पालिकाका ५ वर्ष : आम्दानी नहुँदा केन्द्रकै भर

prakash dhakal प्रकाश ढकाल
फागुन २८, २०७७
palika

पोखरा । राज्यको पुनर्संरचनापछि देशभरका स्थानीय तहले ५ वर्ष बिताए । सिंहदरबारको अधिकार घरआँगनमा पु¥याउने नाराका साथ भित्र्याइएको नजिकको सरकार संविधानले लेखेको र नेताहरुको भाषणझैं जनस्तरमा पुग्न सकेको छैन । पालिकाले अहिले पनि देखाउन सक्ने गरी विशेष योजना कार्यान्वयनमा लैजान सकेका छैनन् ।

बजेटको असन्तुलित वितरण नै स्थानीय तहको प्रमुख चुनौती हो । त्यसबाहेक स्थानीय स्रोतको पहिचान र परिचालन कुनै पनि पालिकाले ठिक ढंगबाट गर्न सकिरहेका छैनन् । सबैजसो बजेट र कार्यक्रम केन्द्रीय अनुदानमा भर पर्छ । पोखरा महानगरपालिकाले यो वर्षमा २ करोड १८ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ । यस्तै, मादीले रोयल्टीसहित साढे ५ करोड आम्दानीको लक्ष्य लिएको छ ।

अन्नपूर्णको २ करोड, माछापुच्छ्रेको ३ करोड र रुपा गाउँपालिकाको आन्तरिक आम्दानी १ करोड अनुमान छ । आन्तरिक आम्दानीले पालिकाको प्रशासनिक खर्च चलाउन पनि धौ छ । ४० करोडदेखि ७ अर्बसम्मको बजेट कास्कीका पालिकाले विनियोजन गर्छन् । अधिकांशले ७० प्रतिशत पनि खर्च गर्दैनन् । मादी गाउँपालिकाले केन्द्र अझै टुंग्याउन सकेको छैन । केन्द्रको नाम प्रस्ताव गरिए पनि स्थानीयको विरोधका कारण टुंगिएको छैन । त्यसमाथि यसको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अन्नपूर्णले तोकिएको केन्द्रमा भवन बनाउन सकेको छैन । माछापुच्छ्रे ले प्रशासनिक भवन थालेको छ । पोखरा अझै साँघुरो घरभित्र चलिरहेको छ । नयाँ कार्यालय भवन बनाउने निर्णय गरे पनि जग्गा प्राप्त नहुँदा जग नै हालिएको छैन । रुपाले साविकको गाविस भवनबाट कार्यालय चलाएको छ ।

आन्तरिक आम्दानीले पालिकाको प्रशासनिक खर्च चलाउन पनि धौ छ

भूगोलका हिसाबले पोखरा देशकै ठूलो महानगर हो । तत्कालीन उपमहानगरपालिका, नगरपालिका र गाविसहरु एकैपटक गाभिएर महानगरपालिका बनेको हो । त्यसैले अधिकांश वडा अझै पनि विकट र पूर्वाधारविहीन छन् । महानगरपालिकाले वडा केन्द्र जोड्ने सडकमा ध्यान दिएको छ । सहरी क्षेत्रका सडक अस्फाल्ट पीच गर्ने र वडा केन्द्र जोड्ने सडक स्तरोन्नति भइरहेको मेयर मानबहादुर जिसी बताउँछन् । यहाँका कतिपय वडाहरु अझै पनि भाडाको घरबाट चल्छन् । सुशासन कायम, प्रविधिमैत्री सेवा, खानेपानी, सडक र वातावरण संरक्षणमा देखिने गरी काम भएको उनको दाबी छ । ‘सडकलाई चुस्त दुरुस्त बनाउने भनेर धेरै काम ग¥यौं । कम्तीमा पनि विकटलाई निकट ल्याउने योजना कार्यान्वयन गरिएका छन्,’ उनले भने, ‘पूर्वाधारहरु स्मार्ट खालका बनेका छन् । महानगरको उल्लेख्य काम यही हो ।’ तोकिएका लक्ष्य पूरा गर्न बजेट र प्राविधिक समस्या बढी परेको उनले सुनाए । ‘भनेजस्तो काम गर्न भनेजस्तो बजेट चाहिन्छ । हामीसँग स्रोत सिमित छ,’ उनले भने, ‘प्राविधिक समस्या उस्तै छन् । सामाजिक अड्चनले कहिलेकाहीं योजना कार्यान्वयनमा समस्या थपेको छ ।’

मादी गाउँपालिकाले पर्यटनमा विशेष जोड दिएको छ । सिक्लेस, ताङतिङ, याङ्जाकोट, नागिधार लगायत गाउँ पर्यटनका लागि प्रख्यात छन् । गुरुङ जातिको उद्गमस्थल क्होंलासोंथर यही पालिकामा पर्छ । सिक्लेसदेखि कोरीसम्म केबुलकार जोड्ने पालिकाको लक्ष्य छ । तर संरक्षण क्षेत्रका कारण काम अघि बढ्न सकेको छैन । ‘मादीको ८० प्रतिशत भूभाग संरक्षण क्षेत्रभित्र परेको छ । त्यसकै कारण आँटेका केही काम फेल भयो,’ पालिका अध्यक्ष बेदबहादुर गुरुङ भन्छन्, ‘लगानीकर्ता लगानी गर्न तयार छ । हामी दिन तयार छौं । तर वन्यजन्तु विभागमा पुगेर फाइल रोकियो ।’ तप्राङमा बजेट विनियोजन गरेर काम थालिएको २ करोडको प्राणी उद्यान पार्कमा मुद्दा हालेर रोकिएको छ । पालिका स्थापना भएपछि बसाइँसराइ रोक्न आफूहरुले धेरै मेहनत गरेको गुरुङले बताए । ‘हिजो मादीको बसाइँसराइ निकै चर्को थियो । हामी आएपछि त्यो रोकिएको छ । बरु सहरबाट गाउँमा फर्केर पुराना घर मर्मत गर्न थालेका छन्,’ उनले भने, ‘नयाँ घरहरु बनेका छन् । गाउँमा चहलपहल बढेको छ । जनताहरु उत्साही छन् ।’

कृषि, पशुपालन, पूर्वाधार लगायतका क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना भएपछि गाउँलेहरु गाउँमै बसेका हुन् । शिक्षा र स्वास्थ्यमा पनि उल्लेख्य फड्को मारेको अध्यक्ष गुरुङले सुनाए । उनका अनुसार पालिकाले आवधिक योजना निर्माण गरेको छ । ५३ भन्दा बढी ऐन, कानुन र कार्यविधि तयार गरेको छ । स्थानीय तह बनेपछि ठूला १० वटा मोटरेबल पुल र १२ वटा झोलुंगे पुल निर्माण भइरहेको छ । केही सम्पन्न भइसके । ७ वटा नयाँ वडा भवन निर्माण भएका छन्, ५ वटा स्वास्थ्य चौकी बनेका छन् भने १० वटा मावि तहका विद्यालय भवनको स्तरोन्नति गरिएको छ ।

कास्कीको सबैभन्दा कम स्रोत भएको र सानो पालिका हो, रुपा । सडक र खानेपानीको सबैभन्दा बढी समस्या थियो । सबै नागरिकको पहुँचमा स्वास्थ्य पुगेको थिएन । पालिकामा जनप्रतिनिधि आएपछि ८५ किलोमिटर सडक कालोपत्रे गरिसकेको अध्यक्ष नवराज ओझा बताउँछन् । ‘बर्खामा हिलोले हिँड्न गाह्रो, हिउँदमा धुलोले समस्या थियो । २० मिटर पक्की हुँदा हामी छि¥यौं । अहिले ८५ किलोमिटरमा कालोपत्रे भएको छ,’ उनले भने, ‘स्थानीय सरकार नभएको भए त्यो सम्भव थिएन । संघीयताले नागरिकलाई दिएको कोसेली यही हो ।’ उनका अनुसार ३ हजार ९ सय घरमा १ घर १ धारा अभियान पूरा भइसकेको छ । सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुन थालेको छ । प्राविधिक विद्यालय सञ्चालन भएका छन् । खासगरी युवालाई रोजगारी, नागरिकलाई सहज सेवा प्रवाहमा जोड दिएको ओझाले बताए ।

‘कृषिमा पकेट क्षेत्र घोषणा गरेका छौं । पशुमा भकारो सुधारका कार्यक्रम छन्,’ उनले भने, ‘सस्तो ब्याजदरमा युवालाई ऋण दिएर कृषिमा लगानी बढाउन लागिरहेका छौं ।’ सबैको पहुँचमा अव स्वास्थ्य क्षेत्र पुगेको छ ।’ सस्तो ब्याजदरमा ऋण दिन पालिकाले डेढ करोड विनियोजन गरेको छ । विभिन्न ठाउँमा भ्यु टावर र पार्क निर्माण गरिएका छन् । ८ किलोमिटर पदमार्ग मात्रै बनाइएको अध्यक्ष ओझाले जानकारी दिए । कास्कीको तेस्रो ठूलो ताल रुपा यही पालिकामा पर्छ । त्यसलाई आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम गरिएको उनले सुनाए । यद्यपि आन्तरिक आम्दानी बढाउन भने पालिकाले सकेको छैन ।

अन्नपूर्ण गाउँपालिका पर्यटनका लागि निकै प्रख्यात छ । अन्नपूर्ण बेसक्याम्पदेखि घान्द्रुक, छोम्रोङ, लान्द्रुक, लुम्ले लगायत गाउँ यहाँ पर्छन् । खासगरी स्थानीय पहिचान आधारमा विकासको काम पालिकाले गरिरहेको अध्यक्ष युवराज कुँवरले बताए । ‘अन्नपूर्ण नेपालको चेरापुन्जी हो । यहाँ सडक कालोपत्रे गरेर धेरै बेर टिक्दैन । त्यसैले ढलान गर्नुपर्छ,’ उनले भने, ‘८ किलोमिटर बाटो एकै वर्ष ढलान गरेका छौं । कालोपत्रे पनि बाक्लो र गुणस्तरीय गरेका छौं ।’ हालसम्म ११ किलोमिटर पदमार्ग निर्माण गरिसकेको कुँवरले बताए । पालिकाले कोदो उत्पादनमा जोड दिएको छ । १ घर १ धारा अभियान तीव्ररुपमा अघि बढेको छ । ‘कतिपय गाउँमा पानीको निकै समस्या छ । पालिकाले स्रोत खोजेर खानेपानी उपलब्ध गराएको छ,’ उनी भन्छन्, ‘कृषि र पशुपालनमा विशेष फोकस छ । प्राकृतिक र परम्परागत सम्पदा संरक्षण गरिरहेका छौं ।’ पालिका जोड्ने रिङरोड निर्माण अघि बढाएको छ । वडा भवन र स्वास्थ्य केन्द्रका भवन निर्माणमा लगानी बढी गरेको छ ।

माछापुच्छ«े गाउँपालिका तुलनात्मक रुपमा अलि कमजोर देखिन्छ । नियमित काम भने गरिरहेको छ । पदमार्ग निर्माण, सडक कालोपत्रेदेखि प्रशासनिक भवन निर्माणमा बढी ध्यान दिएको छ । यो गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएर केही विद्यालयमा मातृभाषाको पढाइ सुरु गरेको छ । महिलालाई सामूहिक खेतीमा लगाएको छ । छोरी र बुहारीलाई केन्द्रित गरी लोक सेवा आयोगको पढाइ थालेको छ । प्रसिद्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल ट्रेक यही पालिकामा पर्छ । त्यतिमात्रै होइन माछापुच्छ«े हिमाल रहेको पालिका हो, यो । त्यसैले यसको रणनीतिक महत्व बढी भएको पालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताइन् । ‘आफ्नै स्रोत छैन । सबै माथिबाट आएका अनुदानमा कार्यक्रम र योजना बनाउनुपर्छ,’ उनले भनिन्, ‘तर पनि पालिका भएको महसुस नागरिकले गरेका छन् । संघीयताले जनताको आवाज सुनेको छ । समस्यालाई नजिकबाट नियालेको छ ।’ नयाँ संरचना भएकाले सबै पालिकाहरुले ५ वर्षमा संघीयताको जग बसाल्न आफूलाई केन्द्रित गरे ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads