सरकार–विप्लव सहमति : प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बाेधन गर्ने

आदर्श समाज सम्वाददाता
फागुन २०, २०७७
biplab barta

पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र विवाद बढिरहेका बेला सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीबीच सहमति भएको छ । पार्टी एकीकरणले पूर्णता नपाउँदै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच फाटो बढेकै बेला भएको यो सहमतिलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालमाथि लगाउँदै आएको आरोप हो– युद्धका बेला प्रयोग गरेका लडाकुहरुको उचित व्यवस्थापन प्रचण्डले गर्नै सकेनन् । ओलीको यो भाषण सार्वजनिक भएलगत्तै प्रचण्डले पूर्व लडाकुहरुको भेला नै गरेर आश्वस्त पार्ने कोसिस पनि गरे । जनयुद्धका एक कमाण्डर रामबहादुर थापा बादलले समेत साथ छाडेका बेला ओलीको यो अभिव्यक्ति वास्तवमै प्रचण्डलाई महँगो सावित भएको छ । अझ विप्लवलाई वार्तामार्फत् सहमतिमा ल्याएर प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई थप अप्ठेरोमा पारिदिएका छन् ।

नेपाल सरकारका तर्फबाट लगाइएका नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी

यो सहमतिपछि सरकारले सर्बसाधारणको थप विश्वास पाएको विश्लेषण गरिएको छ । अकोएतिर तत्कालीन माओवादीका नेताहरुलाई आफूतिर तानेर थप शक्ति आर्जन गर्न र अर्को समूहलाई कमजोर सावित गर्न थप जोड पुगेको छ ओलीलाई ।

सरकार र विप्लव समूहका प्रतिनिधिबीच बिहीबार काठमाडौंमा भएको सहमतिपछि नेपाली राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह भएको छ । यही सन्देश व्यापक बनाउन प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले शुक्रबार एउटै समारोहमा सम्बोधन गर्ने भएका छन् । २ पक्षबीच बिहीबार भएको वार्तापछि यस्तो सहमति भएको हो ।

२ पक्षबीच भएको ३ बुँदे सहमति सार्वजनिक भए पनि विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । सरकार र विप्लव समूहबीच बुधबार २ चरणमा र बिहीबार १ चरणमा वार्ता भएको थियो । ‘सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिनेछ,’ दुवै तर्फबाट जारी संयुक्त प्रेस नोटमा उल्लेख छ । उक्त समारोहलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार एवम् सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो २ बजे विशेष समारोहमा प्रधानमन्त्री र नेत्र विक्रम चन्दले सम्बोधन गर्ने बताए । हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले गत वर्ष फागुन २८ गते विप्लव नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो ।

यसपछि विप्लव समूहले देशका विभिन्न ठाउँमा जबरजस्ती चन्दा असुली र बम विस्फोटका घटना गराउँदै आएको थियो । पछिल्लोपटक विप्लवका कार्यकर्ताले मोरङमा १ शिक्षकको गोली हानी हत्या गरेका थिए । मुलुकभरका हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा विप्लव समूहका सयौं नेता कार्यकर्ता अहिले पनि न्यायिक हिरासतमा छन् । सकारले वार्ताका लागि प्रस्ताव गरेपछि विप्लव समूह पनि राजी भएको थियो । सोही क्रममा मंगलबार दुवै तर्फबाट वार्ता टोली गठन गरिएको थियो । सरकारी वार्ता टोलीमा संयोजक गृहमन्त्री रामबहादुर थापा र सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई छन् । यस्तै विप्लव समूहबाट प्रवक्ता खडकबहादुर विश्वकर्मा संयोजक र उदयबहादुर चलाउने सदस्य छन् ।

वार्तामा तीनबुँदे सहमति भएको छ । सहमतिमा नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएका नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीका विषय छन् ।

यसैबीच, सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमति शुक्रबारदेखि नै कार्यान्वयनमा लगिने भएको छ । बिहीबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबारदेखि नै सहमति कार्यान्वयनमा लगिने निर्णय गरेको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । उनका अनुसार त्यो बाहेक अन्य कुनै पनि निर्णय मन्त्रिपरिषदले गरेको छैन ।

हेलिकोप्टर चढ्न अस्वीकार
विद्रोही नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द विप्लव हेलिकोप्टर चढ्न नमानेपछि गाडीबाटै काठमाडौं गएका छन् । उनी काठमाडौं बाहिर भएकाले शुक्रबार हुने कार्यक्रमको सम्बोधनका लागि ल्याउन सरकारले हेलिकोप्टर तयारी अवस्थामा राखेको थियो । तर विप्लवले हेलिकोप्टर चढ्न नमानेपछि गाडीबाटै काठमाडौं गएको एक नेताले जानकारी दिए । हेलिकोप्टरमा चढ्दा राम्रो सन्देश नजाने भएकाले पार्टीले व्यवस्था गरेको गाडीमै विप्लव काठमाडौं गएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width