मापसे  चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास

धनबहादुर गुरुङ
फागुन १४, २०७७
traffic

पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीको रेकर्ड अनुसार साउनदेखि माघ मसान्तसम्म २ सय ४५ चालक मादक पदार्थ सेवन (मापसे) कारबाहीमा परे । उनीहरुबाट जरिवाना स्वरुप २ लाख ४५ हजार रुपैयाँ रकम पनि संकलन भयो । यही जरिवाना संकलन गर्न पनि ट्राफिक प्रहरीलाई निकै सकस भयो । कारण थियो कोरोना महामारी ।

सरकारले पोहोर चैत ११ गतेदेखि लकडाउन गरेसँगै सडकमा गाडी चलेनन् । ठप्प सडकमा ट्राफिक जाँच नै भएन तर साउन ७ गतेदेखि लकडाउन केही खुकुलो भयो । सडकमा फाट्टफुट्ट सवारी चल्न सुरु गरे । बजार खुल्न थाले, त्योसँगै होटल, रेस्टुरेन्ट पनि मापदण्ड पूरा गर्दै खुल्न सुरु भयो । नेपालीहरुको ठूला भनिएका चाडबाड पनि नजिकिदै गयो । खुलेका होटल रेस्टुरेन्ट अनि नजिकिएको चाडबाँडसँगै मापसे गरेर चलाउनेहरु पनि बढ्न थाले । त्यो बेला ट्राफिक चेकिङ पनि बढेकै थियो ।

लकडाउन खुल्यो, बजार खुल्यो, चाँडबाड नजिकियो तर कोरोना संक्रमितको दर भने दिनानुदिन बढ्दै थियो । फिल्डमा खटिएका ट्राफिकलाई भने कसरी मापसे चेक गर्न भने टाउको दुखाइ बन्यो । ड्युटीमा खटिसकेपछि काम त गर्नै प¥यो । जसोतसो आफूहरुले मापसे चेकिङ गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक पूर्णबहादुर अधिकारीलले जानकारी दिए । ‘कोरोना सर्छ कि भन्ने डर त थियो तर संयमता अपनाएर काम गरेका छौं,’ उनले भने, ‘टाढाबाट बे्रथलाइजर प्रयोग गरेर काम गरेका हो ।’ चालकले मापसे गरेको स्वीकारेका खण्डमा सजिलो हुने गरेको उनको भनाइ थियो । ‘स्वीकारेको खण्डमा अवस्था हेरेर कारबाही गरिएको छ,’ अधिकारीले भने, ‘होइन मैले खाएकै छैन, गल्ती गरेकै छैन भनेको खण्डमा गाह्रो हो, त्यो बेला टाढाबाट ब्रेथलाइजरले हेर्ने देखि मेडिकल गर्नेसम्म गरिएको छ ।’ मापसे गरेकोलाई चलाउन दिँदा दुर्घटना हुने डर, चेकिङ गर्दा कोरोनाको चुनौती भोगेको अधिकारीले बताए ।

कोरोनाको कहरकाबीचमा कास्कीमा ३७ वटा सवारी दुर्घटना भएको थियो । ती दुर्घटनामा परी २६ जनाले ज्यान गुमाए भने १९ जना घाइते भएको अधिकारीले बताए । यो बीचमा १८ हजार १४ सवारी कारबाहीमा परे । चालक कारबाहीबाट १ करोड २९ लाख ३८ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको अधिकारीले जानकारी दिए । साउनदेखि माघ मसान्तसम्म २ हजार ८ सय ९२ ट्रक तथा ट्रिपर, १ हजार ८ सय ९४ बस कारबाहीमा परेका छन् । दुई पांग्रे सवारी ७ हजार २ सय ५१ वटा कारबाहीमा परेको हो । ५ हजार १ सय ३४ कार, जिप कारबाहीमा पर्दा ८ सय ४० ट्याक्टर पनि परेका छन् ।

नयाँ भवनमा सरेपछि सहज


जिल्ला ट्राफिक कार्यालय कास्की नयाँ भवनमा सरेको छ । पोखरा महानगरपालिका वडा नं. ९ स्थित सहाराटोेलमा भवन निर्माण भएको हो । २०७५ असारबाट निर्माण सुरु भएको भवनको काम सम्पन्न भएर गत मंसिर १२ गते उद्घाटन गरिएको हो । साढे २ तलाको भवनमा १३ वटा कोठा छन् । नागरिकस्तरबाट भवन निर्माण अभियान सञ्चालन गरेर भवन बनाइएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक अधिकारीले बताए । पृथ्वीचोकमा रहेको ट्राफिक भवन पुरानो र जिर्ण अवस्थामा रहेकाले नयाँ भवन बनाउन सुरु गरिएको हो । पुरानो भवनमा ट्राफिक प्रहरीले धेरै समस्या भोग्नु परेको थियो । भवन परिसरमा मेस र व्यारेक पनि निर्माण भएको छ । भवन निर्माणका लागि पोखराका यातायात व्यवसायीसँग सम्बन्धित संघसंस्था, पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ लगायत विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भएको अधिकारीले जानकारी दिए ।

नयाँ भवनमा परिसकेपछि धेरै राहत भएको उनले बताए । पुरानो भवनमा रहदा ट्राफिक प्रहरीलाई बस्न, सेवाग्राहीलाई सेवा दिन, दुर्घटना भएर ल्याएका सवारी साधन राख्न लगायतको समस्या रहेको उनको भनाई छ । नयाँ भवनमा सरेपछि त्यस्ता समस्या नरहेको अधिकारीले जानकारी दिए ।

जरिवाना सिधै बैंक खातामा
ट्राफिक कार्यालय कास्कीले जरिवाना बैंकमार्फत सिधै खातामा जम्मा गर्न सुरु गरेको छ । त्यसका लागि कार्यालय हातामै बैंक काउन्टर सञ्चालनमा ल्याइएको छ । ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा पोखरा महानगरपालिका–९ नयाँ बजारस्थित ट्राफिक कार्यालयको भवनमा काउन्टर सञ्चालन ल्याएको हो । जिल्लाभित्र ट्राफिक व्यवस्थापन गर्ने क्रममा सवारी नियम उल्लंघन गर्ने चालकलाई कारवाही गर्ने सिलसिलामा सवारी नियम उल्लंघन बापत जरिवाना रकम बैंकिङ प्रणालीमार्फत सिधै ‘जरिवाना रकम राजश्व खाता’ मा जम्मा गरिनेछ । कारवाहीमा परेका सवारी चालकले जरिवाना रकम उल्लेखित रसिद लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तल्लो तलामा रहेको काउन्टरमा गई राजश्व दाखिला गराउनुपर्नेछ । बैंक काउन्टर स्थापनापछि ट्राफिक कामकारवाही सहज छिटो छरितो र पारदर्शी तरिकाले सञ्चालनका लागि सहयोग पुगेको अधिकारीले बताए ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width