मोतिपुर करिडोर काण्ड: अर्थमन्त्री र उद्योगमन्त्रीको भागाभाग

आदर्श समाज सम्वाददाता
फागुन २१, २०७७
motipur~btl

बुटवल । स्थानीयको विरोधबीच मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेपछि तनाव उत्पन्न भएको छ । स्थानीयले तुरुन्तै शिलान्यास स्तम्भ भत्काए भने अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखनाथ भट्टलाई बोल्न समेत नदिई ढुंगामुढा गर्दै लखेटेका छन् ।

लामो समयदेखि बसोबास गर्दै आएको स्थानमा औद्योगिक क्षेत्र बनाउन लगाएर आफूहरुको उठिबास लगाउने काम भएको भन्दै स्थानीयले आन्दोलन गर्दै आएका छन् ।

उनीहरुको विरोध र नाराबाजीका कडा सुरक्षा घेरामा मोतिपुरमा अर्थमन्त्री पौडेल र उद्योगमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए । शिलान्यास लगत्तै मञ्चमा पुगेर सम्बोधन गर्न लागेका अर्थमन्त्री पौडेल विरुद्ध नाराबाजी र ढुंगामुढा भएको थियो ।

बोल्दा–बोल्दै अर्थमन्त्री पौडेल सहितको टोली सुरक्षाका लागि त्यहाँबाट हिडेको थियो । उनीहरु हिडेलगत्तै कार्यक्रम स्थलमा पुगेका आन्दोलनकारीले मञ्च तोडफोड गर्नुका साथै शिलास्तम्भ भत्काएका थिए । उनीहरुले औद्योगिक क्षेत्रको नक्सा जलाएका थिए ।

बाक्लो सुरक्षाकर्मीको घेराउ बीच शिलान्यास र समारोह भइरहेको थियो । विरोध बीच पनि कार्यक्रम सुरु भएपछि प्रदर्शनकारीले वरिवरि आगो लगाएका थिए । जसका कारण त्यहाँ पाकिङ गरिराखेका गाडी हटाउन भागदौड भएको थियो । लगातार ढुंगामुढा भए पनि कार्यक्रम नरोकिएपछि उनीहरुले अर्थमन्त्री लक्षित गरी ढुंगा हानेपछि कार्यक्रम रोकिएको थियो ।

प्रहरी र आन्दोलनकारी बीच झडपमा दुवै पक्षका गरी ६ जना भन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रितम राठोरले ढुंगा लागेर केही सुरक्षाकर्मी घाइते भएको बताए ।

उता, प्रदर्शनकारीका अगुवा बावुराम घिमिरेका अनुसार ५ जना आफ्ना साथीहरु घाइते भएको बताए । उनका अनुसार २ जनालाई चोट लागेको छ । २ केहीबेर बेहोस भएका थिए । एक जनालाई प्रहरीले नियत्रणमा लिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width