जहाँ माछाको काजकिरिया गरिन्छ

धनबहादुर गुरुङ
फागुन १५, २०७७
Aadimul Photo 2

पोखरा । जब पोखरीका माछा मर्छन्, स्थानीयले जलकन्या देवी मरेको ठान्छन् । मरेको माछा पूजारीले विधिपूर्वक पूजाआजा गरी पोखरीबाट बाहिर निकाल्छन् । नजिकैको पानीटंकी डाँडामा लैजान्छन् । त्यो डाँडालाई स्थानीये जलकन्या देवीको चिहानडाँडा पनि भन्छन् । मरेको माछाको त्यही डाँडामा अन्त्येष्टिसहित काजक्रिया गरिन्छ ।

त्यही डाँडाको वारिपट्टी छ, तनहुँकाे आँबुखैरेनी गाउँपालिका १ मा पर्ने, आँधी बाराही मन्दिर । मन्दिरको किनारैमा पर्ने गरी आँधिमुल छ । त्यही मुलबाट आएको पानीले पोखरीको रुपधारण गरेको छ । परापूर्व कालदेखि नै त्यहाँ अत्याधिक रुपमा माछाको संख्या थियो । धार्मिक आस्थाकै कारण स्थानीयले स्याउला, ढुंगाको सहायताले पानी थुनछेक गरेर माछाको संरक्षण गर्दै आएका थिए ।

पोखरी संरक्षणका लागि २०४० सालताका सिमेन्टसहितको पर्खाल लगाइएको हो । पानीको मात्रा धेरै भएका कारण त्यही पोखरीभन्दा केही तल अर्को पोखरी बनाइएको छ । २०६२ तिर त्यसमा पनि सिमेन्टको बाँध बनाइयो ।

दुइटै पोखरीभरि थुप्रै माछा छन् । ती माछालाई स्थानीयले आँधी बाराही माईको चेलीका रुपमा हेर्छन् । कसैले मार्दैनन् र मार्ने कोसिस गर्नेलाई स्थानीयले कारबाही गर्छन् । जुठा परेका व्यक्तिले छोएमा, कसैले पोखरीमा दिसापिसाब गरेमा माछा मर्ने गरेको आँधी बाराही मन्दिरका पूजारी युवराज थापा मास्कीमगरले बताए ।

मरेको माछालाई पूजारी आफैले निकाल्छन् । मरेको माछालाई बाहिर निकालेर माछाको चिहान डाँडामा लगेर खाल्डो खनेर धूपबत्ती बालेर अन्त्येष्टि गरिँदै आएको पूजारी मगरले बताए । अन्त्येष्टिका क्रममा उनले भन्ने गर्छन्, ‘तिमी यो पोखरीमा जलदेवी भएर बसेका थियौं, अहिले जाँदैछौ, अब कहाँ जान्छौं, के गर्छौं हामीलाई थाहा छैन । हामीले धूपबत्ती दिएर राखिदिएका छौं, तिमी खुसी भएर बस्नु । तिमीलाई मनुष्यले हानी ग¥यो कि हामीलाई माफी दिनु ।’ यति भनेर माछाको मलामी गएका सबै फर्कनछन् र सुन पानी छर्केर चोखो हुन्छन् ।

माछाको काजक्रिया नसकिँदासम्म मन्दिरमा नित्यकर्म पनि चल्दैन । जब पानी छर्केर चोखो भइन्छ त्यसपछि मात्र पूजाआजा चल्ने पूजारी मगर बताउँछन् । मन्दिरमा पूजा र दर्शन गर्न आउनेहरुलाई फोहर नगर्न सुझाव दिने गरेको उनी बताउँछन् । मन्दिरमा तनहुँ, गोरखा, लमजुङ, धादिङ, स्याङ्जा, काठमाडांै लगायत धेरै जिल्लाबाट भक्तजन पुग्छन् । आँधी बाराहीमा पहिला व्राह्मण पुजारी भए पनि अहिले मगर पुजारी छन् ।

व्राह्मण पुजारी भएको बेला जग्गा भोगचलनमा विवाद भएपछि उनलाई निकालेर मगर पुजारी राखिएको आँधीमुल धार्मिक तथा पर्यटकीय क्षेत्र विकास संरक्षण समिति अध्यक्ष पदमराज अधिकारीले बताए । हरियाली जंगलबाट निस्कने र कहिल्यै धमिलो नहुने आँधीमुल जलशक्ति देवीका रुपमा पूजा गरिने गरेको अधिकारीको भनाइ छ ।

बलीसहित पूजा हुने उक्त मन्दिरमा ठूली एकादशीमा मेला लाग्छ । उक्त दिनमा तोरन पनि टाँग्ने गरिन्छ । आँधी बाराहीमा पूजा गर्दा मनोकांक्षा पूरा हुने साथै आँटेताकेको पूरा हुने धार्मिक विश्वास रहेको अधिकारीले बताए । माछा मुखाकृत २३ वटा कलात्मक धारा, कञ्चन पोखरी, माछाका लहर मन्दिरका आकर्षण हुन् । समितिको पहलमा पार्क निर्माण गरी वनभोज स्थल पनि तयार गरिएको छ ।

आँधीमुल सिँचाइको समेत स्रोत हो । यहाँबाट बगेर गएको पानीले तनहुँको उर्वरभूमि मानिएको सत्रसय फाँट र याम्पा फाँट सिँचित गर्छ र निकै मनमोहक र धार्मिक पर्यटकको सम्भावना बोकेको ठाउँको अझै प्रचारप्रसारमा नपुगेको अध्यक्ष अधिकारी बताउँछन् ।

धार्मिक आस्थाको केन्द्र आँधीमुलमा पहिला एउटा रुखमुनि पूजा गर्ने गरेको स्थानीय हस्तबहादुर थापाले बताए । पछि सबैको नजरमा पर्दै जान थालेसँगै २०३५ सालमा मन्दिर बनाइएको हो । मुल मन्दिरकै पछाडिपट्टि अर्को मन्दिर २०७५ सालमा बनाइएको छ । माछा नै यहाँको विषेशता रहेको उनको भनाइ थियो । ‘मैले देखेदेखि नै यहाँको माछा बढेको पनि छैन्, घटेको पनि छैनन्,’ उनले भने, ‘हामीले यहाँको माछालाई देवताकै रुपमा हेर्छौं ।’ पहिला एकादशीमा मात्र भक्तालुको भीड हुने मन्दिरमा अचेल फाट्टफुट्ट पर्यटक आउँदा पनि खुसी लागेको थापाको भनाइ थियो।

मन्दिरसँगै त्यस क्षेत्रको विकासका लागि वडाबाट पनि सहयोग गरिरहेको आँबुखैरेनी गाउँपालिका १ का वडाध्यक्ष किसान थापाले बताए । आँधीमुलको वरिपरि भुजेल, मगर र व्राह्मण समुदायको बस्ती छ । वडाले आँधीमुलको विकासका लागि भुजेल गाउँमा होमस्टेको अवधारणा पनि अघि सारेको वडाध्यक्ष थापाले बताए । ‘होमस्टेको काम अगाडि बढेको थियो, कारोनाले रोकिएको हो,’ उनले भने, ‘अब कोरोना पनि विस्तारै कम भएको जस्तो भएको छ, अब काम अगाडि बढ्छ ।’ गण्डकी प्रदेश सरकारले छनोट गरेका पर्यटकीय गन्तव्यको सूचीमा आँधीमुल पनि परेको हुँदा अब यसको विकास हुनेमा उनी ढुक्क छन् ।

पृथ्वी राजमार्गबाट २.५ किलोमिटरको कच्ची बाटो हुँदै पुग्न सकिने आँधीमुलको विकासका लागि पालिकाले धेरै योजनामा बजेट विनियोजन गरेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । पालिकाबाट यो आर्थिक वर्षमा पनि २ करोड बजेट विनियोजन गरेर सडक कालोपत्रे गर्ने काम गरिरहेको उनले जानकारी दिए ।

आँधीमुलको विकासका लागि पालिकाले संरक्षण समितिमार्फत् तारबार लगाउने, क्षेत्र छुट्याउने, सुन्दर बनाउने, पैदल यात्रीका लागि सिंढी बनाउने काम गरिहेको छ । मन्दिर वरिपरि २५ रोपनी जग्गामा वनभोजस्थल लगायत अन्य संरचना बनिरहेको छ । जंगलसहित ६० रोपनी जग्गामा तारबार गरेर पानीको मुहान संरक्षणको काम पनि गरिरहेको थापाले बताए ।

स्थानीय भन्छन्  : आँधीमुल हैन आँडीमुल
मगर भाषाबाट रहेको आँडीमुल पछिल्लो समय सबै आँधीमुल भन्न थालेकोमा स्थानीयले आपत्ति जनाएका छन् । खास नाम आँडीमुल भए पनि अपभ्रम्स भएर आँधीमुल भएको स्थानीय हस्तबहादुर थापाले बताए । यसको नामसँग इतिहास जोडिएको उनको भनाइ थियो । परापूर्व कालमा राना थरका बज्यैनातिनी गाई चराउन जाँदा नातिनीले डि गाले (पानी खान्छु) भनेपछि बज्यैले पानी खोज्दै जाँदा छिपछिपे पानी भेटेर नातिनीलाई आँ ड्यो (आँ गर) डी (पानी) भनेर पानी खुवाएको ठाउँलाई पछि आँडीमुल भन्दा भन्दै अहिले आँधीमुल भनिएको उनको भनाइ थियो । आँधीमुललाई अब आँडीमुल बनाउन पहल गर्ने पालिका अध्यक्ष थापाले प्रतिबद्धता जनाए । ‘नाम सच्याउने काम यतिकै गरेर हुँदैन, यसका लागि निर्णय गरेर माथि पठाउनुपर्छ,’ उनले भने, ‘अब छिट्टै बैठक बसेर आँडीमुल बनाउने प्रस्ताव गर्छौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width