कांग्रेस महाधिवेशन भदौ पहिलो साता प्रस्ताव

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७७
congress

पोखरा, ५ फागुन । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौको पहिलो साता गर्ने प्रस्ताव गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिमा १४ औं महाधिवेशनको लागि तिथि प्रस्ताव गरिएको हो ।
पार्टी महामन्त्री पूर्णबहादुर खड्काले २०७८ भदौ ७ देखि १० सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बुधबारदेखि कार्यसमिति बैठक सुरु भएको हो । कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी र सदस्यको पदावधि ४ वर्षको रहेको र असाधारण स्थितिमा १ वर्ष थप गर्न पाउने व्यवस्था छ ।

महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानमा व्यवस्था भए अनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

यसैगरी, गाउँनगरको वडा अधिवेशन असार २० मा, गाउँ नगरपालिकाको अधिवेशन असार २२ मा, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ मा, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन १ मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ मा, १ भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० र प्रदेश अधिवेशन साउन ६ मा गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको जनाइएको छ ।

बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले उक्त मितिलाई परिमार्जनसहित अगाडि सार्नुपर्ने बताएका छन् । उनले प्रतिनिधिसभा पुनःस्र्थापनाको पक्षमा, अविश्वास प्रस्तावको पक्षमा र संवैधानिक निकायमा भएका नियुक्तिको खारेजी गर्नुपर्ने निर्णय पार्टी गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

काँग्रेसको १३ औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो । विधानको हालको व्यवस्थाअनुसारवर्तमान केन्द्रीय समितिको समयावधि यही फागुन १९ गतेसम्म छ ।

बैठकमा महामन्त्री खड्काले पार्टीका विभिन्न पदमा उम्मेदवार हुन निरन्तर क्रियाशील सदस्य भएको अवधि तोकिएकामा उक्त क्रियाशील सदस्यको ‘अवधिसम्बन्धी व्यवस्था’ निलम्वन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

तर पार्टीको केन्द्रीय सभापति, केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य, प्रदेश सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, महानगरपालिकाको सभापति र उपमहानगरपालिकाको सभापतिका लागि यो व्यवस्था निलम्वन भएको नमानिने पार्टीको विज्ञप्तिमा उल्लेख छ ।

अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिको हकमा क्रियाशील सदस्यताको अवधि गणना गर्दा कांग्रेसको जुन पदमा हाल समायोजन भएका छन्, उक्त पदका लागि आवश्यक अवधि पुगेको मानिने छ । उक्त अवधि आवश्यकपर्ने अन्य पदमा समेत उम्मेदवार हुन योग्य मानिने छन् । तर पार्टीको केन्द्रीय सदस्यमा पदासिन व्यक्ति न्यूनतम १० वर्ष निरन्तर क्रियाशील सदस्य हुनुपर्ने पदमा उम्मेदवार हुन पाउनेबाहेक अन्य व्यक्ति जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति, महानगरपालिका र उपमहानगरपालिकाको सभापतिमा उम्मेदवार हुन पाउने छैन ।

बैठकमा केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि आगामी असार ७ गते प्रस्ताव गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width