आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७७
magar sangh photo

पोखरा । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले आवश्यकता परे गण्डकी प्रदेशको नाम प्रदेशसभाबाट २ तिहाइले फेर्न सकिने बताएका छन् । नेपाल मगर संघको ३९ औं स्थापना दिवसका अवसरमा मगर संघ, कास्कीले गरेको कार्यक्रममा सभामुख अधिकारीले प्रदेशको नामांकनका सन्दर्भमा मगर समुदायको भावना समेट्न नसकिएको भन्दै दुख व्यक्त गरे ।

असन्तुष्टिका बीच साझा पहिचान खोज्ने क्रममा प्रदेशको नाम गण्डकी राखिएको भन्दै उनले पहिचानका आधारमा भन्दा पनि भौगोलिक र प्राकृतिक आधारमा प्रदेशको नाम राखिएको बताए । सभामुख अधिकारीले भने, ‘मलाई के विश्वास छ भने त्यस्तो, आवश्यकता प¥यो भने, हाम्रो संविधान वेद होइन, बाइबल होइन, आवश्यकता प¥यो भने दुई तिहाइले त्यसलाई बदल्न सकिन्छ ।’

संघीयतालाई संविधानले ग्यारेन्टी गरेको भन्दै सभामुख अधिकारीले प्रदेश नरहे संघीयता नै खतरामा पर्ने चिन्ता व्यक्त गरे । पहिचान र अधिकार दुवै आवश्यक पर्ने भन्दै उनले देशमा विद्यमान असमानता र उत्पीडन अन्त्यका लागि संघीयता आवश्यकता परेको उल्लेख गरे । संघीयताविरोधीसमेत केही केही रुपमा सक्रिय भएको भन्दै सभामुख अधिकारीले संघीयतालाई बलियो बनाएर मात्रै नेपालको समृद्धि सम्भव भएको धारणा व्यक्त गरे । सभामुख अधिकारीले शासक जातिले अगुवाइ नगरेसम्म उत्पीडित एवं शासित जातिको मुक्ति सम्भव नभएको समेत बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले मगर समुदाय गण्डकी प्रदेशको मुख्य जाति भएको भन्दै मगरको एकता मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए । आदिवासी जनजाति, दलितलगायतका उत्पीडित जातिको अधिकार सुनिश्चितका लागि राज्यसत्तालाई निरन्तर घच्घच्याइरहनुपर्ने भन्दै उनले सचेत र संगठित भएर आफ्नो अधिकार सुरक्षित गर्न लाग्नुपर्नेमा जोड दिए । प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी कुरा प्राप्तिको लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने नेपालीको भनाइ थियो ।

गण्डकी प्रदेशसभा सदस्य गायत्री गुरुङले प्राप्त अधिकारलाई प्रयोग गर्दै बाँकी अधिकार प्राप्तिका लागि मगर समुदाय अघि बढ्नुपर्ने बताइन् । संविधानको रक्षा गर्न आफूहरू सफल भएको दाबी गर्दै उनले विघटित प्रतिनिधिसभाको पुनस्र्थापनाले जनताको जित भएको बताए । आफ्नो भाषा र संस्कृतिको संरक्षण गर्दै राजनीतिक रुपमा सचेत हुनुपर्ने आवश्यकता औंल्याउँदै गुरुङले राजनीतिक आन्दोलनमा मगर समुदायको उल्लेख्य भूमिका रहेको उल्लेख गरे ।

अर्का गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले सरकारको नेतृत्व गर्ने तहसम्म मगर समुदायलाई पु¥याउन मगर संघको स्थापना दिवसले प्रेरित गरोस् भन्ने कामना गर्दै देशमा संघीयता र गणतन्त्र ल्याउन मगर समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । लोकतन्त्रलाई दिगो बनाउन र नेपाललाई विकसित बनाउन मगर समुदायले अग्रणी भूमिका खेल्नुपर्ने भनाइ राख्दै उनले हिजो राजनीतिक परिवर्तनमा जस्तै समृद्धिको यात्रामा पनि मगर समुदायको उल्लेख्य सहभागिता रहने विश्वास व्यक्त गरे ।

नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालकृष्ण काउछामगर, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज खेम पुनमगर, पोखरा महानगरपालिका १० का वडाध्यक्ष राजकुमार गुरुङ, नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगर, नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेशका सचिव सुजन लामा, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, नेपाल मगर विद्यार्थी संघका महासचिव प्रेम रोकामगर र नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बुद्धिमाया थापामगर, सचिव रामबहादुर थापामगर र सहसचिव लालबहादुर रानामगरले समेत आआफ्नो भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width