झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण

आदर्श समाज सम्वाददाता
फागुन २१, २०७७
pkrau

म्याग्दी  । झुठो विवरण पेस गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएका धवलागिरी–३ का वडाध्यक्ष पुर्म पुन र सचिव शिलु आलेमगरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनीहरुले बुधबार आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

अर्कैको सन्तान आफ्नी छोरी भनी जन्मदर्ता गरेकी सचिव आले र सिफारिस गरेका वडाध्यक्ष पुनविरुद्ध प्रहरीले यसअघि पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरुविरुद्ध जिल्ला अदालतबाट अनुसन्धानका लागि बिहीबार ५ दिन म्याद थप गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।

नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरी गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई प्रहरीलाई गत फागुन ९ मै पक्राउ गरेको थियो । दीपक भण्डारीकी १५ वर्षीया छोरी दिवालाई आफ्नो छोरी भएको दाबी गर्दै नाबालक परिचयपत्र बनाउन रेशमबहादुरले प्रशासनमा पेस गरेको जन्मदर्तामा सचिव आले र सिफारिसमा अध्यक्ष पुनको हस्ताक्षर थियो । नावालक परिचयपत्र बनाउन फागुन ८ मा प्रशासनमा कागजात पेस भएकोमा ती कागजात शंकास्पद पाएपछि अनुसन्धानका लागि प्रशासनले प्रहरीसमक्ष पठाएको थियो ।

झुठा ठहरिएपछि पक्राउ परेका भण्डारीसँग बयानका क्रममा वडाध्यक्ष र सचिव समेत तानिएका हुन् ।

प्रहरीका अनुसार बयानमा रेशमबहादुरले दिवालाई जापान पठाउन नाबालक परिचयपत्र बनाउन लागेको स्वीकारेका छन् । १६ वर्षभन्दा कम उमेरका व्यक्ति विदेश जानु परे नावालक परिचयपत्र आवश्यक पर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width