हिमालय आँखा अस्पताल परिसरमा निर्मित दृष्टि परीक्षण भवनको उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
पोखरा । मेडकल कलेज २ वटा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, अनि निजी क्षेत्रबाट सञ्चालित सुविधा सम्पन्न हस्पिटल छन् पोखरामा । तर पनि भरपर्दो स्वास्थ्य सेवाका लागि राजधानी काठमाडौं वा विदेश जानुपर्छ भन्ने छ । रोगको निदान र उपचार भरपर्दो नभएकै कारण काठमाडौं धाउनुको विकल्प छैन पोखरेली र गण्डकीवासीलाई ।
तर आँखाको उपचारमा भने गण्डकी प्रदेश र आसपासका बासिन्दाले यस्तो सास्ती खेप्नु परेको छैन । आँखामा देखिने ९५ प्रतिशत समस्याको समाधान पोखराकै हिमालय आँखा अस्पतालमा हुन्छ । अस्पतालका कामु चिफ मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठ भन्छिन्, ‘अरु रोग लागे अन्यत्र जानुपरे पनि आँखाको उपचारमा पोखराले अन्यत्रकालाई निम्तो दिइरहेको छ ।
हिमालय आँखा अस्पताल
आँखा उपचारमा अब्बल दरिएको हिमालय आँखा अस्पतालले पछिल्लो समयमा शैक्षिक कार्यक्रम समेत सञ्चालन गरेको छ । सिटिइभिटीसँगको सहकार्यमा ३ वर्षे डिप्लोमा इन अप्थाल्मिक साइन्स, पोखरा विश्वविद्यालयसँगको सहकार्यमा ४ वर्षे ब्याचलर अफ अप्टोमेट्रीको पठाइ हिमालय आँखा अध्ययन प्रतिष्ठानले गर्दै आएको छ । परारबाट नेपालमै पहिलोपटक २ वर्षे मास्टर्स अफ अप्टोमेट्रीको पढाइ हुँदै आएको छ । निकै सस्तो शुल्कमा पोखरामा पढाइ हुँदै आएको र पछिल्ला दिनमा विद्यार्थीहरुको रुचि पनि असाध्यै यसमा देखिएको उनले बताइन् ।
अस्पताल स्थापनाको २८ वर्षको अवधिमा १६ लाख जनाको आँखा उपचार भएको निर्वतमान चिफ मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जन बताउँछन् । पोहोरमात्रै डेड लाखभन्दा बढीले अस्पतालमै आएर उपचार सेवा लिएका छन् । आँखा शिविरमार्फत् २८ हजार भन्दा बढीको शल्यक्रिया गरिएको छ ।
आँखाको सामान्य समस्या समाधान गर्न स्थानीयस्तरमै आँखा उपचार केन्द्र सञ्चालनमा आफूहरुको जोड रहेको हिमालय आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर गुरुङ बताउँछन् । हालसम्म कर्णाली र गण्डकमीमा गरी २२ ठाउँमा आँखा उपचार केन्द्र छन् । जुम्लाको सिञ्जा, कालिकोट, बागलुङको बुर्तिबाङ, तनहुँको बन्दीपुर र स्याङ्जाको चापाकोटमा पोहोरमात्र आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।
चस्मा लगाउन नपर्ने गरी गरिने रेटिना सम्बन्धी अप्रेसन सुविधा तिलगंगा आँखा अस्पतालमा मात्रै छ । त्यसबाहेक सबै खालका उपकरण पोखरामै छन् । डा. इलिया श्रेष्ठले भनिन्, ‘चस्मा लगाउन नपर्ने गरी गरिने रेटिना सम्बन्धी अप्रेसन गर्ने मेसिनका लागि पनि दाताहरुले चासो देखाएका छन्, यो वर्षभित्रमा त्यो सपना पनि पूरा हुन्छ होला । अस्पतालको आफ्नै प्रयास र दातृ संस्थाहरुको सहयोगले आँखा उपचारमा हिमालय आँखा अस्पताल अब्बल रहेको दाबी डा. श्रेष्ठको छ ।
स्याङ्जाको पुतलीबजार १३ को मातृभूमि माविका आयोजित शिविरमा आँखा परीक्षण गराउँदै स्थानीय वृद्धा । फाइल तस्बिर
१ तथ्यांक अनुसार मुलुकमा कुल जनसंख्याको १६ प्रतिशतलाई कुनै न कुनै आँखाको रोग छ । ३ प्रतिशत पूर्ण वा आंशिक दृष्टिहीन छन् । तर नेपालमा हाल १ सय १५ को हाराहारीमा आँखा विशेषज्ञ छन् । तीमध्ये जम्मा ३० जनामात्र डाक्टर काठमाडौं बाहिर छन् । कम्तीमा १ लाख जनसंख्या बराबर १ आँखा विशेषज्ञ हुनुपर्नेमा २ लाख बराबर १ जना मात्र उपलब्ध छन् । नेत्र सहायक र अन्य प्राविधिकसमेत पर्याप्त नहुँदा नागरिकले चाहेको अवस्थामा आँखाको उपचार पाउन सकेका छैनन् ।
तराईभन्दा पहाडी क्षेत्रमा आँखा उपचार समस्या बढी छ । आँखा उपचारका सुविधा तराई र सहरी क्षेत्रमा केन्द्रित भएकाले पहाडी भेगमा उपचार सुविधा सहज हुन सकेको छैन । पहाडी क्षेत्रमा राजधानीबाहिर पोखरामा हिमालय आँखा अस्पताल र पाल्पामा लायन्स लाकौल गरी २ मात्र अस्पताल छन् । बेलाबखत बस्ने आँखा शिविर र मुलुकका २९ ठाउँमा सञ्चालित आँखाको प्रारम्भिक उपचार हुने स्वास्थ्य केन्द्रले सक्दो सेवा दिँदै आएका छन् ।
नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङ हिमालय आँखा अस्पताललाई रिसर्च र जनशक्ति उत्पादनको केन्द्रको रुपमा विकास गर्दै आएको बताउँछन् । संघका सचिव सुरेन्द्र थापामगरले आँखा उपचारमा ख्याति कमाएको हिमालय आँखा अस्पतालमा बर्सेनि इन्टर्नसिपमा आउने विदेशी बाक्लै हुने बताए ।
उनका अनुसार बेल्जियम, नेदरल्यान्ड, बेलायत, अस्ट्रेलिया लगायत देशबाट बर्सेनि २५ जनाको हाराहारीमा इन्र्टनसिप गर्न आउने गरेका छन् । उनीहरुले नेपालीमा देखिएको आँखाको समस्या र यहाँ अपनाइएको उपचार विधिबारे सिकेर फर्कने गरेको थापा मगरको भनाइ थियो । हिमालय आँखा अस्पतालका लागि किनिएको ७० रोपनी जग्गामा हाल २६ वटा भवन छन् । गण्डकी प्रदेश सरकारले समेत अस्पताललाई आर्थिक सहयोग गरेको छ ।
यस्तो त अस्पतालको कहानी
नेदरल्यान्डबाट नेपाल घुम्न आएको अनिता सिमोन्स र लिन्ड्रेट पार्लेभ्लिटको जोडी जुम्ला पुग्यो । जुम्लाको गाउँमा पुग्दा त्यहाँका नागरिकमा आँखाको समस्या देखेपछि जोडी अवाक भयो । अब केही गर्नुपर्छ भनेर स्वदेश फर्केको जोडीले च्यारिटीबाट सुरुको वर्ष १० लाख डलर संकलन ग¥यो । अनि सुरु भयो आई केयर फाउन्डेसन नेदरल्यान्ड । त्यही फाउन्डेसनले नेपाल नेत्रज्योति संघसँग मिलेर पोखरामा हिमालय आँखा अस्पताल खोल्यो । त्यही अस्पताल अहिले गण्डकी र कर्णाली प्रदेशको ज्योति बनेको छ ।
नेपाल लगायत विश्वका १६ मुलुकमा आँखाको क्षेत्रमा सहयोग गर्दै आएको आई केयर फाउन्डेसन नेदरल्यान्डले ३६ वर्ष पार गरेको छ । पोहोर भदौमा पोखरा आएका फाउन्डेसनका संस्थापक लिन्ड्रेट पार्लेभ्लिटले हिमालय आँखा अस्पतालले गरेको प्रगति देखेर खुसी व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘३५ वर्ष वर्ष पहिला जे सपना देखेर हामीले नेपालमा काम थालेका थियोैं त्यही अनुसार काम भएको पायौं, यसले हामीलाई धेरै खुसी बनाएको छ ।
अस्पतालले सुरुका ५ वर्ष कमाएको सबै रकम फाउन्डेसनले अस्पतालको कोषमा राखिदिएको छ । त्यसपछिका १० वर्ष १० प्रतिशत कटाएर कोषमा राखिदिएको डा. इलिया श्रेष्ठले बताइन् । त्यसपछि भने फाउन्डेसनले नेपाल नेत्रज्योति संघलाई उक्त अस्पताल पूरै हस्तान्तरण गरेको हो ।
अस्पतालको वार्षिकोत्सव
हिमालय आँखा अस्पतालले २८ औं वार्षिकोत्सव मनाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा निर्मित दृष्टि परीक्षण भवन समेत यसै अवसरमा उद्घाटन गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समुदायस्तरबाट सञ्चालित यो अस्पतालबाट आफूले धेरै पाठ सिकेको बताए । सरकारले बेवास्ता गरेको तर राम्रो काम गरेका संस्थाहरुलाई प्रदेश सरकारले सहयोग आएको जानकारी उनले गराए । उनले भने, ‘मेरो पछाडि पनि सरकार छ, संकटमा परेका बेला हेर्ने सरकार छ भन्ने अनुभूति होस् भनेर सहयोग गरेको हो ।’
नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले पोखरा र नेपाललाई आँखा स्वास्थ्य पर्यटनको केन्द्रका रुपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल नेत्र ज्योति संघका उपाध्यक्ष प्राडा दीलबहादुर क्षेत्रीले आँखा उपचारमा ख्याति कमाएर हिमालय आँखा अस्पतालमा सेवा विस्तारका लागि पछिल्लो समय संघ, प्रदेश र स्थानीय सरकारले चासो देखाएकोमा खुसी व्यक्त गरे । नेत्रज्योति संघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखिएको र यो क्रमले आउने दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
संघका अध्यक्ष कृष्णबहादुर गुरुङले अस्पतालले प्रदान गर्दै आएको गुणस्तरलाई कायम गर्दै दक्ष जनशक्ति उत्पादनमा आफूहरु केन्द्रित रहेको बताए । सचिव सुरेन्द्र थापामगरले आँखा अस्पताललाई सेन्टर फर एक्सिलेन्सका रुपमा स्थापित गर्न आफूहरु लागीपरेको बताए । सहरी विकास तथा भवन डिभिजन कार्यालय कास्की प्रमुख डा. महेन्द्र बानियाले ६५ लाख रुपैयाँ लागतमा भवन तयार भएको जानकारी गराए ।
वार्षिकोत्सवको अवसर पारेर कर्मचारीहरु मीना राई र तुलसीकुमारी ढकाललाई जनही नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको छ । कर्मचारी युनियनले गरेको खेलकुद प्रतियोगिताका विजेता तथा सहभागीलाई पनि उक्त अवसरमा पुरस्कार प्रदान गरियो ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१