डिभोर्सले डोर्‍यायो चुचुरो

धनबहादुर गुरुङ धनबहादुर गुरुङ
फागुन ६, २०७७
Hira Malla Photo

पोखरा । बिहेको ४ वर्ष नबित्दै पतिले कान्छी भित्राएपछि हीराको जीवनमा दरार आयो । २०५७ सालमा बिहे गरेकी स्याङ्जा बहाकोटकी हीराकुमारी मल्लका एक छोरा र एक छोरी छँदै थिए । परिवार हाँसीखुसी नै थियो । जीवन सहज चल्दै थियो ।

तर २०६३ सालतिर हो । पेसाले ड्राइभर पति एक युवती लिएर घर आए । अपरिचित अनुहार एकाएक दैलो छिरेपछि हीरालाई लाग्यो, ‘कोही होला ।’ सोधपुछ सुरु भयो । हीराको प्रश्न भुइँमा खस्न नपाउँदै पतिले जवाफ पर्काए–‘मेरो श्रीमती ।’ ती युवतीले पनि विवाहकै संकेत दिइन् । यो घटनाले हीरा छाँगाबाट खसेझैं भइन् ।

त्यस दिनपछि उनको मनमा सन्तोषले ठाउँ लिएन । ‘चटक्कै छाडेर अन्त कतै बस्ने झोक नचलेको होइन,’ हीराले भनिन्, ‘साना लालाबाला थिए । तर काखेबच्चाको लागि आमाको माया सम्झिएँ ।’

केही दिन त घरमै बसिरहिन् । जे भयो भयो अब मिलेर बसौं भन्ने प्रस्ताव गरिन् । तर प्रस्ताव ठाडै अस्वीकार भयो । ‘छोराछोरीको भविष्य हेरेर मिलेर बसौं पनि भनेकी हुँ,’ उनले विगत सम्झिइन्, ‘अर्कीले उल्टै कति पैसा चाहिएको हो, बिटा फाल्दिन्छु भन्दै धम्की दिइन् ।’

पतिको हेलत्व र कान्छीको रुखो वचन सहीसाध्य भएन । अन्त्यमा डिभोर्स रोजिन् । २०६३ सालमा डिभोर्स लिएर हानिइन्, माइतीगाउँ बहाकोटतर्फ । त्यो बेला उनका छोरा मात्र ५ र छोरी २ वर्षका थिए ।

अदालतको फैसलामा छोराछोरी आफूसँग राख्ने तथा पालनपोषण, शिक्षा, स्वास्थ्यमा लाग्ने खर्च बाबुले नै व्यहोर्ने भन्ने थियो । तर छोडपत्रको दिनदेखि फर्केर पनि हेरेनन्, पतिले । छोराछोरीको भविष्यको लागि काम खोज्ने निधोमा पुगिन् । त्यसबेला उनकी बहिनी विष्णु मल्ल पोखरा बस्थिन् । २ महिना जति माइतीघर बहाकोटमै बसेर बहिनीकै सल्लाहमा २०६३ सालमै पोखरा झरिन् ।

विष्णु लेकसाइडस्थित थ्रि सिस्टर एड्भेन्चर ट्रेकिङमा काम गर्थिन् । गाइड गर्न भन्दै बहिनी बाहिर निस्किस्थिन् । पहिलो पटक हीराले ‘गाइड’ शब्द सुनिन् । पछि उनलाई पनि त्यस्तै काम गर्ने इच्छा व्यक्त गरिन् । अर्को वर्षदेखि काम थालिन् । सुरुमै ट्रेकिङ रुट पर्यो–अन्नपूर्ण आधार शिविरसम्म । बाटामा भेटिने प्राकृतिक छटाले विगतको दुःख भुलाउँदै गयो । मनमा रौनकता थपिदियो । उनी जोमसोम मुक्तिनाथ, मर्दी आधार शिविर, धम्पुस जताततै पुगिन् । बिस्तारै आम्दानी पनि राम्रै हँुदै गयो । कमाइले आफूसहित छोराछोरीको लालनपालनमा टेवा मिल्यो । अनुहारमा नयाँ कान्ति छायो । अब केही गर्न सक्छु भन्ने आँट पलाउन थाल्यो । आफू ट्रेकिङ हिँड्दा बुहारी र बहिनीले छोराछोरी हेरिदिने गरेको उनी बताउँछिन् ।

हीरा अहिले ४३ वर्ष पुगिन् । ३२ वर्षको उमेरदेखि ट्रेकिङमा थालेकी हुन् । त्यसबीचमा २०७२ सालको भूकम्प प्रभावले केही महिना काम पाइएन । आराम गरिन् । त्यसयता खाली बस्नु परेको छैन । तर गत चैतदेखि भएको लकडाउन मारमा परिन् । पहिले बचाएर राखेको पैसा निकाल्दै जीवन धान्न बाध्य बनायो उनलाई ।
हक्की स्वाभाव, आँटिली अनि इमानदार उनको स्वाभाव नै थियो । त्यो बीचमा नेपाल पर्वतारोहण संघ, गण्डकीले हिमाल चढ्ने कार्यक्रम अगाडि सा¥यो । हिमाल आरोहण कार्यक्रममा महिला पनि सहभागी गराउने पर्वतारोहण संघको योजना थियो । त्यही बीचमा संघको नजरमा परिन् मल्ल ।

उनलाई संघले जानकारी पनि गरायो । लकडाउनमा घरमै बसिरहेकी मल्ललाई हिमाल आरोहण गर्ने प्रस्तावले उत्साहित बनायो । ५ हजार ५ सयसम्म ट्रेकिङ गरिरहेको उनलाई सकिन्छ भन्ने आँट पनि आयो । ट्रेकिङको समयमा नजिकै देखिने हिमालको चुचुरोमा पुग्छु भन्ने मनमा हुट्हुटी चल्थ्यो । मनको ईच्छा पर्वतीय संघले पूरा गरिदिने भएपछि फुरुङ्ग थिइन्, उनी ।

मुस्ताङको ६ हजार १२ मिटर उचाइको धम्पुस पिक चढ्न उनीसहित १० जनाको टोली बन्दोबस्तीसहित पुस २७ मा पोखराबाट बिदाइ भए । टोलीमा ३ जना प्रशिक्षक पनि थिए । टोली पहिलो दिन मुस्ताङको मार्फा, दोस्रो र तेस्रो दिन याक खर्क (४२०० मिटर), चौथो र पाँचौं दिन धम्पुस हिमाल बेस क्याम्प (५२०० मिटर) मा बास बसेको थियो । छैटौं दिनमा धम्पुस पिकको सेकेन्ड टपसम्म जसोतसो पुगे । बढी हावा चलेका कारण सबै जान नसक्ने भनेपछि चुचुरोमा पुग्नेको नाम छनोट हुन थाल्यो । छनोटमा नपरिने हो कि भन्ने उनको मनमा डर थपियो । तर दरो आँट लिएर जान्छु भन्ने निधोमा पुगिन् । उनीसँगै महिला साथी मनु गुरुङ पनि थिइन् ।

राति २ बजे उनीसहित ६ जना चुचुरो चुम्न अगाडि बढे । बाटोमो हावा चलेको कारण केही असहज भएको उनले बताइन् । वेगले चलेको हावाको गतिलाई छिचोल्दै माघ ३ गते बिहान ११ बजेर ४८ मिनेटमा सफल धम्पुस पिकको सफल आरोहण गरिएको उनले सुनाइन् । थापा पिकको नामले पनि चिनिने धम्पुस पिकको चुचुरोसम्म पुग्ने टिममा उनीसहित सुदीप गौतम, दीपेशबाबुु सुवेदी, टासी पासाङ गुरुङ, मनु गुरुङ र सनकुुमार जुग्जाली छन् ।

जब चुचुरोमा पुगिन्, उनको मन चंगा भयो । ‘सबैभन्दा पहिला आमा सम्झिएँ,’ उनले भनिन्, ‘अनि छोराछोरी र आफन्त सम्झिएँ ।’ त्यस क्षण बाटोमा भोगेका कठिनाइ मात्र नभइ श्रीमान्ले अर्को श्रीमती ल्याएपछि पाएको दुःख समेत भुलेको बताउँछिन् । ‘हिमाल चढ्नु मेरो पहिलादेखिकै इच्छा हो, चढें,’ उनी भन्छिन्, ‘अब जस्तोसुकै हन्डर परे पनि सहन्छु भन्ने साहस पलाएको छ ।’

धम्पुस पिक आरोहण गरेका ६ जनासहित १० सस्ययीय टोली नै पोखराबाट हिडेको आठौं दिनमा सकुशल पोखरा फर्केको छ । टोलीलाई अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, पोखराको १८ औं स्थापना दिवसमा सम्मानसमेत गरिएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads