सामुदायिकमा संसदीय प्रणाली विकास तालिम

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७७
Samudayik Photo

पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा संसदीय प्रणाली विकास तालिम प्रशिक्षण कार्यक्रम भएको छ । कास्की जिल्लामा क्रियाशलि सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीलाई प्रशिक्षण दिइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले समाजमा हुने आपराधिक गतिविधि न्यूनीकरण गर्न सामुदायिक प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरे । समाजमा अवाञ्छित घटना नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनले बताए । सामुदायिक सेवामा निस्वार्थ रुपमा आबद्ध रही विकृति विसंगति न्यूनीकरणका लागि अग्रसर सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यले प्रहरीको कार्यमा समेत सहयोग पुग्ने उनकोे भनाइ छ ।

नागरिक र प्रहरीबीचको सम्बन्ध सुमधुर रहने भएकाले कास्की जिल्लामा केन्द्रहरुको स्थापना गरी सक्रिय रुपमा अघि बढेको उनले स्मरण गरे । उनले सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की लगायत कास्की जिल्लामा क्रियाशील सामुदायिक सेवा केन्द्रका कार्यसमितिलाई सफलताकोे शुभकामनासमेत दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संसदीय प्रणाली विकाससम्बन्धी प्रशिक्षण दिएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले सामुदायिक प्रहरी सेवाको स्थापना, अवाधारणा, काम कर्तव्य, अधिकार र उद्देश्यबारे प्रशिक्षण दिए ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बोधराज कार्कीले संस्थाको वार्षिक कार्ययोजना अनुसार काम भएको बताए । केन्द्रको काम कर्तव्य अधिकार र पदीय दायित्व, वृत्ति विकासका बारेमा केही ज्ञान हुने अपेक्षाका साथ संस्थाले प्रशिक्षण तालिम सञ्चालन गरेको उनको भनाइ थियो ।

कार्यक्रममा कार्य समिति पदाधिकारी वरिष्ठ उपाध्यक्ष भीम पराजुलीले स्वागत मन्तव्यसहित तालिम प्रशिक्षणको उद्देश्यमाथि प्रकाश पारे ।

Related News

सम्बन्धित समाचार

hero news full width