सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता

श्रीभद्र पौडेल
फागुन २३, २०७७
sahid

हेमजा । जनयुद्ध ताका डोटीका मनोज धामीका बुवाको निधन भयो । असाध्यै माया मान्ने घरमूलीको निधनसँगै परिवार नै विक्षिप्त भयो । समय बित्दै जाँदा धामी परिवारले पीडा भुल्ने कोशिस ग¥यो तर सकेन ।

यसैक्रममा मनोज डोटीस्थित सहिद स्मृति विद्यालय पढ्न थाले । २०७६ मा एसइई दिएसँगै उनलाई कक्षा ११ मा विज्ञान विषय पढ्ने तीव्र इच्छा जाग्यो । यद्यपि उनको त्यो इच्छा उक्त विद्यालयबाट पूरा हुन सक्ने अवस्था थिएन । त्यसैले अध्ययनका लागि यसै वर्षदेखि पोखरास्थित सहिद स्मृति आवासिय माविमा भर्ना भए ।

हाम्रा आमाबुवाले राष्ट्र निर्माणका लागि भन्दै आहूति दिनुुभयो, राज्यमा परिवर्तन पनि आयो, तर हाम्रो शिक्षामा राज्य अझै पनि अनुदार बनेको छ

उनको पढाइ राम्रो छ । कक्षा ११ सँगै १२ पनि राम्रो ग्रेड ल्याई उत्तीर्ण हुने धामीको सोच छ । योसँगै उनलाई कहिलेकाहीँ एउटा गहिरो चिन्ताले पनि छुन थालेको छ । माध्यमिक तह उत्तीर्ण भएसँगै आफ्नो अध्ययन कसरी अगाडि बढाउने होला ? भन्ने छट्पटि समेत हुन थालेको छ ।

कक्षा १२ सम्म त निःशुल्क यही विद्यालय पढ्न पाइन्छ, त्यसपछि पैसाका कारण अध्ययनलाई निरन्तरता दिन नसकिने पो हो कि ? भन्ने उनलाई लागेको छ ।
सोही विद्यालयको कक्षा ९ पढ्ने चरित्रा भण्डारीको चिन्ता पनि धामीको सँगै मिल्दो छ । युद्घको क्रममा बुबा गुमाउँदाको पीडा त एकातिर छ नै अर्कोतिर कक्षा १२ पछि आफ्नो भविष्यबारे कसले सोचिदेला भन्ने यतिबेला उनलाई खड्किएको छ ।

धामी र भण्डारी प्रतिनिधि पात्र हुन् । उनीहरु जस्तै सोही विद्यालयमा विभिन्न जिल्लाका २ सय ५० सहिद, बेपत्ता, घाइते परिवारका विद्यार्थी अध्ययनरत छन् । उनीहरुले तत्कालीन जनयुद्घमा शाहदत प्राप्त सहिदका छोराछोरीको उच्च शिक्षा अध्ययनमा अन्योलता रहेको भन्दै त्यसमा सहजीकरण गर्न माग गरेका छन् ।

सहिद सप्ताह अवसर पारी विद्यालयले आयोजना गरेको एक कार्यक्रमबीच उनीहरुले त्यस्तो माग गरेका हुन् ।
‘हाम्रा आमाबुवाले राष्ट्र निर्माणका लागि भन्दै आहूति दिनुुभयो, राज्यमा परिवर्तन पनि आयो, तर हाम्रो शिक्षामा राज्य अझै पनि अनुदार बनेको छ,’ उनीहरुको माग छ ।

कक्षा १२ अध्ययनपछि आफूलाई पठनपाठनमा समस्या रहेको विद्यार्थीले सुनाए । छात्रवृत्ति पाउने सम्भावना नै छैन, हामीसँग पैसा छैन, परिवार गुमाइसक्यौँ, अब हाम्रो भविष्य कसले हेरिदिन्छ कक्षा ९ की चरित्रा भण्डारीले दुखेसो पोखिन् । अझै पनि राज्यको मूलप्रवाहले सहिद, बेपत्ता, घाइते परिवारलाई उचित सम्मान गर्न नसकेको विद्यार्थीको गुनासो छ ।

प्रअ मोना गिरीले सहिद परिवारका छोराछोरीको उच्च शिक्षा अध्ययनमा राज्य गम्भीर बन्नुपर्ने औँल्याइन्। उनले अहिले पनि आवासीय खानपिन, पौष्टिक आहार, पाठ्यपुस्तक र पोशाकमा पनि विद्यार्थीलाई समस्या भइरहेको अनुभव राखिन् । २०७४ यता राज्यद्वारा प्रदान गरिने अनुदान रकम नबढ्दा विद्यालय सञ्चालन समस्या भइरहेको उनको भनाइ छ ।

विद्यालयमा स्थानीयका १ सय, विभिन्न जिल्लाका सहिद, बेपत्ता, घाइते, अपाङ, भूकम्प प्रभावित परिवारका छोराछोरी समेत गरी २ सय ५० जना अध्ययनरत छन् ।

त्यस्तै, दोलखा, सुनसरी, दाङ र डोटीमा पनि सोही प्रकृतिका विद्यालय सञ्चालित छन् । तत्कालीन माओवादी जनयुद्घका प्रथम सहिद गोरखा निवासी दिलबहादुर रम्तेल तथा झापा विद्रोहमा (सुखानीको जंगल) शाहदत प्राप्त रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको स्मृतिमा हरेक वर्ष फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाइँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width