बेलचौतारामा गण्डकीको शिक्षण अस्पताल

गण्डकी सरकारले विश्वविद्यालय स्थापना गरेको वर्ष दिन पुगेको छ

आदर्श समाज सम्वाददाता
फागुन ४, २०७७
gandaki university (1)

पोखरा । जीवनपयोगी मूल्यमान्यतामा आधारित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम र नेतृत्वदायी जनशक्ति तयार गर्न गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले गण्डकी सरकारले विश्वविद्यालय स्थापना गरेको वर्ष दिन पुगेको छ । प्रदेश सरकारले प्रदेशभित्रका सबै जनसमुदायलाई पायक पर्ने स्थलमा एउटा गुणस्तरीय विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले २०७६ असोज २७ मा गण्डकी विश्वविद्यालय सम्बन्धी ऐन ल्याएको थियो ।

त्यही ऐन अनुसार २०७६ फागुन ४ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राडा गणेशमान गुरुङलाई विश्वविद्यालयको कुलपति पदमा नियुक्ति र शपथ ग्रहण गराएका थिए । त्यही दिनलाई विश्वविद्यालय दिवसका अवसरमा मनाउन थालिएको छ । मंगलबार आयोजित वार्षिकोत्सवमा कुलपछि गुरुङले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई महत्व दिँदै गण्डकी विश्वविद्यालयलाई एउटा शिक्षण अस्पतालसहित चिकित्सा विज्ञान शिक्षण कार्यक्रम पनि समावेश गर्ने निर्देश गरे अनुसार काम भइरहेको जानकारी गराए । यसको प्रारम्भिक अध्ययन गरी ‘गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल आयोजना विकासको अवधारणा’ तयार गरी कार्यदलले आफ्नो प्रतिवेदन मुख्यमन्त्रीसमक्ष बुझाइसकेको उनले बताए । तनहुँको शुक्लागण्डकी नपा ५, बेलचौतारामा शिक्षण अस्पताल स्थापना गर्न सुझाव दिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सबैको साथ र सहयोग पाए गण्डकी विश्वविद्यालयलाई नमुना बनाए देखाइदिने बताए । अहिले संघीयता कार्यान्वयन सँगै शिक्षा क्षेत्र अस्तव्यस्त बनेको बताए । ‘शिक्षाका पाठ्यक्रम प्रकाशन र सञ्चालन गर्ने अधिकार प्रदेशलाई हुनुपथ्र्यो,’ उनले भने, स्थानीय तहले सानो क्षेत्रलाई आधार मानेर बनाएका पाठ्यक्रमले विद्यार्थीले कसरी फड्को मार्नु ?’ उनले शिक्षामा फड्को मार्न ठूलो क्षेत्रलाई समेटिनुपर्ने बताए । गुणस्तरीय शिक्षा दिन नसके विद्यार्थी बाहिरी मुलुकमा जाने भएकाले उनीहरुलाई टिकाउन गुणस्तरीय शिक्षा दिन आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले नेपालका विश्वविद्यालयमा विद्यार्थी भर्ना दर अत्यन्तै कम भएको बताए । विश्वविद्यालय प्रादेशिक र संघीय नहुने भन्दै उनले सरकारको योजना महत्वाकांक्षी भएकाले नेपालका विश्वविद्यालयमा सुधार नआएको भनाइ राखे ।
कार्यक्रममा संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. यादव लामिछानेले आफूहरुले जीवनशैली व्यवस्थापन लगायत परम्परासँग जोडिन गरी नयाँ शैलीमा पाठ्यक्रम बनाउन लागेको बताए । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले राजनीतिले विश्वविद्यालयहरु ध्वस्त भएकामा गण्डकीमा भने प्राज्ञिक व्यक्तिहरुबाटै विश्वविद्यालय सञ्चालन गरेकोमा खुसी व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width