घरबेटीकी छोरी

सुरेश बडाल
फागुन २२, २०७७
Suresh Badal C

बिजुलीभन्दा तेज गतिमा निकाली डंगुरबाट सानो लुगाको टुक्रा । अनि खितिति हाँस्दै निस्किई मेरो कोठाबाट । ऊ गई मेरो मनमा कुतूहल छाडेर । कोठाभरि शून्यता छाडेर ।

‘दाइ, तपाईंलाई अघि भर्खर घरबेटीको छोरीले खोजिरा’थी,’ पल्लो कोठाको भाइले भन्यो । बिहान धोएका लुगाहरु उठाएर यसो हावा खान निस्केको थिएँ, एकछिन अघि । अहिले कोठामा आउँदाआउँदै भाइले कस्तो रमाइलो कुरा सुनायो । मलाई घरबेटीको छोरीले खोजिरा’थी रे ! मन त यसै फुरूंग पो भयो ।
‘अघि तपाईंको कोठाको ढोकामा पर्दा सारेर तीनचार चोटि आउँदै हेर्दै थिई । मुसुमुसु हाँस्दै आएकी मान्छे ढोकामा ताल्चा झुन्डिएको देखेर निराश हुँदै भर्‍याङ उक्लिँदै थिई,’ भाइले सविस्तार बतायो । अब भने मेरो मन हावामै उड्यो । बिहानभरि त्यति डंगुर लुगा धोएको थकाइ पनि कुलेलम ठोक्यो । मलाई त छमछमी नाच्न पो मन लाग्यो ।
सोचें, आखिर के भन्न आई होला त ? किन आई होला तीनतीन चोटि ? अझ मुसुमुसु हाँस्दै आएकी रे । मलाई नदेखेर अनुहार अँध्यारो पारेर गएकी रे । के खेल्यो होला उसको मनमा ? के गरें र मैले उसलाई यसरी मलाई बेचैनीसँग खोज्नुपर्ने गरी ?
आज बिहान उक्लेको थिएँ छतमा, धोएको लुगाको बाल्टिन बोकेर । म डोरीभरि लुगा सुकाउँदै गर्दा ऊ पनि आफ्नो भर्खर नुहाएको कपाल सुकाउँदै थिई ।
‘खोल तन्नाको पालो बल्ल आज आएछ हैन, बाबु ?’ घरबेटी आमैले तरकारी केलाउँदै सोधेकी थिइन् ।
‘हजुर,’ खिसिक्क हाँसेर मैले छोरीचाहिँको अनुहार नियालेको थिएँ । ऊ पनि मुसुक्क हाँसेकी थिई । कति सुन्दर देखिएकी थिई मोरी । भर्खर नुहाएको फ्रेस थियो अनुहार । लाग्थ्यो, झरनामै खेलेर आएकी हो । केही पाइलाको दूरीमा थिएँ म । लाग्थ्यो, उसको मनमै टाँसिएको छु । आएको थियो, स्याम्पुको बास्ना मनमै गढ्ने गरी । चलेको थियो, कन्डिस्नरको बास्ना होसै उडाउने गरी ।
आखिर जादू त उसले गरेकी थिई मलाई । मोहनी त उसले लगाएकी थिई । तर किन होला मोरी मलाई खोज्दै आएकी ? के टुना गरें होला र मैले ? बिहान यसो नजर चोरेर हेर्दैमा साँझमै यति बेचैनी बढ्नुपर्ने ? मेरो पनि कस्तो दुर्भाग्य होला, ऊ आउने बेला पारेरै निस्किनुपरेको ।
पहिलो चोटि कोठा सरेर आएकै दिन देखेको थिएँ, उसलाई । मैले सामान सारिरहँदा कौसीबाट हेरिरहेकी थिई । दराज बोक्दै थिएँ म ड्राइभरसँग मिलेर । तर आँखा उसैमा अल्झिएको थियो । टेबल उचाल्दै गर्दा पनि मेरा आँखा उसैलाई नियाल्दै थिए । ऊ ओठ थोरै तन्काएर मुसुक्क हाँसेकी थिई । अनि मेरा आँखाबाट आफ्ना आँखा अलग्ग राखेकी थिई । सायद लजाएकी थिई ।
कोठा सरेकै दिनको साँझ दोस्रो चोटि देखेको थिएँ उसलाई । घरबेटी आमैले यसो पर्दा सारेर ‘सामान त टन्न मिलेछ, अट्दैन जस्तो लागे पनि ठिक्क अटेछ’ भनेकी थिइन् । मैले पनि बोराहरु बोराभित्रै कोच्दै आमैलाई हेरेर ‘हजुर हजुर’ भनेको थिएँ । खिस्सखिस्स सस्तो हाँसो हाँसेको थिएँ । त्यही बेला टाठा जस्ता एकजोर आँखा बूढीआमैको कुमछेउमा देखेको थिएँ ।
‘वाइफाईको पासवर्ड दिनू है, आन्टी । पैसा बरू बाँडेर तिरौंला’ भनेको थिएँ मैले ।
‘भैहाल्छ नि’ भन्दै बूढीआमैले मुठ्ठीबाट पर्दा छाडिदिएकी थिइन् । ढोकाबाट ओझेल परेकी थिइन् । एकछिनमा ‘बाबु, यी पासवर्ड’ भनेर बूढीआमैले पासवर्ड लेखिएको कागज दिएकी थिइन् । कागज चपक्क समाएको थिएँ । म गमक्क परेर रमाएको थिएँ । बाँच्नलाई अक्सिजनको जति जरूरत छ, वाइफाईको उति नै जरूरत छ । पानीको जति जरूरत छ, इन्टरनेटको उति नै जरूरत छ ।
‘कति लामो पासवर्ड,’ मैले हाँस्दै भनेको थिएँ । ढोकाबाहिर पनि कोही खितिति हाँसेको थियो । त्यो हाँसोको स्वर मीठो थियो ।
‘नानीले राखेकी’ भनेकी थिइन् बूढीआमैले ।
१४ ओटा अक्षर र अंकको बीचमा एउटा सुन्दर नाम लुकेको थियो । त्यो नानीकै नाम थियो । मानौं, त्यो कुनै फूलको नाम थियो । कुनै चकलेटको नाम थियो । कुनै क्युट खालको टेडीको नाम थियो । कुनै रङ्गीन चराको नाम थियो । त्यो असाध्यै मीठो नाम थियो । गुलियो नाम थियो । सोचहरुमा भुलाउने नाम थियो ।
म बेलाबेलामा भुलिदिन्थें पासवर्ड । टाइप गर्थें कागज हेरीहेरी दिनका दिन । मन थियो त्यही नाम लेखिरहने मोबाइलको सेटिङमा । अझै मन थियो लेखिरहने त्यो नाम मुटुभित्रको सेटिङमा । यसरी मुटुमा बसेकी मान्छे मलाई खोज्दैखोज्दै तीनतीन चोटि आई रे अघि कोठामा । मलाई त उल्कामाथि अचम्मले गाँजेको थियो ।
आखिर किन आई होला त ऊ ? केही बिराम गरें कि मैले ? होइन होइन । भाइ भन्थ्यो, ऊ त मुस्कुराउँदै आएकी थिई रे । अघि तीन चोटि आएकी मान्छे अहिले किन एकफेर पनि नआएकी होली ? म ढोकामै घुमिरहें एकछिन । भ¥याङतिर हेरिरहें एकछिन, मेरो उडेको होस हत्केलामा लिएर ऊ ओर्लिन्छे कि भनेर, हराइसकेको चैन खल्तीमा राखेर ऊ ओर्लिन्छे कि भनेर । आँखा भर्‍याङका पाइटाहरुमा राखेर बसें निकैबेर, मेरो भोकसुर्ता कुर्ताका चोरखल्तीमा राखेर ऊ झुल्किन्छे कि भनेर । तर ऊ आइन । बरू म कोठामा आएँ भनेर बताउन माथिल्लो तलातिर हेरेर निकै बेर खोकें । तर माथिल्लो तल्लाबाट केही खबर आएन ।
ढोका खोलें । पल्टिएँ खाटमा । बिहानका भाँडाहरु उसै थिए । माझ्न मन लागेन । अघि उठाएर ल्याएको लुगाको डङ्गुर उसै थियो ।
मिलाउन मन लागेन । अघि आएका यादहरु उसै थिए स्मृतिमा । बिर्सन मन लागेन । ऊसँग मेरो तेस्रो, चौथो, पाँचौं भेटहरुको अब यहाँ लेखाजोखा जरूरी छैन । उसकै घरमा बसेपछि नजर लुकाइलुकाई कैयौं पटक देखेको हुँ । तर यहाँ एउटा नजिकबाट देखेको किस्सा छ ।
सुन्धारामा गाडी कुर्दै थिएँ म । नजिकबाट कोही घुर्दै थियो मलाई । त्यो आँखा मुन्तिरको मुखमा मास्क लगाइएको थियो । त्यो आँखा मास्तिरको कपाल छोप्ने गरी टोपी लगाइएको थियो । त्यो जाडोयाम थियो । त्यो आँखा भएको मान्छेको गन्तव्य पनि सायद मेरै ठाउँ थियो । तर केही बोलिन ऊ । न त बोलाएँ मैले नै । हामी एउटै घरमा बसे पनि हामीबीच दूरी थियो । एउटै छतमुनि बसे पनि हामीबीच पर्खाल थियो । मूल ढोका एउटै भए पनि हाम्रा बाटा अलग थिए । तर मलाई आशा थियो, जसरी एउटै घरमा बसेर पनि हाम्रा घर बेग्लै थिए, उसैगरी बेग्लै घरमा बसेर एक दिन एउटै घर बनाउनेछु । तर एउटै गाडी चढेर आउँदा पनि हाम्रा आँखा जुधेनन् । वाक्य फुटेनन् । मन साटिएनन् । घरमा सँगै पस्दा पनि जिब्रो फड्किएन । बरू मुटु जोडले धड्कियो ।
ढक ! ढक !
ढोका ढकढक गरेर बज्यो । मेरो मुटु धकधक गरेर बज्यो । ढोका थरर थर्थरायो । मेरो जीउ उसैगरी थर्थरायो । अत्तास्सिएर उठें । बतासिएर पुगें ढोकाछेउ । होस गुम भएर बन्द थिए आँखा, कान । तैपनि खोलें ढोका । उभिएकी थिई उही । घरबेटीकी छोरी । मुस्कान बोकेर ओठमा । लाली पोतेर गालामा । नशा भरेर आँखामा । के भनौं, के भनौं भएर वाल्ल परिरहें म । धेरै थोक भनौंला जसरी उभिरहेकी थिई ऊ ।
‘मेरो एकथोक ल्याउनुभएछ हजुरले,’ यत्ति बोल्न सकी ऊ ।
हो त । मुटु ल्याएको छु मैले । नपत्याए छामी हेरे हुन्छ छातीभित्र । माया बोकेर ल्याएको छु मैले । नपत्याए अँगाली हेरे हुन्छ मलाई । यस्तै भन्न मन थियो । तर भन्यो ओठले, ‘के ल्याएँ र ?’
फिस्स हाँसी ऊ । लाग्यो, भन्न डराएकी छ ऊ । कहाँ सक्छ र मान्छे मुटु चोरिएको कुरा बिनासङ्कोच बताउन । कहाँ सक्छे र यति सुन्दर फूलले आफ्नो सुगन्ध हराएको बताउन । र त ऊ धकाएकी थिई ।
मेरा आँखासँग जुधाएका आफ्ना एकजोर आँखा चनाखो बनाएर नियाली उसले कोठाभित्र । हेरी उसले लुगाको डंगुर । ‘म भित्र आऊँ ?’ भनी । मैले चुपचाप मुन्टो हल्लाएँ ।
पैतालाले भुइँमा टेकिएलाझैं गरेर ऊ सुस्तरी पसी, मेरो कोठामा । लाग्यो, कुनै राजकुमारी फर्केकी छ वर्षौंपछि आफ्नो राजाको खोपीमा । म दङ्ग परेर हेरिरहें उसलाई ।
उसले सुरूक्क खोतली अघि साँझ मैले उठाएर ल्याएका लुगाको डङ्गुर । अनि सुस्तरी नजर चोरेर मलाई हेरी । एकोहोरो उसैलाई हेरिराखेको मलाई देखेर धकाई एकछिन । अनि बिजुलीभन्दा तेज गतिमा निकाली डंगुरबाट सानो लुगाको टुक्रा । अनि खितिति हाँस्दै निस्किई मेरो कोठाबाट । ऊ गई मेरो मनमा कुतूहल छाडेर । कोठाभरि शून्यता छाडेर ।
एकछिनपछि झल्याँस्स भएँ, त्यो अघि उसले मुठ्ठीमा लुकाएर लगेको के बिहान उसले अर्को डोरीमा सुकाएको उसको पर्पल कलरको अन्तरवस्त्र नै थियो ?
मलाई तीन दिनसम्म लाज लागिरह्यो !

यो कथा सुरेश बडालको कथा संग्रह रहरबाट साभार गरिएको हो । यो संग्रह फाइन प्रिन्टले प्रकाशन गरेको हो ।

Related News

सम्बन्धित समाचार

  • समता काव्य सन्ध्याको ३६७ औं शृंखला

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०८०
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३६७ औं शृंखला पोखरामा…
  • फल इन लभ नै किन ?

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पाेखरा । सारा संसार प्रेमको कुरा गर्छ । प्रेम चाहन्छ । प्रेममा रमाउँछ । सबैभन्दा आनन्द प्रेममा छ । ‘म…
  • खगेन्द्रले ल्याए ‘दोष कसको ?

    आदर्श समाज सम्वाददाता माघ ९, २०७९
    पोखरा । खगेन्द्रराज घिमिरेद्वारा लिखित कथा संग्रह ‘दोष कसको ?’ को आइतबार पोखरामा विमोचन गरिएको छ । कार्यक्रममा पुस्तकमाथि टिप्पणी…
  • राक्षस

    अल्पविराम भाद्र १२, २०७८
    हिजोआज मेरो पाँच वर्षको नाति मसँग सुत्न मन पराउन थालेको छ । मेरो नाति आफ्नो आमालाई मम्मी र मलाई आमा…
  • सुरेश बडालको ‘रहर’ लोकार्पण

    आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
    काठमाडौं । लेखक सुरेश बडालको नयाँ कृति ‘रहर’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित एक विशेष समारोहमार्फत पुस्तक…

hero news full width