खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन

धनबहादुर गुरुङ
फागुन २२, २०७७
Marathan Photo 1

पोखरा । देश द्वन्द्वको चपेटामा थियो । २०५८ वैशाख १ गतेको कुरो हो । खेल जीवनबाट ‘रिटायर्ड लाइफ’ बिताउने क्रममा जापान पुगेका तेजबहादुर गुरुङ र खड्गबहादुर रानाभाट नेपाल आएका थिए । उतिबेला आफ्ना खेल जीवनमा सँगसँगै जिल्ला, अञ्चल र नेपालबाट विभिन्न खेलमा प्रतिनिधित्व जनाउने साथीहरुसँग भेट्ने योजनाले जमघट भएका थिए, गुरुङ र रानाभाटसँगै अरु ८ जना । उनीहरु पोखरा लेकसाइडको बुम¥याङ रेस्टुरेन्टमा चिया खाने मेसोले भेट भएका थिए । कुनै विषयमा छलफलको गर्ने योजना नभई भएको त्यो भेट भूपू खेलाडी मञ्च गठन गर्ने टुंगोमा पुग्यो ।

उनीहरुको त्यही भेटले ह्यान्डबलका खेलाडी तेजबहादुर गुरुङलाई तदर्थ समिति बनाउन लागि संयोजक तोक्यो । त्यसैको १ हप्तापछि तदर्थ समिति गठन भयो । २०५८ वैशाख ८ गते खड्गबहादुर रानाभाटको अध्यक्षतामा गठन भएको तदर्थ समितिको उपाध्यक्षमा शिवशंकर रञ्जित र गणेश भट्टराई र सचिवमा तेजबहादुर गुरुङसहित १९ जनाको समिति चुनियो । अनि फाट्टफुट्ट कार्यक्रम गर्न सुरु भयो । २०५८ साउन ३० गते जिल्ला प्रशासन कार्यालयमा विधिवत रुपमा संस्था दर्ता गरियो । त्यसपछि साधारणसभा गरी तदर्थ समितिलाई नै वैधानिकता दिइयो । द्वन्द्वको चपेटा एकातिर अर्कोतिर खेल प्रतिको मायाले भूपू खेलाडीहरुलाई पिरोलिरहन्थ्यो । संस्था दर्ता गरेपछि केही ठूलो कार्यक्रम गर्नुपर्छ भन्ने उनीहरुको मन थियो नै । उनीहरु फुटकर कार्यक्रम त गरिरहेकै थिए । द्वन्द्वका कारण पनि ठूला प्रतियोगिता आट्न सकिरहेका थिएनन् । प्रजातन्त्र दिवस नजिकिँदै थियो । २०५८ फागुन ७ का दिन एउटा गतिलो कार्यक्रम गर्ने उपयुक्त समय ठान्यो र बैठक बस्यो, बैठकले निर्णय गर्‍याे पोखरा म्याराथन गर्ने ।

सुरुका दिनमा रकमकै कारण प्रतियोगिता गर्न समस्या परे पनि अहिले ३ तहका सरकार, विदेशी संघ संस्था, खेलकुदप्रेमीको सहयोगले थप हौसला पलाएको छ
तेजबहादुर गुरुङ
अध्यक्ष
भूपू खेलाडी मञ्च

त्यसपछि सुरु भयो पोखरा म्याराथनको महासंग्राम । प्रथम संस्करणको म्याराथनमा ५६ जनाले भाग लिए । त्यो बेला त्रिभुवन आर्मी क्लबका खिमु गिरीले ४२.१९५ किमीको दुरी २ घन्टा २६ मिनेट ४२ सेकेन्डमा पार गर्दै प्रथम भए । उनले ५० हजार प्राप्त गरे । उनले पुरस्कार स्वरुप पाएको मूल्यको कुनै महत्व रहेन होला तर उपाधि पोखरा म्याराथनको इतिहास बन्ने निश्चित थियो । खिमुले पार गरेको त्यो दुरीले नै पोखरा म्याराथन दुरी अझै लम्ब्यायो ।

भूपू खेलाडी मञ्चले आयोजना गरेको पहिलो म्याराथनमै अनेकन चुनौती सामाना गर्नुपर्‍याे  । एक त ४२ किलोमिटरको दौडसँगै बजार परिक्रमा गर्नु आफैमा चुनौतीपूर्ण काम थियो । उ बेला लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिकालाई जोड्नेगरी रुट बनाइएको थियो । पोखराबाट सुरु भएको दौड लेखनाथ पुग्दा केही झमेलामा प¥यो । यत्रा मान्छे बजारमा उतारेर के गर्न खोजेको होला भन्ने स्थानीयको नमिठो भनाइ, सुरक्षा, ट्राफिक चुनौती लगायत समस्या चिर्र्दै पहिलो संस्करण सकियो । त्यसैमा आर्थिक समस्या त झनै ठूलो बोझ बनेको थियो । धेरैको सहयोग तर कमको बेवास्ताका कारण दोस्रो संस्करण पनि गर्नुपर्छ भन्ने हौसला जाग्यो भूपू खेलाडी मञ्चलाई ।

दोस्रो संस्करण पनि सोही समयमा गरियो, त्यो संस्करणमा पनि आर्मीका अर्जुनकुमार बस्नेत विजयी भए । उनले निर्धारित दुरी २ घन्टा २५ मिनेट २८ सेकेन्डमा पार गरे । दोस्रोमा १ सय ५० जनाले भाग लिए । त्यो बेलासम्म पनि आफू आफूले पैसा उठाएर प्रतियोगिता गर्दै आएको थियो । चौंथो संस्करणसम्म पुग्दा विभिन्न संघसंस्था भूपू खेलाडी मञ्चसँग जोडिन आए । त्यसपछि झनै बल पुग्यो प्रतियोगिताको निरन्तरताका लागि ।

पहिलाे पाेखरा म्याराथनका विजेता

केही वर्ष राष्ट्रिय वाणिज्य बैंकको टाइटलमा नै म्याराथन भयो । नवौं पोखरा म्याराथनमा एआरएन जोडियो र एआरएन पोखरा म्याराथनकै नामबाट प्रतियोगिता भयो । योबीचमा म्याराथनलाई आकर्षक बनाउन उमेर समूहका र पत्रकारलाई पनि दौडायो । आठौं संस्करणबाट भने १० किलोमिटर र ५ किलोमिटरको दौड पनि समावेश गरियो । नवौंबाट ‘रन फर फन’ को नामबाट धेरैलाई सहभागी पनि गरियो ।

नवौं गरेपछि एआरएनले पनि साथ छोड्यो । सरकारी निकायबाट पनि जनप्रतिनिधि नहुँदा अनि कर्मचारी पनि छिनछिनमा परिवर्तन भइरहने कारण आर्थिक सहयोग आउनुपर्ने ठाँउबाट पनि रकम प्राप्त गर्न समस्या भयो । संस्थालाई आर्थिक संकट पर्दै जान थाल्यो । द्वन्द्व र जनआन्दोलका बिचमा पनि नरोकिएको पोखरा म्याराथन २०६७ पछि भने ब्रेक लाग्यो । त्यो बीचमा पनि मञ्चले केही न केही खेल गतिविधि गरिनै रह्यो ।

ब्रेक लागेको अवस्थामा मञ्चले लक्ष्मी ग्रुपको सफल दूधलाई प्रायोजकको रुपमा भेट्टायो । २०६७ सालदेखि ब्रेक लागेको म्याराथन २०७२ देखि सफल पोखराको नामबाट फेरि सुरु हुने भयो । २०७२ बाट सुरु भएको पोखरा म्याराथनमा १५ औंसम्म आइपुग्दा सफल दूधकै प्रायोजन गरिरहेको संस्थाका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । भूपू खेलाडी मञ्चले १२ औं संस्करणबाट अपांगहरुका लागि पनि भनेर दृष्टिविहीन र ह्विल चियर दौड पनि समावेश गरेको उनको भनाइ छ । म्याराथन खुला भएको कारण विदेशी धावकहरुको पनि सहभागिता रहेको उनी बताउँछन् । १४ औं संस्करणमा विदेशी धावकले उपाधि जितेपछि म्याराथनको चर्चा झनै चुलियो । त्यो संस्करणमा जापानका ताकानासीले उपाधि हात पारेका थिए । १५ औं सफल पोखरा म्याराथनबाट महिलाहरुका लागि मात्र २१ किलोमिटरको हाफ म्याराथन पनि समावेश गरिएको हो ।

आर्थिक अवस्था कमजोर भए पनि समयको मागसँगै पुरस्कार राशि वृद्धि गर्दै गएको अध्यक्ष गुरुङले जानकारी दिए । ‘पहिलो संस्करणमा ५० हजार पुरस्कार राखेका थियौं,’ उनले भने, ‘समय अनुसार बढाउँदै ७० हजार, १ लाख हुँदै अहिले २ लाख पु¥याएका छौं ।’ पहिले लेखनाथतिर पनि रुट पारिने गरेकोमा पोखरा महानगर भइसकेपछि अहिले पोखरामा मात्र रुट बनाइएको छ ।

सुरुका दिनमा रकमकै कारण प्रतियोगिता गर्न समस्या परे पनि अहिले ३ तहका सरकार, विदेशी संघ संस्था, खेलकुदप्रेमीको सहयोगले थप हौसला पलाएको गुरुङ बताउँछन् । पछिल्लो समय स्थानीयको पनि रामै्र साथ र समर्थन छ । दौडमा पोखराका विभिन्न टोलमा जातीय भेषभूषासहित सांस्कृतिक झाँकीले धावकहरुलाई अझ हौसला थपिएको गुरुङ बताउँछन् । ‘पहिला सरकारी कार्यालयबाट सहयोग आउनै समस्या थियो,’ उनले भने, ‘गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख संरक्षक र पोखरा महानगरका मेयर मानबहादुर जिसी संरक्षक बनिदिनुभएको छ ।’ अहिले भने सुरक्षा र ट्राफिक व्यवस्थापनको समस्या टड्कारो छ ।

अब भूपू खेलाडी मञ्चको एउटै लक्ष्य छ, सन् २०२४ सम्म पोखरा म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्ने । त्यसका लागि मञ्चले तयारी पनि थालेको छ । आगामी दिनमा पुरस्कार राशि बढाएर २० देखि २५ हजार डलर बनाउने पनि मञ्चको योजना छ । ‘हिमाललाई हेर्दै तालको किनार किनार पुल तर्दै मन्दिर, मस्जिद, गुम्बाको छेउछाउमा दौडन बिरलै पाइन्छ,’ उनी भन्छन्, ‘यस्तो चिजलाई प्रमोट गर्नुपर्छ, यसका लागि नेपाल पर्यटन बोर्डसँग पनि कुरा गरिरहेका छौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width