माओवादीबाट एमाले बलात्कृत भयोः मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७७
PS

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा माओवादीका कारण आफ्नो पार्टीको मौलिकता बलात्कृत भएको बताएका छन् । पोखरा महानगरपालिकाको ५ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले पार्टी एकताका कारण एमालेको ब्राण्ड ध्वस्त भएको बताएका हुन् ।

‘लोकतन्त्रको ब्राण्ड र जुन भर्जिनिटी थियो एमालेको । हाम्रो त्यो लोकप्रियताको भर्जिनिटी पार्टी एकता हुँदा बलात्कृत भएको थियो । लोकतन्त्रको एमालेको भर्जिनिटी एकताका कारणले बलात्कृत भएको थियो,’ उनले भने, ‘आज पार्टी पुनःस्थापित हुँदा बलात्कृत भएको हाम्रो ब्राण्डले फेरि पनि अस्तित्व प्राप्त गरेको छ । माओबादी मिसाउँदा संख्या त पायौं तर धेरै कुरा गुमाएका थियौं ।’

उनले नाम कम्युनिष्ट पार्टीको भएपनि एमाले नेपालकै सबैभन्दा लोकतान्त्रिक पार्टी भएको उल्लेख गरे । ‘युरोपमा कम्युनिष्ट भन्ने वित्तिकै लोकतान्त्रिक हुँदैन भन्ने छ । नाम त कम्युनिस्ट भयो तर नेपालमा सबैभन्दा लोकतान्त्रिक पार्टी यहि एमाले हो । अरु डेमोक्रेटिक पार्टीलाई पनि उछिनेर त्यो नमुना हामीले देखाएका थियौं,’ उनले अघि भने, ‘यो कम्युनिस्ट आन्दोलनको एउटा संस्कार हो । एमालेले संसारभरको कम्युनिस्टलाई एउटा संस्कार सिकाईरहेको छ ।’

एमालेसँग नमिले अरु सबै पार्टी मिलेर मात्रै सरकार गठन हुने उनले बताए । तर त्यो सम्भव नभएको र सरकार एमालेकै नेतृत्वमा बन्ने उनको भनाई छ । ‘प्रचण्डको समर्थनमा प्रधानमन्त्री केपी ओली, शेरबहादुरको समर्थनमा प्रधानमन्त्री केपी ओली र महन्थ ठाकुर वा बाबूरामको समर्थनमा प्रधानमन्त्री केपी ओली । यी तीनवटा विकल्प कार्यान्वयन नहुँदा अरु सबै एकै ठाउँमा हुनुपर्छ,’ गुरुङ भन्छन्, ‘उनीहरु मिल्नु सम्भव छैन । घाम र जुन मिलेजस्तै हो । धेरै कठिन कुरा छ, यो ।’

Related News

सम्बन्धित समाचार

hero news full width