नवलपुरमा राष्ट्रिय परिचयपत्रका लागि अभिलेखीकरण

आदर्श समाज सम्वाददाता
फागुन २०, २०७७
rastiy parichay patra 1

नवलपुर। राष्ट्रिय परिचय पत्र अभिलेखीकरण अभियान कावासोती आइपुगेको छ । पूर्वी नवलपरासीको गैँडाकोट र देवचुली नगरपालिकामा सकेर टोली कावासोती आइपुगेको हो ।

गैँडाकोट र देवचुली नगरपालिकामा अभिलेखीकरणको काम सम्पन्न गरी टोली कावासोती नगरपालिकामा आइपुगेको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराईले जनाइन् ।

गैँडाकोटमा ४३ हजार १ सय ६९ जना मतदातामध्ये ७० प्रतिशत अर्थात ३० हजार २ सय १८ लक्ष्य रहेकामा ३६ हजार ५ सय ७४ जनाको अभिलेखीकरण भएको र देवचुली नगरपालिकामा ३२ हजार ३ सय ८ जना मतदाता रहेकोमा २७ हजार ९ सय ९६ जनाको अभिलेखीकरण भएको पूर्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए ।

अहिले कावासोतीको वडा १४, १५, १६ र १७ बाट परिचयपत्र अभिलेख राख्ने काम सुरु भएको छ । नवलपुरमा ३ महिनामा सबै स्थानीय तहमा काम सक्ने लक्ष्य लिए तापनि अनुमानितभन्दा बढी मतदाता बढ्दा समयावधि बढ्न सक्ने सम्भावना रहेको सहायक प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन भइसकेका पालिकाको छुटेकाका लागि जिल्ला प्रशासन कार्यालयमा तथ्यांक भर्न पाउने व्यवस्था गरिएको छ ।
नेपाल सरकारले डिजिटाइज नेपालको परिकल्पना अनुसार राष्ट्रिय परिचयपत्र लागु गर्ने तयारी गरेका कारण अहिले देशभर राष्ट्रिय परिचय पत्रका लागि अभिलेखीकरण चलिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width