प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !

प्रकाश ढकाल
फागुन १७, २०७७
pm oli @ pkr rangashala

सुरक्षा घेरामा प्रधानमन्त्री ओली

पोखरा । उच्च सुरक्षा घेराको ३ तह । अघि–पछि हतियारधारी सुरक्षाकर्मी लिएर बालुवाटारबाट निस्किन्छन् प्रधानमन्त्री केपी शर्मा ओली । बालुवाटार नछिर्दासम्म उस्तै कडा हुन्छ सुरक्षा । वालुवाटारभित्र झनै कडा सुरक्षा घेरा । सुरक्षाको चाँजोपाँजो मिलाउने गृहमन्त्री उनकै आडमा । त्यही सुरक्षा घेराभित्रबाट कार्यकर्तालाई सम्बोधन गर्न पोखरा आइपुगेका ओलीले छेउमा सुरक्षाकर्मीलाई उभ्याएर कार्यकर्तातिर फर्किंदै भने, ‘ममाथि शारीरिक हमला हुन सक्छ । सम्पूर्ण हिसाबले तीब्र प्रहार भइरहेको छ ।’

उनले आफूमाथि सुरक्षा ‘थ्रेट’ बढेको बताएका छन् । राम्रो काम गरेको मन नपराउनेहरुले चौतर्फीरुपमा प्रहार गरिरहेको उनको गुनासो छ । ‘सरकार ठिक हिसाबले चलाएको हुनाले, विकास निर्माणले गति लिएको हुनाले ममाथि सम्पूर्ण रुपमा अत्यन्तै तीब्र प्रहार भएको छ,’ उनले भने, ‘यदि ममाथि शारीरिक हमला नै भयो वा ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्नुहोला । तर त्यसो हुन दिइने छैन ।’ उनले आफू तलमाथि भए पनि प्रतिक्रियावादीसँग घुँडा नटेक्न कार्यकर्तासँग आग्रह गरे । ‘कतै म रहिन भने पनि पार्टी छ, आन्दोलन छ,’ उनी भन्छन्, ‘कुनै हालतमा प्रतिक्रियावादी र त्यसका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन । देशको भविष्य अन्धकारमा जान दिनु हुँदैन ।’

यदि ममाथि शारीरिक हमला नै भयो वा ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्नुहोला

उनले प्रचण्ड–नेपाल समूहमा बहुमत नभएको तर्क गरे । ‘कार्की बैंक्युटमा भोज खान आएका जतिलाई गन्न मिल्छ ? उहाँहरुले दाबी गर्नुभएको बहुमत पनि मैले नियुक्त गरेको हुँ । जुन हातले नाम दिएको हो, त्यो हातले नाम काट्न सक्छ । नियुक्ति दिनेले नियुक्ति बदर गर्न सक्छ,’ चेतावनी दिँदै उनले भने, ‘त्यसैले मुख्य सचेतक देवप्रसाद गुरुङलाई हटाइदिएँ । अर्को नियुक्त गरेको छु । त्यो मैले नै गर्ने हो ।’ प्रधानमन्त्री ओलीले सक्ने भए दलको नेता फेर्न चुनौती दिएका छन् । ‘दलको नेता फेर्नुस् न, विधिवत फेर्नुस् । बैठक बोलाइदिन्छु आउनुस्,’ उनी अघि भन्छन् ।

प्रधानमन्त्रीले संसदबाट आफूलाई हटाए डेढ वर्ष प्रतिपक्षमा बसेर अर्को चुनाव कुर्ने बताए । ‘जुन परिस्थितिमा प्रधानमन्त्रीको खोजी भइरहेको छ, दौडादौड छ । त्यसको एउटा विधि पद्धति छ । प्रक्रिया छ, ओलीले कार्यकर्ता माझ भने, ‘यदि अपराध नै गर्न सफल भएपनि विधि र प्रक्रियाबाट आउनुस्, हामी मान्छौं । मानेर केही बिग्रिँदैन । डेढ वर्ष प्रतिपक्षमा बस्छौं । त्यसपछि २ तिहाइको बहुमतसहित सरकार बनाउछौं ।’ आफ्नो सपना देश विकास गर्ने भएकोले ढाँटछल गर्न आफूले नजानेको उनको भनाइ छ ।

‘हामीलाई ढाँटछल गर्नु छैन । छलछाम गर्नु छैन । तिकडम गर्नु छैन,’ अघि भने, ‘हाम्रो उद्देश्य देश बनाउने हो । समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना हाम्रो परिकल्पना हो । यो हाम्रो उद्देश्य हो, हाम्रो सपना हो । यसका लागि जनताले हामीलाई साथ दिन्छन् ।’ अघिल्लो पटक पनि माधव नेपाल, झलनाथहरुले नै आफूलाई प्रधानमन्त्रीबाट हटाएको भन्दै अहिले हटाउँदा पनि नौलो नहुने उनी बताउँछन् ।

विधि, पद्धति र प्रक्रियाको रटान लगाउनेहरु नै विधि विपरीत काम गरेको प्रधानमन्त्रीको आरोप छ । पोखरामा प्रदेशस्तरीय कार्यकर्तालाई सोमबार सम्बोधन गर्दा प्रधानमन्त्री हटाउने आधार ओलीले खोजेका छन् । ‘उहाँहरु अविश्वासको प्रस्तावबाट होइन, गलहत्याएर मलाई हटाउने रे । प्रजातन्त्र कस्तो रहेछ उहाँहरुको ?,’ व्यंग्य गर्दै उनले भने, ‘के भारतमा गलहत्याएर प्रधानमन्त्री फेर्छन् ? कमसेकम कुस्तीमा जसले जित्छ उही प्रधानमन्त्री हुन्छ भनेको भए पनि हुन्थ्यो । अहिले उहाँहरुले मलाई जित्नुहुन्छ । अनि उहाँहरुलाई अर्कोले जित्छ । दिनमा दुईपल्ट ३ पल्ट प्रधानमन्त्री फेरिन्छ । गल्हत्याउने परिपाटी भन्दा कुस्ती नै ठिक हो नि ।’

उनले आफूले प्रस्ताव गरेको निर्वाचन अलोकतान्त्रिक नभएको दोहो¥याए । सर्वोच्चले गरेको फैसला मानेपछि यसले देशलाई निकास नदिने ओलीको भनाई छ । ‘देश अन्योलमा फस्यो । सर्वोच्चको फैसला मान्छौं । २३ गते प्रतिनिधिसभा बैठक बस्छ । तर त्यसले परिणाम के दिन्छ ? हामीले हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यी शक्तिहरु जनताका नाम सुन्ने बित्तिकै डराउँछन् । उनीहरुको संसदीय भूमिका कस्तो हुन्छ ? हेर्न बाँकी छ ।’ प्रधानमन्त्री ओलीले दाहाल नेपाल समूह देशको विकास गर्ने नभई अर्काका लागि कम्फर्टेबल सरकार बनाउने तयारीमा लागेको आरोप लगाए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री तथा नेकपा नेता रामबहादुर थापाले अदालतले देशको पक्षमा निर्णय नगरेको आरोप दोहो¥याए । शक्ति पृथकीकरण देखिए पनि राजनीतिक अस्थिरता सिर्जना गरेको उनको आरोप छ । ओलीइतर नेताहरुले गल्ती स्वीकारेर फर्किए मात्रै पार्टी एक हुने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width