अनुगमन टोलीको नजर हार्डवयर पसलमा

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७७
Anugaman Photo 1

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा फागुन २ गते एउटा गुनासो दर्ता भयो । गुनासो थियो, निर्माण व्यावसायी संघ कास्कीको, त्यो पनि लिखित नै । आफूहरुले गर्ने निर्माणको काममा मूल्यवृद्धि, कृत्रिम अभाव, अनुचित नाफा लगायतको गुनासो थियो । बजार अनुगमन समयमा हुन नसकेको पनि समस्या थियो ।

मुख्यमन्त्री कार्यालयमा आएको गुनासो उद्योग, वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयमा पुग्यो । खाद्यतर्फको अनुगमनका केन्द्रित निर्देशनालयको टोली गुनासो पछि भने हार्डवेयर पसलतिर मोडिएको हो । धेरै समस्या रहेको भए पनि निर्माण सामग्रीमा गुनासो आएपछि निर्देशनालयको टोली आइतबार बजार अनुगमनमा निस्केको थियो । अनुगमन टोली पोखराको विभिन्न स्थानका ठूला अनि चलेका भनिएका हार्डवयरहरुमा पुगेको थियो । टोलीले पोखरा ५ पस्र्याङकोे जय जगदम्बा हार्डवयर, पोखरा १ हरिचोकको कुँवर हार्डवयर, पोखरा १० बुद्धचोकको प्रकाश हार्डवयर र पोखरा १७ बिरौटामा रहेको गाउँले हार्डवयरमा अनुगमन गरेको थियो ।

निर्माण व्यवसायीको गुनासो आएपछि प्रदेशको टोलीले ४ वटा हार्डवयर पसलमा अनुगमन गरेको छ

लकडाउनको समयमा व्यापारीले कृत्रिम अभाव र कालो बजारी गर्ने आशंकामा अनुगमन समितिले पोखरामा अनुगमन गरेको उद्योग, वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशका निर्देशक नारायण आचार्यले बताए । ‘निर्माणको काममा अत्यावश्यकीय सेवा अन्तर्गत पर्ने हार्डवयरहरुलाई मापदण्ड पूरा गरेर वस्तु बिक्री वितरण गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘निर्माण व्यावसायीले गुनासो गरेजस्तो समस्या देखिएन ।’ अनुगमनको क्रममा खरिद खाता र आयात खाता, बिक्री बिल हेरेको उनले बताए । गुणस्तर तथा नापतौल कार्यालय गण्डकीका सहायक अधिकृत रघुनाथ पौडेलको उपस्थितिमा निर्माण सामग्रीको गुणस्तर र तराजुको अवस्था अनुगमन गरिएको निर्देशक आचार्यले जनाए । ‘रंङरोगन लगायत म्याद नाघेर बेच्न नमिल्ने सामान पनि हामीले हे¥यौं,’ उनले भने, ‘म्याद नाघ्ने रङ, सिमेन्टमा त्यस्तो केही देखिएन ।’

अनुगमनका क्रममा कागजात सबै समान्य देखिएको उनको भनाइ छ । खरिद गर्दा लगाइएको ट्याग अनुसार तौल रहेको, सामग्री अभाव नरहेको, नापतौलका सामान अद्यावधिक रहेको, खरिद र बिक्री मूल्यमा अन्तर नरहेको र बजार नियमित नै रहेको भेटिएको आचार्यले बताए । ‘हामीले स्याम्पलको रुपमा ४ वटा हार्डवयरमा अनुगमन गरेका हौं,’ उनले भने, ‘गुनासो अनुसार भेटिएन्, यो सुरुआती मात्र हो हामीले अनुगमनलाई अझै निरन्तरता दिन्छौं ।’ जनताको गुनासोको सुनुवाई गर्दै अनुगमनलाई तिव्रता दिएर जनताको समस्याको समाधानमा तल्लिन रहने उनको भनाइ छ ।

गण्डकी उपभोक्ता हित संरक्षण मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले कागजहरु दुरुस्त देखिए पनि हार्डवयरका सामानमा बारम्बार उपभोक्ता ठगिने गरेको बताउँछन् । उनले भने, ‘अहिलेको अनुगमनमा कागज दुरुस्त छन्, तर सामान किन्ने बेलामा तौल र ट्याग उपभोक्ताले अनिवार्य रुपमा रुजु गर्नुपर्छ, यसो भए ठगिने क्रम कम हुन्छ ।’ बजारमा निर्माण सामग्रीको अभाव नभेटिएको बताए । नमुनाको रुपमा ४ वटा पसलमा पुग्दा कुनै समस्या नदेखिए पनि आगामी दिनमा अझै अनुगमन गर्दै जाने उनको भनाइ छ । ‘गुनासोमा भनिएजस्तो अनुचित नाफा लिएको भेटिएन,’ कोइरालाले भने ।

आइतबारको अनुगमनमा वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयको टिम, गुणस्तर तथा नापतौल कार्यालय गण्डकी प्रदेशका सहायक निरीक्षक रघुनाथ पौडेल, जिल्ला प्रशासन कार्याल, कास्कीका प्रशासकीय अधिकृत रामप्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक निरीक्षक राजेन्द्र पौडेल, उपभोक्ता संरक्षण मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला खटिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width