पोखरा । गण्डकी प्रदेश सरकार स्थापना भएको ३ वर्ष पूरा भयो । संघ सरकार मातहत रहेका कार्यालय खाली गरेर प्रदेशको प्रशासनिक काम सुरु भयो । सीप विकास केन्द्रको बन्दै गरेको भवनलाई अन्तिम रुप दिएर मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र अरु २ मन्त्रालय राखियो । अरु ससाना भवन खोजेर बाँकी ३ मन्त्रालय सञ्चालनमा आए ।
भवन तथा जमिन प्राप्तिका लागि प्रदेश सरकारले पहल नगरेको होइन । अचम्म लाग्दो त के छ भने प्रदेश सरकारका नाममा अहिलेसम्म १ आना जग्गा पनि छैन । न त एउटा भवन नै । प्रदेश सरकार विकास निर्माणका काम धमाधम गरिरहेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै भनाइ सापटी लिने हो भने प्रदेश सरकार अहिले शिलान्यास भन्दा पनि उद्घाटनमा बढी लागेको छ । उनले यसले भन्दै गर्दा प्रदेश सरकार आफ्नै लागि भने एउटै भवन बनाएको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाकेर प्रदेश सरकारले पहिलो भवन शिलान्यास गरेको छ । त्यहि पनि संघ सरकारकै नाममा रहेको जग्गामा प्रदेशले त भोगाधिकार मात्र पाएको छ । पोखराको नदीपुरस्थित जग्गामा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन सोमबार शिलान्यास गरिएको हो । मुख्यमन्त्री गुरुङले अब प्रदेश सरकार धमाधम निर्माण जुट्ने बताएका छन् ।
नदीपुरस्थित जग्गामा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन सोमबार शिलान्यास गरिएको हो
प्रदेश र स्थानीय तहका सरकारी र सार्वजनिक संस्थाका कर्मचारीहरुको क्षमता विकास र कार्यसम्पादनमा सहयोग गर्ने गरी प्रतिष्ठान स्थापना भएको हो । प्रशिक्षण व्यावसायलाई प्रशिक्षार्थीको कार्यसम्पादनसँग आवद्ध गराई सम्वन्धित संस्थाको समग्र कार्यसम्पादनमा सुधार गराउने प्रतिष्ठानको उद्देश्य रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे बताउँछन् । उनका अनुसार अध्ययन अनुसन्धानलाई प्रदेश तथा स्थानीय तहका नीति तथा कार्यक्रममा प्रयोग गरी प्रभावकारितामा अभिबृद्धि गर्ने कार्यमा प्रतिष्ठान केन्द्रित रहने छ । सबै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसँग हातेमालो प्रतिष्ठानले गर्ने पाण्डेले बताए । प्रशिक्षण र अनुसन्धानबाट संस्थागत सुशासन प्रवद्र्धन गर्न प्रतिष्ठान लाग्ने पाण्डेको तर्क छ ।
पहिलादेखि नै सञ्चालनमा रहेको प्रशिक्षण प्रतिष्ठान संघीयतापछि प्रदेश मातहत ल्याइएको हो । प्रदेश सरकारले ऐन नै बनाएर यो संस्थालाई क्रियाशील बनाएको छ । नदीपुरस्थित पुरानै संरचनामा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आवासीय भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । स्केल आर्किटेक्ट प्रालिले तयार गरेको डिपिआर अनुसार भवन शिलान्यास भएको हो । डिपिआर अनुसार प्रतिष्ठान भवन निर्माणका लागि ५२ करोड ८४ लाख रुपैयाँ लाग्ने छ । करिब २० रोपनी जग्गामा बन्ने प्रतिष्ठानमा २ भवन रहने गरी डिपिआर तयार छ । मुख्य भवनको भूइँ तलामा ६ वटा समूहगत छलफल कक्ष रहनेछन् ।
४८/४८ सिटका ४ वटा तालिम हल, शैक्षिक कार्यालयसँगै प्रशासनिक कक्ष रहने गरी डिजाइन तयार पारिएको छ । तालिमकै लागि एक मुख्य हल पनि रहने छ । दोस्रो तलामा २६ कोठाको होस्टेल डिजाइन गरिएको छ । तेस्रो तलामा १२ वटा आवासीय कोठा हुनेछन् । चौंथो तलामा ७ वटा गेस्ट रुम, भिआइपी कोठा रहनेछन् । यसका साथै ध्यान गर्नका लागि कक्ष छुट्याइएको छ । हिमाली दृश्यावलोकनका लागि अग्गै ठाउँ बनाइएको छ । सहायक भवन २ तलाको हुनेछ । पहिलो तलामा ५ सय सिटको बहुउद्देश्यीय हल, भिआइपी होल्डिङ कक्ष तथा १ सय ५० सिटको लेक्चर हल बनाइने छ ।
सुविधासम्पन्न पुस्तकालय, एक पटकमा १ सय ६० जना अट्ने डाइनिङ हल, किचन र स्टोर पनि यही भवनको भुइँ तलामा बनाइने गरी डिजाइन तयार भएको छ । दुवै भवनको बेसमेन्टमा अन्डरग्राउन्ड पार्किङ रहने छ । ७० गाडीलाई एकैसाथ पार्किङ गर्न सकिने गरी गराइने छ । बेसमेन्टमा स्टोर तथा मर्मत स्टोर रहने छ ।
२ भवनको डिपिआर तयार भए पनि पहिलो चरणमा भने ३३ करोड २१ लाख ५५ हजार रुपैयाँ लागतको १ भवन मात्र बनाइने भएको छ । त्यतिका धेरै बजेट चाहिले भवनका लागि यो वर्ष भने साढे ६ करोड रुपैयाँमात्र विनियोजन गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण कार्यान्वयन गर्ने छ । प्रदेश सरकारले डेढ करोड रुपैयाँ विनियोजन गरेको छ भने प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमअन्तर्गत प्राप्त सशर्त अनुदान ५ करोड रुपैयाँ यो वर्ष भवनका लागि छुट्टयाइएको हो ।
‘विकासका सूचकांकमा फड्को’
भवन शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियस्तरमा पूर्वाधार निर्माणदेखि अन्तर्राष्ट्रियस्तरमा सम्बन्ध सुधार र विकासका सूचकांकमा समेत नेपालले फड्को मारेको दाबी गरेका छन् । प्रम ओलीले संयुक्त राष्ट्र संघले नेपाललाई अल्पविकशित राष्ट्रबाट विकशित राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस गरेको बताए । यही गतिमा अगाडि बढ्ने हो भने सन् २०३० अगावै दीगो विकास लक्ष्य प्राप्ति हुने विश्वास व्यक्त गरे ।
सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्नका लागि सुशासन र विकासको बाटालाई अघि बढाइएको तथा शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा विकास बढेको बताए । आफ्नो ३ वर्षे कार्यकालमा विकासका काम अघि बढेको उनको भनाइ छ । विकास निर्माणको काममा स्वस्थ ढंगले प्रतिस्पर्धा गर्दै एकतावद्ध भएर हिड्नुपर्ने उनको धारणा थियो ।
गण्डकी प्रदेश आफूलाई लागि अति नै सुन्दर लाग्ने बताउँदै प्रदेश सरकारले पनि विकाशका काम अगाडि बढाएकोमा धन्यवाद दिए । नेपाल गरिब भए पनि तर मनका धनी बताउने ओलीले कोभिडविरुद्ध सफलता प्राप्त गर्ने विश्वका एक प्रतिशत देशभित्र नेपाल पनि परेको जिकिर गरे ।
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयता कार्यान्वयनमा अरुभन्दा अब्बल गण्डकी प्रदेश रहेको सावित गर्न त्यही अनुसार काम गर्दै गएको बताए । प्रदेश आफैले बनाउन लागेको यो पहिलो भवन भए पनि अब धमाधम शिलान्यासका काम हुने उनले जनाए । संक्रामक अस्पताल, कास्कीको पुँडीटार र नवलपुरको लौकाहा खोलामा औद्योगिक क्षेत्र, पोखराका क्रिकेट रंगशाला अब छिटै शिलाल्यास हुने भन्दै यसका लागि प्रक्रियागत झन्झट मेटाइदिन उनले प्रधानमन्त्री समक्ष आग्रह गरे । प्रदेश विकासका लागि पर्यटन पहिलो शर्त रहेको भन्दै उनले अरु विषयवस्तुलाई समेत समट्दै अगाडि बढेको जानकारी उनले गराए ।
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१