सहयोग नगरेकै चाँहि होइन,’ उनले भनिन्,‘केही कानुन निर्माणमा भने दुवैतर्फ बाझिने खालको बनाउँदा समस्या भएको छ ।’

भोट माग्ने बेलामा नै जानेर वा नजानेर धेरै काम गछौं भनेर प्रतिबद्धता जनाएको थियो । ‘चुनावमा यो पनि गर्छु, त्यो पनि गर्छु भनियो,’ उनी भन्छिन्, ‘ नेतृत्व तहमा पुगेपछि विभिन्न ऐन कानुन लगायत धेरै कुराले छेक्दो रहेछ, त्यसैले सोचेको जस्तो काम चाँही भएको छैन ।’ सुरुमा केही अलमलमा परे पनि अहिले धेरै काम गरिसकेको उनी दाबी गर्छिन् । आफूले गरेको कामले अबको नेतृत्वलाई सजिलो हुने उनको तर्क छ । ‘मलाई दिएको जिम्मेवारी अनुसार सबैको खाका तयार भइसकेको छ,’ उनी भन्छिन्, ‘कार्यविधि बनिसकेको छ, त्यसलाई अगाडि बढाउनेमात्र हो ।’

‘उपमेयर हुनैपर्छ भनेर राजनीति गरेको होइन’

मञ्जु गुरुङ २०३६ सालबाटै कम्युनिस्ट राजनीतिमा लागेकी हुन् । विद्यार्थी आन्दोलनका समर्थक मामा जगदीश गुरुङबाट प्रेरणा लिएको उनी बताउँछिन् । उनका मामा गुरुङ पृथ्वीनारायण क्याम्पसमा पढ्थे ।

बिहेपछि लामै समय राजनीतिबाट बाहिर रहेकी उनी २०५० सालमा फेरि राजीनीतिमा फर्किइन् । त्यो उनी अखिल नेपाल महिला संघको सदस्य भएकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको मितिनी साइनोले उनलाई पार्टीप्रतिको मोह झन् बढाउँदै गयो । नेकपा एमाले पोखरा नगर कमिटीको अधिवेशनको क्रममा प्रमुख अतिथि भएर आएकी भण्डारीसंँग २०५० साल फागुनमा मञ्जुले मितिनी साइनो गाँसेकी थिइन् । २०५५ सालमा एमालेको संगठित सदस्य भएकी उनी २०७३ मा पोखरा महानगरको उपप्रमुख चुनिएकी हुन् ।

राजनीतिमा लाग्ने बेलामा उपमेयर हुन्छु भनेर नलागेको उनी सुनाउँछिन् । ‘वास्तवमा भन्ने हो भने म राजनीतिमा लाग्ने बेलामा म यो पदमा आउँछु भनेर लागेको होइन्,’ उनले भनिन्, ‘मैले यो पद पाउनुपर्छ भनेर मरिहत्ते गरेको पनि होइन ।’

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width