कोरोनाले छेक्यो कोरियाको बाटो

धनबहादुर गुरुङ
फागुन ११, २०७७
foreignemploymentend

पोखरा । कक्षा १२ को परीक्षा सकेपछि कोरिया जाउँला भनेर भाषा सिक्न कस्सिएका स्याङ्जाका समिर मानन्धर अहिले निरास छन् । पोखराको बगरमा भाडाको कोठामा बसेर कोरियन भाषा परीक्षाको तयारीमा जुटेका थिए समिर । प्लस टु सकेर कोरियातिर मन डुलाएका समिरलाई ब्याचलर पढ्न मन भएन र कोरियाली भाषा तयारी कक्षामा पोहोर मंसिरमा भर्ना भए ।

असारमा इपिएस परीक्षा हुन्छ भनेर कस्सिएर पढेका पनि हुन् । चैतको अन्तिम सातातिर फर्म भर्ने गाइँगुइँ पनि चलेको थियो । उनलाई लाग्यो, अब फर्म भरेर परीक्षाका तयारीमा जुट्नुपर्छ । पढाइ पनि राम्रै भएको कारण परीक्षा दिन पाइन्छ भन्नेमा उनी ढुक्क थिए । चैतको पहिलो सातासम्म उनी हौसिएकै थिए ।

एक्कासी कोरोनाको महामारी सुरु भयो । त्यसपछि उनको उत्साहमा बादल मडारिन थाल्यो । अब परीक्षा के हुने हो भन्ने उनलाई पिरलो बढ्न थाल्दै थियो । यत्तिकैमा सरकारले चैतको ११ गतेदेखि लकडाउनको घोषणा ग¥यो । त्यसपछि भएका कापी किताब कोठामा थन्क्याएर तयारी कक्षाका लागि दिएको किताब झोलामा बोकी उनी स्याङ्जा नै फर्किए । घर गएर पनि पढ्न छाडेनन् । कतै परीक्षाको सूचना आइहाल्छ कि भनेर उनले किताबसँगको सम्बन्ध टाढा हुन दिएनन् ।

कोरिया जाने सपना पालेका युवा युवती परीक्षा मिति नतोकिँदा अन्योलमा परेका छन्

‘क्यालेन्डरको पाना पल्टाउँदै यतिका समय बित्यो, परीक्षाको टुंगो छैन,’ उनले भने, ‘अब पढेर पनि समयको बर्वादमात्र हो कि जस्तो भयो ।’ दसंै तिहार गाउँतिरै मनाए, त्यसपछि भाषा सिकाउने ठाउँबाट कक्षा फेरि सुरु हुने खबर आएपछि उनी पोखरा झरे । अहिले पनि उनलाई १ दिन त परीक्षा होला भन्ने आश छ । उनी पढिरहेका छन् । तर काम र कमाइबिना सहरमा कति दिन चल्छ र ? अहिले उनलाई पोखरा बस्न दिक्क लाग्न थालिसकेको छ ।

‘पोखरामा कोठा भाडामा बस्नुपरेको छ, परीक्षा दिन पाए घर जान्थें,’ समिरले भने,‘यही परीक्षाको लागि भनेर बसेको १ वर्षभन्दा बढी भइसक्यो, अब पनि परीक्षा भएन भने त गाउँको खोरिया खन्न लाग्नुपर्ला ।’ समिरजस्तै कोरिया जाने सपना पालेर हजारौंको संख्यामा परीक्षामा जुटेका युवा युवतीहरू परीक्षा मिति नतोकिँदा अन्योलमा परेका छन् । कोरोनाकै कारण अघिल्लो वर्ष अर्थात् २०२० मा पनि भाषा परीक्षा हुन पाएन । यो वर्ष चाँडै गर्ने भनेको परीक्षा पनि विभिन्न कारणले हुन सकेको छैन ।

परीक्षा दिन नपाएकाहरुको गुनासो कोरोनाले परीक्षा दिन पाएनौं भन्ने छ । परीक्षा दिएर नाम निकालेका युवायुवतीहरुलाई कोरोनाले रोजगारको लागि कोरिया जान पाइएन भन्ने छ । सन् २०१७ देखि कोरियन भाषा उत्तीर्ण गरेकामध्ये कतिपयले अहिलेसम्म पनि कोरिया जान पाएका छैनन् । परीक्षा उत्तीर्ण गरेर रोस्टरमा बसेका १० हजार र ‘लेबर परमिट’ आएर पनि जान नपाएका ५ हजार गरी अझै करिब १५ हजार जति कोरिया जान बाँकी रहेको इपिएस कोरिया शाखाले जनाएको छ ।

विद्यार्थीको मात्र होइन भाषा सिकाउने ठाँउको पनि गुनासो कोरोनाले मारमा परेको भन्ने नै छ । पोखरामा दर्जनभन्दा बढी भाषा केन्द्र छन् । कोरोनापछि धेरै विस्थापित हुने अवस्थामा छन् । परीक्षाको टुंगो नलाग्दा नयाँ विद्यार्थी भर्ना पनि नभएको पोखरा भाषा तालिम केन्द्र प्रालिका सञ्चालक हितकाजी गुरुङले बताए । ‘व्यक्तिगत संस्थालाई सरकारले हेर्ने कुरा त भएन, संस्थागत रुपमा समस्या लिएर गएको भए केही हुन्थ्यो कि,’ उनले भने । करिब १० महिना बन्द गरेर राख्दा आफूहरुलाई १०÷१२ लाखको घाटा लागेको उनको भनाइ छ । सिकाउने संस्थाको समस्या भन्दा पनि विद्यार्थीहरुको समस्या महत्वपूर्ण रहेको उनको भनाइ छ । परीक्षा दिने मात्र होइन, नाम निकालेर कोरिया जान नपाएकाहरुको समस्या ठूलो छ । रोस्टरमा नाम परेर २०२० सम्ममा जानुपर्नेहरुको हकमा अब नाम हटाउने कि के गर्ने भन्ने समस्याको सरकारले समाधान गरिदिनुपर्ने उनको भनाइ छ । ‘उनीहरुको हकमा ६ थप गर्ने कि भन्ने कुरा छ,’ उनले भने, ‘थप्छ या थप्दैन निश्चित छैन ।’ मानव संसोधन विकास केन्द्रले विद्यार्थीको मर्का बुझिदिएमा राम्रो हुने गुरुङले बताए ।

इपिएस शाखाका अनुसार लेबर परमिट आएर पनि जान नपाएकाहरूलाई नयाँ वर्षको सुरुमै बोलाउने भन्ने कुरा भए पनि अहिलेसम्म कोरियाबाट कुनै लिखित जानकारी आएको छैन । भिसा आएको ६ महिनाभित्र कोरिया गइसक्नुपर्ने हुन्छ । तर कोरिया सरकारले अहिले भिसाको म्याद थप गरिदिने गरेको छ । यसले गर्दा जान पाइएन भनेर आत्ती नै हाल्न नहुने इपिएस शाखाका निर्देशक इन्द्र गौतमले बताए । कोरिया सरकारले कोरोनाको कारण देखाएर नेपाल लगायत विभिन्न १६ देशबाट श्रमिकहरु बोलाउन अप्ठ्यारो मानिरहेको उनको भनाइ छ ।

कोरिया इपिएस शाखाले कोरियाली सरकारको स्वीकृती नभएका कारण परीक्षाको टुंगो लाग्न नसकेको जनाएको छ । कोरिया सरकारले अझै पनि नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको कारण परीक्षा र कामदार लैजाने काम ढिलो भएको शाखाका निर्देशक इन्द्र गौतमले बताए । ‘हामी हाम्रो तर्फबाट पहल गरिरहेका छौं, उनले भने, ‘पत्राचार गरिरहेका छौं, परराष्ट्रमार्फत पनि कुरा अगाडि बढाइरहेका छौं ।’

कामदार छनोटको काम भने भइरहेको निर्देशक गौतमले जानकारी दिए । ‘रोस्टर मिलाउने, मिति प्रमाणीकरण, लेबर कन्ट्याक्ट लगायत नेपालबाट हुने काम भइरहेको छ,’ उनले भने, ‘कोरिया सरकारले स्वीकृत दिने बित्तिकै परीक्षा र कामदार लैजाने काम अगाडि बढ्छ ।’ अघिल्ला वर्षसम्म पिबिटी अर्थात् पेपर बेस्ड टेस्ट हुने गरेकोमा यो वर्षदेखि सिबिटी अर्थात् कम्प्युटर बेस्ड टेस्ट हुने पनि उनले जानकारी दिए ।

खाडी जाने पनि रोकिए
श्रम तथा रोजगार कार्यालय पोखरामा कोरोनाको कारण पुनः श्रम स्वीकृति लिनेको संख्यामा कमी आएको छ । गत वर्षको तुलनामा यो वर्ष धेरै कमले पोखराबाट पुनः श्रम स्वीकृत लिएको श्रम तथा रोजगार कार्यालय, पोखराका कारखाना निरीक्षक छन्दनारायण श्रेष्ठले बताए । गत वर्ष मंसिर, पुस र माघ ३ महिनामा १० हजार ३ सय ७८ जनाले पुनः श्रम स्वीकृत लिएकोमा यो वर्ष सोही ३ महिनामा जम्मा १ हजार ७ सय ४६ जनाले श्रम स्वीकृत लिएको श्रेष्ठले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width