गण्डकीमा खोप भण्डारगृह शिलान्यास

आदर्श समाज सम्वाददाता
फागुन २१, २०७७
Bhandar Griha Photo 3

पोखरा। पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारगृह शुक्रबार शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खोप भण्डारगृहको शिलान्यास गरे ।

संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीको ७५ लाख ३ हजार रुपैयाँ लगतमा पोखरा–१२ रामघाटस्थित गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रको परिसरमा भण्डारगृह बन्ने प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।

न्यू केपी कन्स्ट्रक्सन काठमाडौंले निर्माण गर्ने भवन आगामी २०७८ वैशाख १७ भित्र सक्ने गरी काम भएको हो । भण्डारगृह निर्माण भएपछि २ देखि ८ सेन्टिग्रेट तापक्रममा ४० लाख जनसंख्यालाई पुग्ने खोप व्यवस्थितरुपमा भण्डारण गर्न सकिने जनाइएको छ ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले प्रदेशका ११ जिल्ला अस्पताल र एउटा प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताललार्ई सुरुआतदेखि नै सुदृढीकरणका काम गरेको जानकारी दिए । अस्पताल पूर्वाधार, जनशक्ति, स्वास्थ्य उपकरण सुविधासम्पन्न बनाइएको उल्लेख गरे । कोरोना महामारीपछि स्वास्थ्य संरचना, उपकरण तथा जनशक्ति व्यवस्थापनमा राज्यले ठूलो लगानी गरेको बताए । देशका ३ सय ९६ स्थानीय तहमा एकैपटक अस्पताल भवन शिलान्यास गरिनु स्वास्थ्य क्षेत्रमा राज्यले गरेको ऐतिहासिक कार्य रहेको चर्चा गरे ।

मुख्यमन्त्री गुरुङले पार्टीभित्र विवाद सिर्जना भएर अस्थिरता सुरु भएको बताए । संसद् विघटन गरेर निर्वाचनका लागि गरेको सिफारिस सर्वोच्च अदालतले उल्टाइ दिएपछि संसदभित्र सांसद खरिद बिक्री सुरु हुन सक्ने समेत उनले बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री गुरुङले भावनात्मकरुपमा फुटेको पार्टीलाई जुटाउन सकिन्छ कि भनेर आफूहरूले विकल्प खोजी गरिरहेको बताए ।

सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले संघीय सरकारले ५० शैयाको अस्पताल बनाउन बजेट उपलब्ध गराएको जनाउँदै प्रदेश सरकारले त्यसमा थप लगानी गरेर १ सय शैयाको बनाउने योजना अघि बढाएको बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width