राजनीति पेसा हाेइन, कमाउन त व्यवसाय गर्नुपर्छ

धनबहादुर गुरुङ
फागुन २६, २०७७
dipa roka magar (3)

पोखरा । एकातिर कोरोना मार, अर्कोतर्फ राजनीतिक उथलपुथल । पुस ५ मा संसद भंगसँगै देशमा एकखालको गर्मागर्मी चलेको थियो । कार्यकर्ता दाहाल–नेपाल पक्षमा जाने कि ओली खेमामा जाने ? भन्नेमै सोच्दै थिए । केही संघीय सांसदको कित्ताकाट भइसक्दा त्यसको बाछिटा गण्डकी प्रदेशमा समेत आइसकेको थियो ।

तर त्यसको कुनै परवाह नगरी गण्डकी प्रदेश सभा सदस्य दिलमाया रोका मगर ‘दीपा’ ले व्यवसाय थालिन् । बागलुङकी उनी तत्कालीन माओवादी केन्द्रबाट समानुपातिकतर्फ सांसद बनेकी हुन् । ‘माननीय दीपा’ ले पोखरा १०, अमरसिंहचोकमा सञ्चालन गरेको व्यवसायको नाम हो–ताराखोला अर्गानिक कोसेली घर ।

गत माघ १० देखि सुरु कोसेली घरमा बागलुङ ताराखोलामा पाइने जौं, उवा, मकै, फापर, गहुँ लगायतको सातु आँटो, भुटेको मकै बिक्रीका तासीमा राखिएको छ । ताराखोलामै उत्पादित अलैंची, सिमी तथा केराउको दाल, भाङ प्याकिङमै भेटिन्छ । त्योसँगै डोको, नाम्लो, नाङ्लो लगायत बाँँसबाट बन्ने सामग्री पनि राखिएको छ । च्याउको सुकुटी, घ्यू, टिमुर, आलु, बदाम, ओखर लगायतका अर्गानिक खाद्यवस्तु पनि भेटिन्छ । ‘ताराखोलामा अहिलेसम्म युरिया मल हालेका छैनन्,’ उनी भन्छिन्, ‘केही बजार झरे पनि गाउँमा भएकाहरुले खेतबारी बाँझा राखेका छैनन् ।’ केही सामान ढोरपाटन, निसी तिरबाट पनि ल्याउने गरेको उनी सम्झिन्छिन् । ‘गाउँमा आफन्त छन्, उनीहरुले जम्मा गरिदिनुहुन्छ र पठाइदिनुहुन्छ,’ उनले भनिन्, ‘ढोरपाटन, निसी तिरबाट पनि साथीहरुले गाडीमा राख्दिनु हुन्छ, अलि अस्ति मुस्ताङबाट जिम्मु मगाएकी थिएँ, माननीय इन्द्रधारा विष्टले ल्याइदिनुभएको ।’


बिहानदेखि बेलुकासम्मै पसलमा भेटिने ‘माननीय’ लाई राजनीनिक खटपटले खासै प्रभाव पारेको छैन । पछिल्लो समय राजनीतिलाई व्यवसाय बनाउनेहरुले राजनीति बिगारेको उनको धारणा छ । राजनीतिलाई जनताको सेवासँग जोड्दै आफ्नै लगानीमा अरु व्यवसाय गर्नुपर्ने उनको तर्क छ ।

‘केही व्यवसाय गरौं भन्ने सोच पहिलादेखि नै पलाएको थियो,’ उनले भनिन्, ‘कोरोनाका कारण केही ढिलो भएको हो ।’ नेकपामा दाहाल–नेपाल पक्षमा स्पष्ट खुलेकी उनी पार्टीको कार्यक्रम पनि भ्याएकै छिन् । प्रदेश सभामा अधिवेशन चलेको छैन । हाललाई प्रदेश सभाका लागि समय व्यवस्थापनमा कुनै समस्या छैन । सांसद नाताले जनताको समस्यामा पनि सामेल हुन्छिन् । बाँकी समय कोसेली घरमै भेटिन्छिन् ।

कोसेली घरका लागि आवश्यक खाद्यवस्तु र सामान उनले गाउँबाट ल्याउँछिन् । बागलुङको ताराखोलाको सेरोफेरो नै उनको अर्गानिक सामान ल्याउने थलो हो । कुनै सामान अरु जिल्लाबाट पनि मगाउँछिन् । व्यवसायको सोच पहिलेदेखि भएकोले ३ वर्षअघि उनीसहित ४ जनाले बागलुङमै ताराखोला ट्राउट फर्म चलाएका छन् । टिममा उनीमात्र महिला छिन् । ताराखोला बहुउद्देश्यीय रेन्बो ट्राउट फर्मको व्यवसाय सन्तोषजनक रुपमै चलेका कारण पोखरामा कोसेली घर चलाउने उत्साह बढेको उनी बताउँछिन् ।

राजनीतिक उथलपुथलमा झन् व्यवसाय गर्नैपर्ने उनको अनुभव छ । राजनीति सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको कारण व्यवसायमा हात हालेको बताउने उनी सामान्य जनता नै ठान्छिन् । ‘हामी बाँच्नका लागि पनि व्यवसाय गर्नुपर्छ, उनी भन्छिन्, ‘वास्तवमा मानिस आत्मनिर्भर नहँुदा हो, भ्रष्टाचार बढ्ने ।’ स्वालम्बन नभएकै कारण भ्रष्टाचार बढ्ने उनको तर्क छ । १० लाखको लगानीमा सुरु गरेको कोसेली घरको लगानी अझै बढाउने र केहीलाई रोजगार दिने पनि उनको योजना छ । भविष्यमा आफ्नै लोगो राखेर लेभलिङ र प्याकेजिङ गरेर होलसेल चलाई देशका अन्य सहरमा ब्रान्डिङ गर्ने उनको लक्ष्य छ ।

गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् । अप्रत्यक्ष रुपमा सबैले केही न केही व्यवसाय त गरेकै होलान् तर प्रत्यक्ष आफै दिनभर खटिएर गर्न लागेको भने पहिलो रहेको उनको दाबी छ । यसरी कोसेली घरमा बसेर कोसेली बाँड्दै गरेकी उनलाई सहकर्मीले राम्रो प्रतिक्रिया दिने गरेका छन् । ‘कोसेली घरमा माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि आउनुभएको छ, अरु अरु माननीयज्यूहरु पनि आउनुभएको छ,’ उनी भन्छिन्, ‘सबैको प्रतिक्रियाले थप हौसला मिलेको छ ।’

जनयुद्धदेखि सांसदसम्म
दिलमायाको जन्म २०४१ सालको हो । बागलुङ अर्गल गाविस २, छमरीकी कक्षा २ पढ्दा उनी १२ वर्षकी थिइन् । भर्खर–भर्खर जनयुद्ध सुरु हुँदाताका अर्गलबाट परिवर्तनका नाममा धेरै जना माओवादीमा हिँडे । त्यही भीडमा उनका दाजु अमृत घर्ती र मामा समबहादुर घर्ती पनि जोडिए ।

सानैबाट नाच्न÷गाउन सिपालु उनी बाल संगठनमा क्रियाशील थिइन् । संगठनमै हुने बेला असहाय, अशक्तलाई सहयोग गर्थिन् । पछि २०५४ साल मंसिरतिर माओवादीले सञ्चालन गरेको विश्वास सांस्कृतिक परिवारमा पुगिन् । सुरुमा घरमा थाहै नदिइ गएका उनले यसरी माओवादीमा नाच्दै हिड्ने भन्ने आरोप पनि खेपिन् । तर उनले वास्ता गरिनन् । पछि माओवादीमै सांस्कृतिक टिम गठन हुँदा उनी पनि समाहित भइन् । विद्यार्थी हुँदाताका नै उनी जिल्ला सदस्य भई काम गरिन् । त्यो बेलासम्म माओवादीको सिद्धान्तले तानिसकेको थियो । धौलागिरि जनजागरण अभियानतर्फबाट नाच्नगाउन म्याग्दीसम्म पुग्थिन्, उनी । २०५६ सालदेखि पढाइ बिट मार्दै ‘होलटाइमर’ नै भइन् र प्रतिरोध सांस्कृतिक समूहमा आबद्ध भइन् ।
‘टिनएज’ मै थिइन्, त्यो बेला ‘जिते संसार हारे हतकडी’, ‘मरे सहिद बाँचे संसार जितिन्छ’ भनेर युद्धको भुमरीमा होमिएकी थिइन् । घर छाडेर रोल्पा पुगिन् । यता, अर्को पक्षले बावु आमालाई यातना दिने गरेको उनी सम्झिन्छिन् ।

२०५८ सालमा गाउँकै एक युवकसँग बिहे गरिन् । २०५९ सालमा घर र माइतमा एकैदिन बम हानेर ध्वस्त बनाएको घटना ताजै छ, उनको मनमा । २०६० सालमा छोरी जन्माइन् । सुत्केरीको तेस्रो दिनमै जंगलमा गएर बस्नुपरेको पीडा उनीसँग छ । समय बित्दै जाँदा २०६१ सालमा श्रीमान् गुमाइन् । सँगै जनयुद्धमा होमिएका श्रीमान् खारा आक्रमणमा परि ज्यान गुमाए । उनले हिम्मत हारिनन्, निरन्तर लागिरहिन् । २०६२/६३ को जनआन्दोलनमा उनीहरु भारतमा जनजागरण अभियान चलाउँदै हिँडिन् । २०६४ सालमा दोस्रो बिहे पनि गरिन् । पछि माओवादी शान्ति प्रक्रियामा जाँदा काम नभएपछि उनी बागलुङ गइन् । त्यो बेला दोस्रो श्रीमानको तर्फबाट १ छोरा र १ छोरी पनि जन्मिसकेका थिए ।

२०५७ मा घर छोडेर हिडेका उनी ८ वर्षका अन्तरालमा घर फर्केकी थिइन् । घर फर्किंदा ढलेको घर देखेर विक्षिप्त भइन् । तैपनि मन सम्हालिन्, गाउँमै बसेर संघर्ष थालिन् । पढाइलाई निरन्तरता दिइन् । २०६७ सालमा एसएलसी परीक्षा दिइन् । उच्च शिक्षा अध्ययनका लागि २०६९ सालमा बागलुङ आएर क्याम्पस भर्ना भइन् । २०७० सालबाट छोराछोरी पढाउने उद्देश्यले बोर्डिङ स्कुल अध्यापन सुरु गरिन् ।

त्यो बेलासम्म उनमा राजनीतिक चासो हुन छाडेको थियो । भूमिगत हुने बेलामा जे खालको ‘स्कुलिङ’ भएको थियो । शान्तिप्रक्रियामा गएपछि त्यो नपाउँदा निराशा थियो । त्यही बेला वैद्यले पार्टी फुटाएपछि वैद्यतिरै लागिन् । २०७० सालको संविधानसभा निर्वाचन वैद्य समूहले बहिस्कार गरेको थियो । केही समयपछि माओवादीतर्फ नै फर्किइन् । त्यसबेलासम्म जागिर निरन्तर थियो । २०७४ सालको निर्वाचनमा समानुपातिकबाट टिकट पाइन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतामा चुनाव भयो । चुनावी परिणाम अनुसार उनी समानुपातिक सदस्य हुन सफल भइन् ।

Related News

सम्बन्धित समाचार

  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…

hero news full width