भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे

साधन राम्जाली
फागुन १९, २०७७
Kuine ra Chimkhola Road News Final (1)

फाइल तस्बिर

म्याग्दी । उमेरले सय वर्ष टेक्न लागेका रघुगंगा–४, दर्मिजाका दलबहादुर गर्बुजा सोमबार निकै हर्षित मुद्रामा देखिन्थे । गाउँपालिकाले आयोजना गरेको सडक उद्घाटन कार्यक्रममा उनलै प्रमुख अतिथि भूमिकामा रिबन काटे ।
पहिले–पहिले गाडी हेर्न सदरमुकाम बेनी पुगेका गर्बुजालाई यतिबेला गाउँ छोएको सडक उद्घाटन गर्न पाउँदा भने सपना झैं लागेको रहेछ । ‘मिति ठ्याक्कै याद त भएन, धेरै वर्ष पहिले बेनीमा गाडी देखेको थिएँ,’ उनले सम्झे, ‘तर अहिले आफ्नै घरआँगनमा आएको मोटरबाटो उद्घाटन आफैले गर्न पाउँदा सपना जस्तै लागेको छ ।’

उनीसँगै सडक उद्घाटनमा सहभागी वडा ८, कुइनेमंगलेकी उडिमा कमिनी पनि हर्षित थिइन् । ९३ वर्षीया उडिमा विकट बस्तीको सडकमा गाडी गुडेको देख्न पाउँदा खुसीले गद्गद् बनिन् । ‘पहिले मौवाफाँटसम्म त गाडी आएको थियो तर यो अक्करे भिर छिचोल्दै हाम्रो यस्तो दुर्गम बस्ती कुइनेमा सडक आउँला र बस चढेर बजार जान पाइएला भन्ने सपना जस्तै लाग्यो,’ उनले भनिन्, ‘आज घरदेखि नै जिपमा बसेर दर्मिजासम्म आएँ । असाध्यै खुसी लाग्यो ।’

दलबहादुर र उडिमा मात्र हैनन्, रघुगंगा ७, चिमखोलाकी १० वर्षीया लिस्मा पुन पनि मौवाफाँट–दग्नाम–दर्मिजा, चिमखोला हँुदै कुइनेमंगले जोड्ने सडक उद्घाटन कार्यक्रमको प्रमुख अतिथि थिइन् । ‘स्कुल अनि कतै कार्यक्रममा जाँदा ठूला मान्छेलाई मात्र प्रमुख अतिथि बनाएको देखेकी थिएँ तर आज आफै अतिथि हुँदा खुसी लागेको छ,’ उनले भनिन् ।

गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमंगले जोड्ने सडक आयोजना निर्माण कार्य सुरु भएको छ । जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिंगर भिर छिचोलेर भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमंगलेलाई सडक सञ्जालमा जोडिएको छ । गाउँपालिका वडा ४, दग्नाम र दर्मिजाको बिचमा पर्ने अक्करे अंजिगर भिरमा दुईतर्फबाट काम गरी करिब १० महिनामा नै करिब १ किमी सडकको ट्रयाक खोलिएपछि ३ वडाका स्थानीयवासी खुसी छन् ।

कुइनेमंगले–चिमखोला–दर्मिजा सिधा सडक सञ्जालले जोडिएपछि दर्मिजामा बाजागाजा सहित खुसीयाली मनाइएको थियो ।

गाउँपालिकाको ३ करोड ६२ लाख, गत आव प्रदेश सरकारको र स्थानीय पूर्वधार साझेदारीको कार्यक्रमबाट ४३ लाख खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

यस्तै, गण्डकी प्रदेश सरकारबाट आव २०७५÷७६ मा ६५ लाख बजेट विनियोजन भए पनि २१ लाख ५४ हजार मात्र खर्च भएको र २०७७÷७८ मा पूर्वाधार साझेदारी कार्यक्रममा आएको ५० लाखमा २१ लाख खर्च भएको जनाइएको छ ।
सुवेदीका अनुसार टुडी पावर कम्पनी र संयुक्त उर्जाको करिब ११ करोड लागतमा उक्त ट्रयाक खोलिएको हो । उनका अनुसार यो खर्च स्थानीय सरकार आएपछि र गाउँपालिकाको समन्वयनमा आएका कार्यक्रमको मात्र हो । स्थानीय सरकार आउनुभन्दा अघि पनि सो सडकखण्डमा धेरै बजेट खर्च भैसकेको छ ।

‘पैदलसमेत नअडिने अक्करे भिरमा करिब ६ वर्षदेखि चट्टान फुटाउन सुरु गरिए पनि सफल हुन सकेको थिएन, स्थानीय सरकार आएपछि गाउँपालिकाको सक्रियतामा छोटो समयमै चट्टान छिचोलेर सडक निर्माण गर्न सफल भएका छौं,’ गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने,‘सडक निर्माण भएपछि गाउँपालिकाका ३ वटा वडाका करिब ८ हजार मानिस लाभान्वित हुनेछन् ।’

गाउँपालिका उपाध्यक्ष कमला तिलिजाले आफूहरुले निर्वाचनको समयमा स्थानीयसमक्ष घोषणा गरे अनुसार सडक निर्माण गर्न सफल भएको बताइन् ।

वडा ४ का अध्यक्ष एकबहादुर गर्बुजाले गलेश्वर–मौवाफाँट–दग्नाम हुँदै कुइनेसम्म पुग्ने ३६ किलोमिटर सडकको निर्माण भएपछि निकै सुखी लागेको बताए ।

उद्घाटनमा नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ ले सडक निर्माण भएपछि ग्रामीण भेगका जनतालाई ठूलो राहत मिलेको बताए । बाहै्रमहिना सडक सञ्चालना ल्याउन प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

जलविद्युत आयोजना टुँडी पावर कम्पनीका डाइरेक्टर उपेन्द्रप्रसाद गौतम र संयुक्त ऊर्जा प्रालिका इन्जिनियर सुवासचन्द्र बरालले आयोजनाको उद्देश्य अनुसार गाउँपालिकाको योजनामा हातेमालो गरेको बताए । कार्यक्रममा कांग्रेस जिल्ला सदस्य ओम छन्त्याल, गाउँपालिकाका सबै वडाका अध्यक्ष लगायत अन्य स्थानीयवासीले समेत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width