पोखरा, १९ फागुन । कास्की लुम्ले काँडेको शुद्ध मह भनेर बेच्दै हिँडेको टोली केही समय अगाडि पस्र्याङमा भेटियो । जबकी लुम्लेमा मौरी नै हुँदैन । तापक्रमकै कारण त्यहाँको उचाइमा मौरी बाँच्नै सक्दैन । उपभोक्तालाई यो कुरा थाहा छैन, चिसो ठाउँको मह मिठो हुन्छ भनेर किन्न झुम्मिन्छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण आचार्यले त्यो टोलीलाई भेटे । आफ्नो परिचय नखुलाई आचार्यले उनीहरुलाई पहिलो पटकका लागि भन्दै सम्झाइ बुझाइ पठाए ।
१ उपभोक्ताले बजारको पसलबाट शक्तिबद्र्धक औषधी भनेर सानो पुरियालाई ३ हजार रुपैयाँ तिरे । त्यसमा न उत्पादन मिति थियो, न कुनै लेबल टाँसेको, न त कुन कुन वस्तु मिसाएर बनाएको हो भन्ने जानकारी नै । घरमा लगेर खाँदा त मुखभरि घाउ आयो । ती उपभोक्ताले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा फोन गरेर गुनासो गरे । सरकारी निकायले बजार अनुगमन नगरेका कारण आफू ठगिएको उनको गुनासो थियो । उपभोक्ताका हैसियतमा आफ्नो दायित्व के हो भन्ने महसुस उनले गर्न सकेनन् ।
उपभोक्ता सम्बन्धी ऐन कानुनका ठेली छन् तर उपभोक्ता आफै सचेत नहुँदा ठग्ने ठगिने क्रम झनै बढेको छ
तनहुँमा स्थानीय गाउँलेले बनाएको झिलिंगा पूजामा प्रसादका रुपमा प्रयोग गरियो । कपडा रङ्याउने रङ प्रयोग गरिएकाले प्रसाद खानेहरु बिरामी परे । रङले राम्रो देखिए पनि अखाद्य वस्तु प्रयोगबारे न बनाउने सचेत भए, न खानेहरु नै ।
हो, बजारमा बग्रेल्ती समस्या छ । सडक छेउका चटपट पसलदेखि नाम चलेका दोकान, होटेल रेस्टुरेन्ट, खाद्यान्न उद्योग जताततै समस्या छ । अनि उपभोक्ता हितसँग जोडिएका ३ दर्जनभन्दा बढी कानुन पनि नभएका होइनन् । तर पनि समस्या २० को १९ हुँदैन । बरु बढेको बढ्यै छ । समस्या के का कारण आयो त ? उपभोक्ता सचेत नभएकाले, उत्पादक, ढुवानीकर्तादेखि बिक्रेताहरु जिम्मेवार नभएकै कारण यो समस्या आएको जगजाहेर छ । तर यसमा मुख्य जिम्मेवार को ? प्रश्नजस्तै उत्तर पनि सहज छ । सबै पक्षले आआफ्नो जिम्मेवारी र दायित्व वहन गरिदिए यस्ता समस्या आफै समाधान भएर जान्छन् ।
उपभोक्तालाई नै सचेत गराउनुपर्ने महसुस गरेर गण्डकी प्रदेश सरकारले पहिलो चरणमा उपभोक्ता सचेतना कार्यक्रम थालेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीले पोखरा महानगरका ३३ वटै वडाका जनप्रतिनिधि र टोल विकास संस्थाका प्रतिनिधिका लागि सचेतना कार्यक्रम थालेको हो । बुधबार वडा नम्बर ६ देखि १० सम्मका प्रतिनिधि, पत्रकार र उपभोक्ता अधिकारकर्मीसँग अन्तक्र्रिया भएको छ ।
निर्देशनालयका निर्देशक केन्द्र सरकारले बनाएको उपभोक्ता संरक्षण ऐनमा टेकेर प्रदेश सरकारले बजार अनुगमन नियमावली बनाएर काम थालेको बताए । अहिलेसम्म सुधारात्मक तरिकाले आफू अगाडि बढेको भन्दै उनले अब दण्डात्मक कारवाही थाल्ने बताए । उनले उपभोक्ता संरक्षण ऐनमा उल्लेख भएका प्रावधानका बारेमा जानकारी समेत गराए ।
उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले पसलमा सामान किन्न जाँदा उपभोक्ता कम्तीमा पनि उपभोग्य अवधि, उत्पादन मिति, मूल्यजस्ता विषयमा ध्यान दिन आग्रह गरे । अनुगमन गरेका बेला केही सुधारिएको जस्तो देखिए पनि बजारमा बग्रल्ती समस्या रहेको उनको भनाइ थियो । स्थानीय तहका उपाध्यक्ष र उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति गठन गर्ने र वडाध्यक्षलाई अधिकार प्रत्यायोजन समेत गर्न सकिने भए पनि गण्डकीका सबैजसो जिल्लामा यस्तो हुन नसकेको उनले बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शिवजी बरालले उपभोक्ताले ससाना कुरामा ध्यान दिए सुधार हुँदै जाने बताए । कार्यक्रममा निर्देशनालयका अधिकृत प्रदीप रेग्मी, पत्रकार पुण्य पौडेल, वडा नम्बर ८ की सदस्य किरण गौतम, अधिकारकर्मी उत्तम जोशी, नेत्र सुवेदी, अधिवक्ता अनन्तप्रसाद कोइराला, शिवालय टोल विकास संस्थाका अध्यक्ष गिरधारी अधिकारी, महिला उद्यमी पिंगला भट्ट लगायतले उपभोक्ता सचेतनाका बारेमा बोलेका छ । पहिलो चरणमा १ देखि ५ वडाका जनप्रतिनिधि र टोलविकास संस्थाका लागि निर्देशनालयले यस्तै कार्यक्रम गरेको थियो ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१