पोखरा महानगरले मनायो स्थापना दिवस, करदाता र कर्मचारी सम्मानित

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७७
Mahanagar Samman

पोखरा । पोखरा महानगरले बुधबार आफ्नो ५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । २०७३ फागुन २७ गते उपमहागनरपालिकाबाट पोखरा महानगरपालिका घोषणा भएको थियो ।

२७ गते शिवरात्रिको बिदा भएकाले महागनरले बुधबार स्थापना दिवस मनाएको हो । पोखरा महानगरको ३ दिवसीय कार्यक्रम अन्तर्गत छुट्टाछट्टै कार्यक्रम गरेको थियो । महानगरका कर्मचारीहरु बिहान पोखरा महानगरपालिकाबाट सुरु भएको प्रभातफेरी पोखरा सभागृहमा पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो । सोमबार र मंगलबार जनप्रतिनिधि र कर्मचारीबीच खेलकुदका कार्यक्रम भए । सोमबार जनप्रतिनिधि र कर्मचारी (पुरुष) बीच फुटबल प्रतियोगिता र मंगलबार महिला जनप्रतिनिधि र कर्मचारीवीच भलिबल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पोखरालाई उत्कृष्ट सहर बनाउने गरी काम भैरहेको भन्दै निर्वाचनमा जनताका बीचमा गरेका वाचा केही पूरा भएको र केही अबको बाँकी अवधिमा पूरा हुने बताए ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा सुन्दर सहर भएको बताउँदै पोखरालाई समृद्ध बनाउन बनाउन जनप्रतिनिधि र कर्मचारीले आआफनो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा महानगरका प्रवक्ता धनबहादुर नेपाली, सचेतकद्वय शोभामोहन पौडेल, रामराज लामिछाने, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, कर्मचारीका नेताहरु अमिर भण्डारी, शिव बराल, नेत्र तिमिल्सिना लगायतले महानगरको हुनुको औचित्य र आफूले गर्नुपर्ने कामको बारेमा बोलेको थिए ।

कर्मचारी र करदाता सम्मानित

कार्यक्रममा महानगरमा लामो समय सेवा गरेका १३ कर्मचारीलाई दिर्घ सेवा सम्मान दिएको थियो । उनीहरुलाई दोसल्ला सहित सम्मानपत्रले सम्मान गरिएको थियो । महानगरको विभिन्न शाखामा कार्यरत र महानगरलाई कुनै न कुनै क्षेत्रबाट सहयोग गर्नेलाई महानगरले सम्मान गरेको थियो ।

महानगरले उत्कृष्ट करदातालाई पनि सम्मान गरेको हो । गत वर्ष पोखरा ग्रान्ड प्रालिले १२ लाख ३३ हजार कर बुझाएर उत्कृष्ट ठहरिएको थियो । त्यस्तै नेपाल टेलिकम, कृषि विकास बैंक र भाटभटेनी सुपर मार्केटलाई पनि उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ ।

कार्यक्रममा महानगरले सञ्चालन गरको ‘लैंगिक समानतामा महिला र पुरुषको भूमिका’ विषयक वक्तृत्वकलामा उत्कृष्टहरुलाई पनि पुरस्कार वितरण गरेको थियो । स्थापना दिवसको अवसरमा आयोजना गरिएका भलिबल, फुटबल र ब्याडमिन्टन प्रतियोगिताका विजेता कर्मचारी र जनप्रतिनिधिलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width