विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७७
neta pakrau Padam-pun

म्याग्दी। सरकारद्वारा प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन (फिल्टर) पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो । ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ ।

राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । पुन यसअघि विभिन्न घटनामा संलग्न भइ प्रहरीको फरारको सूचीमा परेका थिए । पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुली लगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ ।

पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुन् । उनी पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इन्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चन्द समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेका बेला उनी एक्कासी पक्राउ परेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width