घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी

प्रकाश ढकाल
फागुन २३, २०७७
Gandaki Cabinet building

पोखरा । घुम्दा पनि तलब ? त्यसमाथि छुट्टी पनि । गण्डकी प्रदेशले कर्मचारीलाई ‘रिफ्रेस’ गराउन तलब सहितको छुट्टी दिन्छ । गण्डकीलाई पर्यटनको हब बनाउने नीति लिएको प्रदेश सरकारका कर्मचारी वर्षको १ पटक १५ दिनसम्म घुम्ने छुट्टी पाउँछन् र महिनाभरिको तलब । यसको लागि कार्यविधि नै तयार गरिएको छ । ५ देखि १५ दिनसम्म पर्यटन बिदा दिने कार्यविधिमा उल्लेख छ । कर्मचारीको तह अनुसार तलब स्केल अनुसार १ महिनाको तलब उनीहरुले पाउँछन् । गएको आर्थिक वर्षमा प्रदेश सरकार र मातहत कार्यालयमा कार्यरत १ सय ६१ कर्मचारीले पूरा सुविधा लिएर घम्न निस्किए । सबैभन्दा धेरै मुख्यमन्त्री कार्यालयका ४०, सामाजिक विकास मन्त्रालयका ९, प्रदेश लेखा नियन्त्रक कार्यालयका ९, आर्थिक मामिला तथा योजना मन्त्रालयका १५, मुख्य न्यायाधिवक्ताको कार्यालयका ४, भौतिक पूर्वाधार विकास मन्त्रालयका १५ जनाले प्रदेशभित्रको भ्रमण गरेको तथ्यांक छ ।

यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका १९, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका १५, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका १७, प्रदेश सभा सचिवालयका १० र प्रदेश नीति तथा योजना आयोगका ३ जनाले अघिल्लो वर्ष विभिन्न होमस्टेमा गएर पैसा खर्च गरे । ‘प्रदेशभित्रका कम्तीमा २ होमस्टे गाउँमा जानुपर्छ । त्यो भन्दा पहिले काज बिदा स्वीकृत गराउनुपर्छ,’ मुख्यमन्त्री कार्यालयका प्रवक्ता झलकराम सुवेदीले भने, ‘कार्यालयबाट बिदा स्वीकृत भएपछि मात्रै तलब खातामा जान्छ ।’

प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बिदा पर्यटनको नीति बनाए पनि कर्मचारीको घुमाइले पर्यटनको प्रभावकारी उत्थान हुन भने सकेको छैन

अधिकांश कर्मचारीहरु नवलपुर पुगेका छन् । प्रदेशका विभिन्न ७३ वटा होमस्टेमा उनीहरुले रात बिताए । ‘पहिले नै विकास भैसकेको एउटा होमस्टे र अर्को भर्खरै खुलेको र नचिनिएको होमस्टे जानुपर्ने प्रावधान छ,’ सुवेदीले भने, ‘त्यो पूरा गरेको आधारमा पैसा उपलब्ध गराइन्छ ।’ गण्डकी प्रदेश सरकारले यहाँका ३ सय वटा गाउँमा होमस्टे प्रवद्र्धन गर्ने घोषणा गरेको थियो । ३ सय ८ वटा होमस्टे प्रवद्र्धन भइसकेको सरकारले जनाएको छ । आव २०७४÷०७५ मा २ सय ७४ वटामा पूर्वाधार निर्माण गरिएको र चालू वर्षमा थप १ सय ३३ वटा प्रवद्र्धन भैसकेको पर्यटन मन्त्रालयले जनाएको छ । सामुदायिक भवन, पैदलमार्ग, स्वागतद्वार, भ्यु टावर र सार्वजनिक शौचालय लगायत पूर्वाधार तयार गरिएको हो । प्रत्येक होमस्टेले सुरुमा अवस्था हेरि १० देखि १५ लाखसम्म अनुदान पाए । अहिले पुनः अनुदान दिन सूचना निकालिएको छ ।

यस आवका लागि घुम्न १ सय ७३ जनाले आवेदन दिएको जनाइएको छ । जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नीति तथा योजना आयोग, लोक सेवा आयोग, प्रदेशसभा सचिवालयका गरी ३७, आर्थिक मामिला तथा योजना मन्त्रालयका २०, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका १८, भौतिक पूर्वाधारका १०, सामाजिक विकास मन्त्रालयका २०, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका ३४, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका २८ र प्रदेश प्रमुखको कार्यालयका ६ जनाले आवेदन दिएका छन् ।

घुमेरै सकियो ६० लाख
गत आवमा बिदा पर्यटन शीर्षकमा ५९ लाख ३७ हजार ४ सय ३० रुपैयाँ निकासा गएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । बिदा पर्यटनको कार्यविधिले कर्मचारी बीचमै विभेद सिर्जना गरेको एक कर्मचारीले बताए । ‘सँगै एउटै गाडीमा जान्छौं । एउटै खानेकुरा खान्छौं । उस्तै कोठामा सुतेर फर्किन्छौं,’ ती कर्मचारी भन्छन्, ‘अनि कसैलाई ५० हजार, कसैलाई २० हजार दिँदा विभेद भएन त ?’ यसरी घुम्न जाँदा माथिल्लो तहका कर्मचारीले सरकारी सम्पत्ति दुरुपयोग गरेका उनी बताउँछन् । ‘पूरा सुविधा चाहिँ लिए । तर खर्च भएको छैन,’ एक कर्मचारीले भने, ‘आफ्नै कार्यालयको गाडी चढेर जाने, होमस्टेमा भारी छुट माग्ने ? त्यसमाथि समूहमा जाँदा यसै पनि सस्तो भइहाल्छ ।’ कसैले भने बिल मिलाएर घरमै बसेर सुविधा लिएको उनको गुनासो छ । प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बिदा पर्यटनको नीति बनाए पनि कर्मचारीको घुमाइले पर्यटनको प्रभावकारी उत्थान हुन भने सकेको छैन ।

केही घुमुवा कर्मचारीले सम्बन्धित पर्यटकीय क्षेत्रको कमजोरी समेत सरकारलाई बुझाएका छन् । यातायातको सहज पहुँच नभएको, स्थानीय उत्पादन चाख्न नपाएको, युवापुस्ता नहुँदा वृद्धवृद्धाले होमस्टे सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्थाले पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकास गर्न नसकिने सुझाव उनीहरुको छ । ‘एक पटक गएको ठाउँमा फेरि फर्केर जाउँजाउँ लाग्दैन । कतै त पानी बिजुलीकै समस्या छ,’ उनीहरु भन्छन्, ‘न मिठो खान पाइन्छ, न सरसफाइ छ ।’ होमस्टे सञ्चालकको क्षमता विकास गर्नुपर्ने आवश्यकता भ्रमण टोलीले औंल्याएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width