मोबाइल वितरक संघ गण्डकीमा मनोहर

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७७
mobile bitarak

पोखरा । नेपाल मोबाइल वितरक संघ गण्डकीको अध्यक्षमा मनोहरप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको पाँचौ साधारणसभा तथा तेश्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा सुशिल कुमार गुरुङ, उपाध्यक्षमा जीवन ढुंगाना, सचिवमा विनोद केसी, सहसचिवमा चिन्तामणी खरेल र कोषाक्ष्यक्षमा सुनिले श्रेष्ठ चयन भए । यस्तै, सदस्यहरुमा सुदिप कँडेल, पुरूषोत्तम पौडेल, मुक्तिनाथ त्रिपाठी, केशब पराजुली र संजय श्रेष्ठ छन् । सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष शिबराज पहारी र दिनेश श्रेष्ठलाई चयन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मोबाइल फोन इम्पोर्टर एशोसियसनका अध्यक्ष दीपक मल्होत्राले नेपालको बजार साँघुरो भएका कारण नेपालमै मोवाईल उत्पादनको उद्योग चलाउन नसकिने बताए । ‘नेपालमा केहि उत्पादन हुँदैन । सबैकुरा आयात गर्ने हो,’ उनले भने, ‘सबै चिज ल्याएर जोडेर मात्रै उद्योग चल्दैन । कुन ब्राण्डको मोबाइल बनाउने ? अहिलेको अवस्थामा त्यो सम्भव छैन ।’ उनले वर्तमान समयमा मोवाईल क्षेत्रको सबैभन्दा ठूलो चुनौति चोरी र भन्सार छली नै भएको बताए ।

‘चोरीका सामान बजारमा बढेको छ । भन्सार छलेर ल्याएका सामान हरु बेचिएका छन्,’ उनी भन्छन्, ‘त्यसको अनुगमन र कारबाही हुँदैन । हामीजस्तो राज्यको नीतिभित्र बसेर व्यापार गर्नेहरु बढी समस्यामा पर्छौं ।’ राज्यको नीतिका कारण चोरी बढी भएको उनले सुनाए । कोभिडको समयमा भने मोवाईलको ब्यापार राम्रो भएको उनको भनाई छ ।

मोवाईल वितरक संघ नेपालका अध्यक्ष दिनेश चुल्याधोले कुनै जानकारी र योजना विनै मोवाईलको व्यापारमा आउँदा धेरैको लगानी डुबेको बताए । नेपाल उद्योग वाणिज्य संघ गण्डकीका अध्यक्ष संजीवबहादुर कोइरालाले सरकार व्यवसायी र उद्योगी मैत्री नभएको गुनासो गरे । बैदाम प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले मोवाईलको चोरी निकासी रोक्न निकै कठिन भएको बताईन् । ‘धेरै प्रयास गरिएको छ । तर सफल भएको छैन । यता चोरिएका मोवाईल भन्सार पारी बोराका बोरा भेटिन्छ । उता चोरिएको यता आउँछ,’ उनले भनिन्, ‘यसको नियन्त्रण गर्ने मेकानिज्म बन्न सकेको छैन । यो साझा एजेण्डा बनाएर चोरी पैठारी रोक्ने प्रयास गरौं ।’ कार्यक्रमका सहभागीहरुले मोवाईल व्यवसाय अझै मर्यादित हुन नसकेको गुनासो गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width