३ वर्षमा अभूतपूर्व काम भएकाे छ : मन्त्री विकास लम्साल 

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७७
bikash lamsal (1)

प्रदेश सरकारले तेस्रो वर्ष पूरा ग¥यो । कार्यसम्पादनमा सन्तुष्ट हुनुहुन्छ ?
म पूर्ण रुपमा सन्तुष्ट छु । नयाँ संविधान जारी भइसकेपछि यो नयाँ संरचना हो । हामी आउँदा न हामीसँग मन्त्रालयको भवन थियो, न अफिस व्यवस्थापन थियो । न कानुन थियो, न जनशक्ति थियो, केही पनि थिएन । हामीलाई वन कार्यालयको एउटा कोठामा लगेर मन्त्रालय भनेर राखिएको थियो । त्यसपछि मन्त्रालयलाई स्थापित गर्ने काम ग¥यौं, कानुन, संरचना बनाउने कुरा ग¥यौं । तपाईंले सातै प्रदेशका सबै कुरा हेर्नुहुन्छ भने अझ हाम्रोमा वाणिज्य, आपूर्ति, विज्ञान, प्रविधि, वातावरण, जलवायु लगायत धेरै कुरा छन् । ८ वटा जिम्मेवारी छन् । संघीय मन्त्रालयले हेर्ने काम हेरौता कस्तो काम गरेका छौं, हामीले । डिभिजन वन कार्यालयको अफिसलाई मन्त्रालयको रुप दिँदा कति मेहनत गर्नुप¥यो होला । हाम्रा ऐन हेर्नस्, गण्डकी प्रदेशभित्रको एउटा रिभरबेसिनलाई व्यवस्थित गर्न हामीले ताल प्राधिकरण बनायौं । ताल प्राधिकरण ऐन ल्यायौं । संरचना बनायौं । त्यसले केही सामान्य कामहरु ग¥यौं । यसको कति राम्रो इम्प्याक्ट छ । हामीले विज्ञान प्रविधिको क्षेत्रमा ऐन ल्यायौं । यो प्रदेशले यो काम गर्न सक्छ भने प्रश्न उठेका काममा हाइटेक नर्सरी, १० फिटभन्दा माथिको बिरुवा रोप्ने अभियान, ढलेका काठ सहज रुपमा बजार ल्याउने काम गरेका छौं । थोरै बजेटमा धेरै उपलब्धि यो मन्त्रालयले लिएको छ । एउटा खाद्यवस्तु परीक्षण गर्न अहिले पनि बुटवल जानुपर्छ ।

मन्त्री १ जना हुनुहुन्छ, मन्त्रालय एउटै भए पनि धेरै जिम्मेवारी छ । काम कसरी गरिरहनुभएको छ ?
यो नियम संघले बनायो । हामीले संविधान दिए अनुसार १० देखि १२ वटा बनाउने भन्यौं । तर अहिले मन्त्रालय बढाउँदा सकारात्मक सन्देश जान्न कि ? जनताले धेरै सेवासुविधा लिए भन्ने हुन्छ कि ? पहिला हामीले कानुन, संरचना बनाऔं अनि काम गर्दै जाँदा आवश्यकता अनुसार मन्त्रालय थपौंला भनेर त्यही अनुसार ग¥यौं । सबै मन्त्रालयको सबै काम पनि छैन नि त । पर्यटनको पोखरामा बाहेक हाम्रो अफिस नै छैन । आवश्यकता अनुसार पर्यटन मन्त्रालय एउटा छुट्टै चाहिन्छ किनभने गण्डकी प्रदेश पर्यटनको राजधानी हो । पर्यटनको धेरै सम्भावना बोकेको छ । पर्यटनबाट हामीले समृृद्धि हासिल गर्ने भनेका छौं तर अहिले मन्त्रालय मात्र बनाएर संरचना र जनशक्ति भएन भने त्यो त भएन । पर्यटन भनेको नीति बनाइदिने हो । वातावरण निर्माण गरिदिने हो । त्यो त निजी क्षेत्रले लगानी गर्ने हो । हामीले जनतालाई सेवा दिँदा आवश्यकता पर्ने कुरा भोलि बढाउन सकिन्छ तर अहिले काम गर्न कुनै कुरा रोकिएको छैन । प्रदेश लोक सेवा आयोग बनाएर हाम्रै जनशक्ति लिन सक्यौं भने राम्रो हुन्छ । संघीय सरकारले स्थानीय र प्रदेश सरकारले केही जनशक्ति दियो तर त्यो जनशक्ति ‘घरपाइ परेको, रिटायर्ड हुन लागेको’ भयो । त्यस्तो हुँदा हामीलाई काम गर्न अलि गाह्रो भा’छ । तर त्यसलाई अझ व्यवस्थित गछौं । प्रयास भइराखेको छ ।

प्रदेश सरकार काममा निरन्तर लागिरहेको छ । ३ वर्षमा गण्डकीका नागरिकले प्रदेश सरकार नजिकै रहेको अनुभूति कसरी गर्न पाए ?
प्रदेश सरकारले गरेको कामबाट जनता पूर्ण रुपमा सन्तुष्ट छन् । अब अहिले के भा’छ भने हामी ३ तहका सरकारमा छौं । तर हाम्रो एउटै स्वर, एउटै लय एउटै ताल चाहिँ भा’छैन । किनभने हामीले यो संविधान बनाउने बेलामा पनि संघलाई अलि बलिायो बनाएर त्यसले अन्तर्राष्ट्रिय स्रोत खोज्ने, कानुन बनाउने, अरु रिसर्च गर्ने र नजिकको सरकारले सञ्चालन गर्ने बनाउनुपथ्र्यो । हामीले त्यो बेलामा ३ वटै तहलाई बलियो बनाऔं भन्यौं । यो संसारमा थोरै देशहरुमा मात्र हो प्राक्टिस । हामीले स्थानीय तहलाई प्रदेशबाट अलिकति निर्देशित गर्ने ग¥या भए हुन्थ्यो । तर प्रदेशलाई संघले गलत ग¥यो भने नियन्त्रण गर्न सक्छ तर स्थानीय तहलाई नगर्दा अलिकति हाम्रो प्रदेश नयाँ संरचना भयो, नयाँ प्रयोग भयो । हामीले धेरै राम्रो काम ग¥या छौं । तर यसको प्रचार गर्ने संयन्त्र पार्टीले पनि गर्दैन । स्थानीय तहले पनि गर्दैन । स्थानीय तहले पनि आफ्नै कुरा गर्छ प्रदेशको गर्दैन । अहिले गण्डकी प्रदेशमा भौतिक पूर्वाधारमा हामीले गरेको काम हेर्नुुस् त हामीले सन्तुलित विकासका लागि, समावेशी विकासका लागि कसैलाई तलमाथि नगरी ३६ वटै निर्वाचन क्षेत्रमा दिगो विकास लक्ष्य भेट्न गरेको विकास हेर्नुस त । हामीले स्टाटस पेपर बनायौं, पञ्चवर्षे योजना बनायौं ।

पर्यटनमा हामीले एउटा हलचल ल्यायौं । यहाँका पर्यटन व्यवसायीको लगानी प्रकृति र संस्कृतिले दिएको एउटा आकर्षण पनि थियो

२५ वर्षको लागि भिजन आवधिक योजना तय गरेका छौं । यी कुराको प्रचार भएको छैन । अहिले प्रदेश सरकारलाई कमजोर ठानिएको छ । यो प्रदेश सरकारले गरेको काम त समय आउँदै जाँदा मान्छेले बुझ्दै जान्छन् । ए नजिकको सरकार त प्रदेश सरकार रहेछ । छिटो समस्या समाधान गर्ने त प्रदेश सरकार रहेछ । योजनावद्ध हिसाबले काम गर्ने त प्रदेश सरकार रहेछ भन्ने भएको छ । ३ वर्षको बच्चालाई ३० वर्षको जस्तो प्रतिफल खोजेर हुन्छ र ? यस्को उमेर कति भयो यसले गरेको कामको समय कति भयो, गरेका काम कस्तो दिशातर्फ जान खोज्या छ त्यहाँबाट मूल्यांकन गरेर हेर्नुस् त । त्यो कुरा हामीले जनतासामु लैजाऔं त । सबैभन्दा प्यारो प्रदेश सरकार हुन्छ, मलाई त्यो विश्वास छ ।

जनताका अपेक्षा सरकारसँग मनग्गे छन् । ती अपेक्षा पूरा गर्न प्राथमिकता क्रम कसरी तोकेर काम गर्दै आउनुभएको छ ?
गएको निर्वाचनमा जनताले संयुक्त वाममोर्चालाई धेरै ठूलो अपेक्षा सहित समर्थन गरे । अब स्थिरता कायम हुन्छ, विकासले फड्को मार्छ, मुलुक समाजवाद उन्मुख बाटोमा जान्छ भनी धेरै ठूलो अपेक्षा जनतामा थियो । हामीले त्यही अनुसार काम गर्न संरचना तयार गर्नुपर्ने वातावरण बनाउनुपर्ने भएकोले सुरुदेखि अलि अल्मिलियौं । त्यो कुरा त अहिलेको परिस्थितिले पनि सबै कुरा बाहिर आइसक्या छ । बाहिर जति कुरा गरे पनि पार्टीभित्र समस्या रहेछ भन्ने त सबैलाई थाहा छ । यो समस्या तत्काल निर्माण भएको होइन । तर पनि यस्तो परिस्थितिमा हामीले जे काम गरेका छौं, त्यो अहिले मान्छेले अनुभूति गर्र्दै छन् । अहिले पूर्वाधार क्षेत्रमा हेर्नुस्, आर्थिक क्षेत्रमा हेर्नुस्, सामाजिक क्षेत्रमा हेर्नुस् । विगतमा ठूलाबडाले मात्र राज्यबाट सेवा सुविधा पाउँथे । अहिले ३१ हजार मान्छेले राज्यकोषबाट स्वास्थ्यका लागि सुविधा पाए । ३१ हजारलाई करको दायरा भित्र ल्यायौं । आर्थिक आम्दानीमा राम्रो भएको छ । अहिले तपाईं जुनसुकै गाउँमा जानुस्, कुनै न कुनै नयाँ काम भएको छ । यसरी यो ३ वर्षमा मुलुकले आर्थिक विकासका लागि, पूर्वाधारका लागि जति काम भएका छन् त्यो काम विगतमा भइदिएको भए हाम्रो देश कहाँ पुग्थ्यो होला ? यो त स्वर्णीम युग नै हो भन्छु म । २०५१ सालको मनमोहन अधिकारीको सरकारले गरेको वृद्धभत्ताको अहिलेसम्म प्रशंसा छ । तर अहिले सरकारले यति धेरै काम गर्दा वास्ता छैन ।

धेरै जिम्मेवारी रहे पनि प्राथमिकतामा पर्यटन नै छ । हुन त यो वर्ष पर्यटनको बजेट धेरै नै कटौती भएर आयो । पर्यटनमा कुरा धेरै भए उपलब्धि किन कम भएको होला ?
हामी आउने बित्तिकै २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्ष, २०२० लाई भिजन–२०२०, २०२१ लाई पूर्वाधार वर्ष, २०२२ लाई गण्डकीमै २० लाख पर्यटक ल्याउने भनेर संयोजक तोकेर काममा लाग्यौं । हामीलाई पहिला ऐन नियम बनाउँदै ढिला भयो । घोषणा भयो केही काम भएन भनेर ७ वटा प्रदेशमा गएर एउटा मिसन पनि सफल बनायौं । पछि भ्रमण वर्ष पनि मनायौं । तर कोभिड आएपछि रोकियो । हामीलाई बजेटको अभाव थिएन । ऐन कानुन अभाव थियो । हामीले बनाउँदै थियौं । फेरि अहिले रोकिएको छ । हाम्रो मन्त्रालयमा वनको संरचना बढी छ किनभने हाम्रो सचिव पनि वन मन्त्रालयबाट मात्र आउने भएकोले पर्यटन, उद्योग वन बुझ्न समस्या भएको छ । जुन ठाउँमा गएर मसिनो गहिरो गरेर हेर्नुस्, त्यही ठाउँमा राम्रो काम भएको छ । पर्यटनमा हामीले एउटा हलचल ल्यायौं । यहाँका पर्यटन व्यवसायीको लगानी प्रकृति र संस्कृतिले दिएको एउटा आकर्षण पनि थियो । त्यस्तै वनमा हेर्नुस्, वनमा पनि हामीले राम्रो काम ग¥या छौं ।

उद्योगतर्फ २० उद्योगग्राम र २ वटा प्रदेशस्तरका उद्योगग्राम बनाउने भने लोकाहा खोला र भोटेपोखरीमा त हाम्रो काम नै सुरु भइसक्या छ । उपभोक्ता हितमा पनि नियमावली बनाएर बजार अनुगमनलाई प्रभावकारी बनाएर काम भएको छ । हिजो हाम्रा जिल्लामा भएका घरेलु कार्यालयहरु नवीकरण र दर्तामात्र गर्थे आज तिनीहरु बजार अनुगमन गर्न निस्क्या छ । केही कुरा गरौं भनेर प्रजातान्त्रिक हिसाबले गयो भने त्यो कुरालाई गलत हिसाबले व्याख्या गर्ने भएको हुनाले गाह्रो छ । हामीले पर्यटनका लागि के–के सम्भावना छन् त फेवाताललाई कसरी व्यवस्थित गर्ने, प्रदेशभित्र भएका ताल, पोखरी, कुण्ड, कुवा, कोटहरु र गुफालाई कसरी व्यवस्थित गर्ने, पर्यटनसँग जोडिने प्रकृतिले दिएका घाट, देउराली र ऋषिमुनिले तपस्या गरेका ठाउँमा कसरी योगसँग पर्यटनलाई जोड्ने भन्ने कुरा त हामीले गरेका छौं नि त । शालिग्राम संग्रहालय हामीले बनाएको हो । पुम्दीकोट समुदायले बनाए पनि हामीले साथ दिएर अन्तिम रुप दिन लागेको छौं । काँहुडाँडामा यशोधरा पार्क बनाउन खोजेका छौं । यी कुरा त हिजो समुदायले गर्न खोजेका थिए । प्रदेश सरकार आएपछि यिनलाई त अगाडि लान खोज्या छ नि त । तर यसलाई व्यवस्थित हिसाबले जनताको बीचमा प्रदेश सरकारले गरको हो भनेर पु¥याउन सकेका छैनौं । तपाईको मिडिया मार्फत यो ३ वर्ष अवधिमा भएका काम सकारात्मक हिसाबले जाओस् ।

आफ्नै कामप्रति कति सन्तुष्ट हुनुहुन्छ ?
शपथ खानेबेलामा मनमा मात्र कल्पना हुन्थ्यो । अहिले यो ३ वर्षमा त मैले धेरै ठूलो अध्ययन गर्ने मौका पाएको छु । वास्तवमा काम गर्न, सरकारमा नेतृत्व लिन ठाउँमै पुग्नपर्ने रहेछ । हिजो पार्टीमा हुँदा यो भए म गर्ने थिएँ भन्ने हुन्थ्यो । काम गर्दा चाहिँ सबैलाई सँगै लिएर जानुपर्ने हुन्छ । यो त नेपालको लागि त ठूलो अवसर हो नि त । हामीले क्षमता विकास गर्दै आर्थिक स्रोत विकास गरेर काम गरेको भए छिटो प्रतिफल दिन सक्थ्यौं । हामीले बजेट हेरेनौं र मागलाई मात्र हेरेर अगाडि बढ्न खोज्दा थोरै अप्ठेरो पारेकै हो । हामीले सडक मात्र बनाएर त भएन नि सडक बनाउने त संघ पनि छ । स्थानीय तह पनि छ । हामीले वातावरण ऐन ल्यायौं । त्यसपछि आइई इआइए नगरी बाटो खन्न सुरु नै नगर्नु भनी ८५ वटा स्थानीय तहलाई पत्र पठाइयो । ऐन कानुन पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य हो । कसैले कार्यान्वयन नगरे हामी नै गर्छौैं भनेका छौं । सरोकारवाला, मानवअधिकारवादी, पत्रकार सबैले यस्तो ऐन बनेको छ भनेर नागरिक समाजले पनि त्यो कुरा उठाउन प¥यो नि । अनि कार्यान्वयन भएन भने हामी स्थानीय प्रशासन लगायत हाम्रो सरोकारवाला बोलाउँछौं । मानिसले संघीय ऐन महत्वको साथ हेर्ने तर प्रदेशको ऐन दराजमा राख्न बनाएको त होइन नि । त्यो पनि कार्यान्वयनमा लैजाने हो । ऐन बनाउँदा संघले पनि नियमावली बनाउने जस्तो व्यवहार गरेको छ । वन ऐनमा प्रदेश सरकारलाई बढी अधिकार दिइएको छ । तर ऐन बनाउँदा सबै अधिकार आफूले राखेको छ । सबै तहमा हाम्रै सरकार छ । यो बेलामा त यस्तो छ भने २ पार्टी मिलेर बनेको भए के हालत हुन्थ्यो होला । संविधानको मर्म अनुसार चल्न प¥यो नि ।

होमस्टेमा हामी बढी उत्साहित भयौं । समुदायमा जाने सबैभन्दा राम्रो आधार होमस्टे बन्छ भनेर लाग्यांैं । त्यसले धेरै राम्रो गरेको छ । समाजबाट विस्थापित मानिस स्थापित भएका छन् । अग्र्यानिक उत्पादन धेरै राम्रो भएको छ । गण्डकी प्रदेशको आयातमै ठूलो टेवा पुगेको छ । उत्पादन वृद्धिले हाम्रो आयात घटाएको छ । बाख्रापालन, कुखुरापालनबाट बागलुङ आत्मनिर्भर बनिसक्यो । हाम्रा लागि ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ र ‘होमस्टे’ असाध्यै सफल कार्यक्रम हो । पहिलो वर्ष होमस्टेका लागि ३० करोड रुपैयाँ छुट्टायौं । २७ करोड हामीले दियौं, १० करोड समुदायले उठाएर सरकारको काममा सहभागी भएका छन् । त्यहाँका मान्छेलाई तालिम दियौं । यस्ता सकारात्मक कामको कहिल्यै चर्चा भएन । खाली अनुदान दियो भनेर विरोधमात्र भयो । पहिलो वर्ष प्रभावकारी भएन कि भनेर पछिल्लो वर्ष वर्गीकरण गरेर २ सय ७४ बाट १ सय ३ छनोट ग¥यौं । ती २ सय ७४ लाई तालिम दिन्छौं । सवल बनाउँछौं । तर, अनुदान १ सय ३ वटालाई मात्र दिन्छौं । यो हामीले सुधार गरेका छौं । होमस्टे त गण्डकी प्रदेशका लागि नमुना कार्यक्रम र गौरवको आयोजना हुन् ।

 मन्त्रालय टुक््रयाउने र जिम्मेवारी हेरफेर कुरा चलेको थियो ? ३ वर्ष भयो, अब त जिम्मेवारीबाट बाहिरिनु परे बेखुसी त हुनुहुन्न नि ?

मुख्यमन्त्रीले काम आधारमा मन्त्रालय फुटाउने भन्नुभएको होइन । पहिला नै १० वटा मन्त्रालय बनाउने भन्ने कुरा थियाmे, त्यसै अनुसार उहाँले त्यो भन्नुभएको हो । कामको चापले त्यसो भन्नुभएको हो । हामीले त मुख्यमन्त्रीलाई भनेका थियौं– प्रदेश सफल हुनस प¥यो । राम्रो नेतृत्व गर्नु प¥यो । तपाईं नेता हो । तपाईं सफल हुनु प¥यो । तपाईंको सहयोगी हौं, के कुरामा सहज हुन्छ त्यो गर्नुस् । तर, त्यसको जनतामा नकारात्मक सन्देश नजाओस् भनेका भनेका छौं । त्यसमा हाम्रो केही विवाद छैन ।

संसद होस या बाहिर तपाईंले बोलेका विषय अलि विवादमा आइरहे । प्रदेश छाडेर संघको चुनाव लड्छु भन्नुभयो । पछि विज्ञप्तिमार्फत् प्रतिवाद गर्नुभयो नि ?
नेपालमा कसैले नयाँ भिजन प्रस्तुत ग¥यो, नयाँ कुरा अगाडि सा¥यो भने सबैले गलत भनिदिने प्रवृत्ति छ । मैले पनि गण्डकी प्रदेशमा पर्यटनको स्पेसल क्षेत्र बनाउनु पर्छ । त्योभित्र लाइब्रेरी होस् । होटल रेस्टुरेन्ट होस् । कल्चर पनि होस् । सबै कुरा एक दिनमा देख्न पाओस भनेर कुरा गरेँ । त्यसलाई गलत हिसाबबाट प्रचार भयो । तपाईंले त्यही कुरालाई जोड्न खोज्नुभयो होला । जनताका महत्वाकांक्षी रोजगारी सिर्जना गर्ने हिसाबले कुरा राख्यो त्यसलाई यो नहुने कुरा भनेर चर्चा चल्यो । फेवातालमा आएको बालुवा माटो एक ठाउँमा जम्मा गरेर त्यहाँ इन्द्रेणी जस्तो बनाएर डुंगा चढेर १ सय डलरमा जाने बनाऔं भनेको त्यो कफीमा मात्र लगेर जोडियो । कुनै ठाउँमा भने मैले त्यसको व्याख्या गर्न पाइनँ । बुझ्नेले अर्को तरिकाबाट बुझ्यो । हाम्रोमा खर्च गर्न चाहने पर्यटकले चाहे जति खर्च गर्न सकेका छैनन् । मैले त्यस्ता पर्यटकका लागि निजी क्षेत्र र सरकार मिलेर बनाउनुप¥यो भनेको हो । तैपनि उल्टो हिसाबले प्रचार गरियो । आज प्रष्ट पार्ने अवसर दिनुभयो । अब घिर्सेर होइन, फड्केर अगाडि बढ्नु पर्छ ।

मैले त्यो दिन संसदमा महँगीको जवाफ दिनु थियो । डाटासहित जवाफ दिँदै थिएँ । राष्ट्रिय राजनीतिमा घटेका विषयलाई लिएर निर्वाचन माहोल बन्नुपर्छ । अब निर्वाचनमा जानुपर्छ भनेर भनेको हुँ । निर्वाचन हँुदैन भन्नेहरुलाई उत्साहित बनाउन पनि भनेको हुँ । त्यसका लागि ‘म नै तयार छु । म त अहिले अवसर पाएको मान्छे हुँ । राम्रो काम गरेको मान्छे हुँ । म पनि जान तयार छु’ भनेर सकारात्मक सन्देश दिन त्यो कुरा गरेको थिएँ । अनि मान्छेहरुको त्योभित्र खोतल्ने कुरा भयो । त्यो कुरा सदनमा बोलेँ, म प्रष्ट छु ।

गण्डकी प्रदेश सरकारको तेस्रो वार्षिकोत्सवका अवसरमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालसँगको अन्तर्वार्ता

Related News

सम्बन्धित समाचार

hero news full width