विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७७
binduwasini sanskrit campus news

विन्दुवासिनी संस्कृत विद्यापीठमा छात्रावास भवन निर्माण गरिएको छ । १८ कोठासहितको तीनतले भवनको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले उद्घाटन गरे ।

अध्यक्ष प्राडा सुवेदीले संस्कृत शिक्षा समयसापेक्ष रुपमा जीवनोपयोगीका साथै समाजोपयोगी बनाउनेतर्फ क्रियाशील बन्नुपर्ने बताए । संस्कृत भाषा, साहित्य र पम्परा हाम्रो जन्मदेखि मृत्युपर्यन्त जोडिँदै आएको उल्लेख गर्दै उनले संस्कृत प्रदत्त ज्ञानको सदुपयोगका लागि भाषा जीवन्त हुनुपर्ने आवश्यकता औंल्याए ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रसाद लामिछानेले संस्कृत शिक्षाप्रति पोखराको लगाव अनुकरणीय भएको बताउँदै विद्यापीठको आवश्यकता अनुसार अन्य आवाशीय भवन, पुस्तकालय आदि निर्माणतर्फ सोच बनाएर अघि बढीने विश्वास व्यक्त गरे ।
विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधवप्रसाद अधिकारीले संस्कृतमा सबै छ भन्ने नभै यो छ भनेर देखाउनुपर्ने बेला आएको बताए ।
विन्दुवासिनी संस्कृत विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बरालले सबैको साथ र सहयोगमा विद्यापीठलाई गण्डकी प्रदेशकै संस्कृत शिक्षाको केन्द्रका रुपमा विकास गरिने बताए ।

विद्यापीठका प्राचार्य नारायणप्रसाद सापकोटाले विद्यापीठमा फलित ज्योतिषको स्नातकोत्तर तहको पठनपाठका लागि आवश्यक प्रक्रिया पूरा गरी सञ्चालनको तयारी गरिएको जानकारी दिए ।

संविधानसभा सदस्य एवं विद्यापीठ विकास समितिका पूर्व सदस्य शारदा पौडेलले संस्कृत शिक्षाको गरिमा र महत्वलाई आत्मसात गर्दै विद्यापीठ स्थापना गरिएको स्मरण गरिन् ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले संस्कृत शिक्षाको विकसित मुलुकले यो वा त्यो रुपमा उपयोग गरिरहे पनि संस्कृत अनुयायीले अझै पनि यसको महत्वलाई आत्मसात गर्न नसकेको बताए ।

सो अवसरमा विद्यापीठ विकास समितिका पूर्व अध्यक्ष ऋषि सापकोटा, विष्णुप्रसाद बराल, विन्दुवासिनी संस्कृत विद्यापीठका पूर्व प्राचार्य प्राडा शालिकराम सुवेदी, सहप्राध्यापक श्रीराम बराल र नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कार्यकारी परिषद् सदस्य एवं नेपाल प्राध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठ इकाइ सभापति सहप्राध्यापक अम्बिकाप्रसाद भट्टराई, नेपाल प्राध्यापक संघ नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय उपसभापति आनन्दमणि रिजाल, प्रजातन्त्रवादी प्राध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठका अध्यक्ष डा जगन्नाथ रेग्मी, प्रगतिशील प्राध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठका श्यामप्रसाद पौडेल, संस्कृत मावि अध्यक्ष ईश्वरलाल श्रेष्ठ, चिसाखोला वेद विद्याश्रमका प्रअ श्रीराम तिमल्सिना, स्ववियु प्रतिनिधि दीपेश पराजुली लगायतले संस्कृत शिक्षाको महत्वबारे चर्चा गरे ।

विद्यापीठ विकास समिति अध्यक्ष परशुराम बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राधाकृष्ण गैरेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width