सकियो फाइनप्रिन्ट फिभर

मनीषा कोइराला, रवि लामिछानेदेखि गगन थापासम्म सुनिए

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७७
manisha1

गैंडाकोट । नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा आयोजित फाइनप्रिन्ट फिभर समापन भएको छ । शुक्रबार सुरु भएको फिभरको दोस्रो दिन शनिबार नेता गगन थापादेखि अभिनेत्री मनीषा कोइरालासम्मका व्यक्तित्वले आआफ्ना धारणा एवम् अभिव्यक्ति राखे ।

फिभरको दोस्रो दिनको पहिलो सेसन रह्यो, ‘देशजगत्’ । यो सेसनमा लेखक एवम् उद्यमी जीवा लामिछानेसँग नेता गगन थापाले अन्तर्संवाद गरे । यो संवादमा उनीहरुले विदेशमा बसिरहेका नेपाली एवम् उनीहरुको अवस्था र गैरआवासीय नेपालीहरुले नेपालमा गर्न खोजेका लगानी आदिका विषयमा चर्चा पनि भयो । साथै लामिछानेको पुस्तक ‘देश देशावर’मा आधारित रहेर पनि संवाद भयो ।

यसपछिको सत्र थियो, ‘इन्द्रेणी’ शीर्षकको । यो सत्रमा निरञ्जन कुँवरसँग प्रतीक्षा कट्टेलले संवाद गरिन् । यस सत्रमा नेपालमा क्वेरहरुले भोग्नुपरेका विभिन्न कठिनाइ एवम् जटिलताबारे चर्चा भयो । साथै शैक्षिक पाठ्यक्रममा यो विषयले प्राथमिकता नभएको विषयमा पनि वक्ताहरुले चर्चा गरे ।

यसैगरी अर्को सत्र थियो, ‘बाँच्ने अभिलाषा’ । यो सत्रमा अभिनेत्री मनीषा कोइरालासँग स्वरूप आचार्यले अन्तर्संवाद गरे । यो सत्रमा अभिनेत्री कोइरालाले क्यान्सर लागेपछि आफूले भोग्नुपरेका पीडा एवम् त्यसविरुद्ध जुध्न आफूले गर्नुपरेका संघर्षका कथा सुनाइन् । क्यान्सर लागेपछिको अमेरिका बसाइ अनि त्यसको निदानपछि आफूले अपनाएको जीवनशैलीबारे पनि यो सत्रमा अन्तर्संवाद भयो ।

यसपछिको सत्र रह्यो, ‘पुँजीवाद र स्वतन्त्र समाज’ । यो सत्रमा मुराहरि पराजुलीसँग विद्यालक्ष्मी महर्जनले वार्ता गरिन् । यस सत्रमा दुवै वक्ताले नेपालमा स्वतन्त्रताको अवस्था एवम् पुँजीवादको अवस्था आदि विषयमा आधारित रहेर चर्चा गरे । साथै उनीहरुले विश्वका अन्य मुलुकमा भइरहेको अभ्यासबारे पनि अन्तर्संवाद गरे ।

‘राजनीतिसँगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवम् नेता रवीन्द्र मिश्रसँग पत्रकार रवि लामिछानेले छलफल गरे । यो सत्रमा उनीहरुले नेपालमा भइरहेको राजनीतिक अवस्था र त्यसले जनजीवनमा पारेको प्रभावबारे अन्तर्संवाद गरे । उक्त अवसरमा मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ पुस्तक तीन जना युवालाई वितरण गरियो । मिश्रको पुस्तकको औपचारिक विमोचन भने भइसकेको छैन । यसपछिको सत्र थियो, ‘रहरका रङ’को । यो सत्रमा ‘रहर’ कथासंग्रहका लेखक सुरेश बडालसँग प्रकृति भट्टराई बस्नेतले संवाद गरिन् । यो सत्रमा लेखक बडालले आफ्नो लेखनयात्राका बारेमा छलफल त गरे नै, सँगै पुस्तकका अन्तर्वस्तुबारे पनि चर्चा गरियो ।

संवादको अन्तिम सत्र थियो, ‘धमिराहरू’ । यो सत्रमा लेखक राजीव उपाध्यायसँग प्रकाश रिमालले संवाद चलाए । उनीहरुले नेपालमा भ्रष्टाचारको अवस्था एवम् विविध विषयमा चर्चापरिचर्चा गरे । साथै देशको समृद्धिका लागि आर्थिक विषयमा गर्नुपर्ने कामबारे पनि उनीहरुबीच अन्तर्संवाद भयो । तर जबसम्म नेपालमा भ्रष्टाचार निर्मूल हुँदैन, तबसम्म समृद्धिको कल्पना गर्न नहुने उनीहरुले बताए ।

यसैगरी समापन प्रस्तुति रह्यो, ‘रेप मेसिन’ शीर्षक नाटक । यही नाटकसँगै फाइनप्रिन्टका सबै सत्र एवम् फाइनप्रिन्ट फिभर सम्पन्न भयो ।

कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम रहे । विशेष छुटमा पुस्तक प्रदर्शनी पनि भयो । र अन्य रचनात्मक कार्यक्रम पनि भए । यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याएको आयोजकले विश्वास लिएको छ । चौधरी फाउन्डेसनसँगको सहकार्यमा भएको सबै सत्र निःशुल्क रहे ।
कार्यक्रममा सहभागी हुन चाहनेहरुलाई लक्ष्य गरी आयोजकले भरतपुरस्थित वीरेन्द्र क्याम्पस चोकअगाडि सिजी ल्यान्डमार्क र कावासोती चोकबाट सटल बसबाट आवतजावतको समेत व्यवस्था गरेको थियो ।
कहाँ भयो कार्यक्रम ?
चितवनको नारायणगढ बजारबाट करिब १२ किमि दूरीमा रहेको नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा सांस्कृतिक थारु गाउँको अवधारणामा काम भइरहेको छ । थारु डबली, थारु बार आदि यहाँ छन् । यहाँ थारु गाउँका विशेषतालाई मात्र देखाइएको छैन, नेपालकै विभिन्न कला एवम् संस्कृतिबारे जानकारी दिने प्रयास पनि गरिएको छ ।
कला (हस्तकला र साहित्य)को प्रवद्र्धनका लागि पनि दीर्घकालीन योजनासाथ तीव्रस्तरमा काम भइरहेको छ । करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली क्राफ्टको हिस्ट्री म्युजियम छ । कला र साहित्यको प्रवद्र्धनकै लागि भनेर कला केन्द्र बनाइएको छ । कलाघर पनि यहीँ छ, जहाँ विभिन्न ‘क्रिएटिभ फिल्ड’का विशेषज्ञ आएर आआफ्ना कला सिर्जना गर्न सक्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width