कुमाल बस्तीमा सुरु भयो उपचार

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७७
rupa~prakash

पोखरा । कास्कीको रुपा गाउँपालिकाले धमाधम स्वास्थ्य केन्द्र निर्माण र सञ्चालन थालेको छ । केही दिन अघि स्यास्त्रीमा स्वास्थ्य केन्द्र बनाएको पालिकाले कुमाल बस्तीबाट पनि स्वास्थ्य उपचार सुरु गरेको छ । शनिबार एक कार्यक्रमका बीच पालिका अध्यक्ष नवराज ओझाले स्वास्थ्य केन्द्रको उद्घाटन गरे ।

पोल्याङ, फैचोक, नेपालपाखा, टाकन्जा लगायत क्षेत्रका नागरिकलाई सेवा पुग्ने गरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको हो । यसैका लागि पालिकाले १३ लाख लागतमा भवन निर्माण गरेको थियो । भवन थप गर्नका लागि चालु वर्षमा १४ लाख विनियोजन गरिएको अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

सामान्य चिरफारसहित बर्थिङ सेन्टर समेत सञ्चालन गर्न लागिएको हो । सिनियर अहेवको नेतृत्वमा ३ जना कर्मचारी खटाइएको ओझाले बताए । उनका अनुसार स्वास्थ्य केन्द्रबाट १७ वटा रोगको उपचार हुन्छ । कुमालहरुको बाहुल्य रहेको यहाँ स्वास्थ्योपचार निकै कठिन थियो ।

उद्घाटनपछि बोल्दै अध्यक्ष ओझाले सामान्य रोगका लागि सदरमुकाम झर्नुपर्ने बाध्यताको अन्त्य हुने बताए । ‘चोट लागेको हात बोकेर अव पोखरा जानुपर्दैन,’ उनले भने, ‘सानातिना चिरफार यहीँ हुन्छन् । औषधी यहीँ पाइन्छन् ।’ योसँगै शनिबार नै स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । स्वास्थ्य केन्द्रमा पहिलो पटक सहिद परिवार खीमादेवी बास्तोला र सन्तबहादुर भुजेलले उपचार गराएका छन् ।

उद्घाटन समारोहमा पालिका उपाध्यक्ष लालसुबा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गाना, वडा नम्बर ७ का अध्यक्ष दयासागर सुवेदी, नेकपा रुपा ३ का अध्यक्ष दिपेन्द्र गौतम लगायतले बोलेका थिए । ३ नम्बर वडाका अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन स्वास्थ्य संयोजक रामचन्द्र ओझाले गरे भने रुप बहादुर कुमालले स्वागत गरेका थिए । योसँगै रुपाका सबै वडामा स्वास्थ्यको पहुँच पुगेको पालिकाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width