आख्यानमा इतिहास सदाकाल जीवित रहन्छ

चन्द्रप्रकाश बानियाँ
फागुन २, २०७७
baniya

उही लहरमा दुरुस्त त्यसरी नै उभिने अवसर मिलेको छ, जसरी झन्डै ८ दर्जन विद्वान् साहित्यकारहरू यसअघि उभिनुभएको थियो र आफ्ना पवित्र पाइलाहरूले यो भूमिलाई गौरवान्वित बनाउनुभएको थियो । तिनै आदरणीय अग्रजहरूका पवित्र पावन पदचिह्नमाथि उभिनु पर्दा मेरा गोडाहरू लगपकाएका छन् । तीव्र गतिमा मुटु स्पन्दित भइरहेको छ ।

नेपाली साहित्यका महारथीहरूको त्यही विराट उपस्थितिले निर्माण गरेको तेजस्वी आभाको सगरमाथासमक्ष उभिएर सम्बोधनका २ शब्द उच्चारण गर्न खोज्दा मेरा दृष्टिविन्दुहरू तिर्मिराइरहेका छन् र बिस्तारै बिस्तारै आफ्नो भौतिक उचाइ खिइँदै दुब्लाउँदै गएर ‘लिलिपुटे मानव’ मा रुपान्तरित भएजस्तो अनुभूति गरिरहेको छु ।

मेरो ठुटे कलमलाई मदन पुरस्कारले अकल्पनीय स्थान र मान दियो । साहित्यकर्मीहरूको लहरमा उभिने गौरवपूर्ण अवसर दियो । त्यसका लागि जतिपटक आभार व्यक्त गरे पनि कमै हुन्छ ।

मदन पुरस्कारले खुसी दिएको मात्र होइन, रुवाएको पनि छ । गत सितम्बर ४ को अपराह्न ३ः४५ बजे मदन पुरस्कार गुठीका सम्माननीय अध्यक्षज्यूसँग भएको संक्षिप्त फोन संवादपछि मेरो भरिएको मनलाई मेरा आँसुहरूले निर्धक्क सघाएका थिए । एउटै बाँचेको सन्तान धेरै वर्ष देशविदेश घुमेर सकुशल घर फक्र्याे भने बूढीआमाका नयनसागरबाट आँसुका अजस्र स्रोतहरू निसृत हुन्छन् । ती अनमोल आँसुहरू हर्षका मात्र हुँदैनन्, वर्षौंअघि किशोरवयमा पाइलो राख्ने अवसर समेत नपाउँदै कालकवलित भएका हतभागी सन्तानहरूको सम्झनाका आँसु पनि मिसिएका हुन्छन् । उम्लिएर पोखिन खोज्ने त्यस्तै पीडाका अनुभूतिहरूलाई रोक्ने शक्ति सामथ्र्य मसँग पनि थिएन ।

‘महारानी’ को कथा दुई शताब्दीभन्दा लामो समयदेखि विस्मृतिको गर्भमा पातालिएको इतिहास उत्खननको साधारण र सपाट विवरण मात्रै हो । त्यही टिपोटलाई मदन पुरस्कार गुठीले साहित्यको दर्जा दियो । गुठीको त्यही निर्णयले यहाँ यसरी उभिने र अभिव्यक्त हुने अवसर मिल्यो । त्यसका लागि गुठीप्रति हार्दिक आभार अर्पण गर्दछु ।

अघिल्लो पुस्ताले आफ्ना अनुभव र अनुभूतिको दस्तावेज तयार गरेर राखिदियो । पछिल्लो पुस्ताले अग्रजका लेखोटहरूको विशेषता र बान्कीका आधारमा परिभाषा बनायो । पहिले साहित्य जन्म्यो, त्यसपछि परिभाषा । अर्थात् आफ्नै परिभाषाभन्दा साहित्य जेठो छ । त्यसैले परिभाषाको संकुचित घेरामा खुम्चिएर साहित्य बस्दैन । बस्न सक्तैन । कुनै सीमा र बन्धनले साहित्यलाई सदाकाल ठिँगुराएर राख्न सक्दैन । सक्ने छैन ।

साहित्यमा मानव जीवन बोल्छ । समाज बोल्छ । समय बोल्छ । मानिसको भोगाइ र अनुभूतिहरूले वाणी पाउँछन् । मानव अनुभूतिभित्र खुसी र आनन्द मात्र होइन, पीडा, क्रन्दन र चित्कार पनि खाँदिएका हुन्छन् । कलाका अन्य विधामा भन्दा साहित्यमा एउटा विलक्षण फरक सामथ्र्य रहन्छ । क्रन्दन र चित्कारलाई कस्तै कुशल संगीतकारले पनि मधुर धुनले सजाउन सक्दैन । तर साहित्यले गालीलाई पनि श्रुतिमधुर बनाउन सक्छ । लालित्यपूर्ण बनाउन सक्छ । सुरुचिपूर्ण पाठ्यसामग्री बनाइदिन सक्छ । त्यो कसीमा राखेर हेर्दा महारानीले साहित्यको दर्जा पाउनु र पुरस्कृत हुनु मेरा लागि कल्पनातीत विषय थियो ।

मैले साहित्यको सम्बन्धमा बोल्ने हैसियत आर्जन गरेको छु भन्न मिल्दैन । त्यसैले विद्वत्जनहरूसमक्ष अभिव्यक्त भएको आफ्नो नादान धृष्टताका लागि विनम्रतापूर्वक क्षमा याचना गर्दछु र, ‘महारानी’ उपन्यासको पृष्ठभूमि अलिकता कोट्याउने अनुमतिको अपेक्षा राख्दछु ।

इतिहासका पुस्तकमा मात्र होइन, लोककथनमा पनि लामो समयसम्म इतिहास जीवित रहन्छ । लिखतमा नउतारिएको कुनै कालखण्डको ऐतिहासिक तथ्यमा अतिरञ्जनाहरू थपिँदै जाँदा त्यो किंवदन्तीमा रुपान्तरित हुन्छ । आवरणमा जे जस्ता कथा जोडिएका भए पनि त्यसको गर्भगृहमा इतिहास जिउँदै हुन्छ ।

तथ्यप्रमाणले पुष्टि गर्न नसकिने इतिहास साहित्यको माध्यमबाट अभिव्यक्त हुन्छ । साहित्यमा इतिहासको र इतिहासमा साहित्यको गौरवपूर्ण उपस्थिति रहन्छ । इतिहास मानव जीवनको मूल्यात्मक विकास हो, मूल्यको भाषिक अभिव्यक्ति हो –साहित्य । साहित्यमा कल्पनातत्व प्रबल रहन्छ, इतिहासमा तथ्य ।

ऐतिहासिक घटनाक्रमको पिँधसम्म पुगेर सुनिएका–नसुनिएका, परिचित–अपरिचित, दृश्य–अदृश्य घटना र पात्रहरू समातेर विश्वसनीय आख्यान रचना गरिन्छ । इतिहासमा छुटाइएका वा लेख्न इन्कार गरिएका अथवा उपेक्षित विषयहरू आख्यानमार्फत सार्वजनिक हुन्छन् । ‘इतिहास अतीत र वर्तमानबीच निरन्तर चल्ने संवाद हो’ भन्ने ई.एच. कारको भनाइ यस अर्थमा यथार्थनिकट सावित हुन्छ । सत्य र कल्पनाको सुन्दर संयोजनबाट सिर्जना गरिएको आख्यानले विश्वसनीय इतिहास बन्ने सामथ्र्य राख्दछ ।

इतिहासको पुनर्लेखन मात्रै होइन, आख्यान इतिहासको पुनर्संरचना समेत बन्न सक्दछ । इतिहास आधारित आख्यानमा यथार्थ चेतना र कल्पनाको मोहक समन्वय मात्र हुँदैन, इतिहासका कठिनतम क्षणसँग समाजलाई साक्षात्कार गराउने तागत पनि हुन्छ । अझ आन्द्रे लेभीले भनेजस्तै इतिहासले खाली छोडेको ठाउँ आख्यानकारका कल्पनाले भरिदिन्छन् । बरु इतिहासमा वास्तविक इतिहास नभेटिन सक्छ तर आख्यानमा इतिहास सदाकाल जीवित रहन्छ ।

‘महारानी’ को कथा दुई शताब्दीभन्दा लामो समयदेखि विस्मृतिको गर्भमा पातालिएको इतिहास उत्खननको साधारण र सपाट विवरण मात्रै हो ।

दुई शताब्दी लामो कालखण्डसम्म जुन भूमिमा महारानीको कथा दबिएर रहेको थियो, संयोगवश मेरो जन्म पनि त्यही माटोमा भएको थियो । महारानीसँग जोडिएका अनेक अपत्यारिला कथा–गाथाहरू सुन्दै सुनाउँदै हुर्कने अवसर जुरेका हुनाले तथ्यको गहिराइमा पुगेर इतिहास उधिन्ने उत्कट अभिलाषा थियो । किंवदन्तीमा रुपान्तरित भएको महारानीको कथालाई उपन्यासमा उतार्न पाउँदा पउल लेख्य सामग्रीको अभावमा आकांक्षा अधूरै रहन्छ कि भन्ने मेरो चिन्ताको सुखद अन्त्य भएको छ । यो आख्यान इतिहासकै अस्थिपञ्जरमा भरिएको मांसपिण्ड हो ।

साहित्य रचनाको अभ्यास समयको गतिसँगै कदम मिलाएर पल्लवित, पुष्पित, परिमार्जित र विकसित हुँदै जाने हो । मानिसको जीवनयात्रा जस्तै समयक्रममा बालक, किशोर, जवान हुँदै परिपक्वतातिर उन्मुख हुने हो । दुर्भाग्यवश मेरो लेखनयात्रा बुढ्यौलीमा बल्ल वामे सर्दैछ । तन्नेरी हुन नपाउँदै अवसानको नियति भोग्न अभिशप्त हुने मेरो साहित्यिक जीवनका लागि दुःख मनाउ गर्नुको कुनै अर्थ रहँदैन ।

लेखन यात्राले दीर्घजीवन पाउला–नपाउला, अल्पायुमै कालकवलित हुन पनि सक्छ । त्यसैले मेरो कलमलाई किञ्चित पहिचान दिलाउने ‘महारानी’ को लेखनमा घचघच्याउने, सघाउने र हौस्याउने सबै विद्वान् बन्धुप्रति कृतज्ञता ज्ञापन गर्दछु । साहित्यको फाँटमा अपरिचित कलमलाई प्रोत्साहित गर्ने र समाजसामु पस्कने जोखिम उठाउने शिखा प्रकाशनप्रति पनि कृतज्ञता ज्ञापन गर्दछु ।

र, अन्त्यमा
देवीको दर्जा पाइसकेकी महारानी विश्वप्रभाका मानवीय भावनाहरू उधिनपत्ताल पार्ने, छेडखान गर्ने र बिना अनुमति सार्वजनिक गरिदिने धृष्टताका लागि दुःखी छु । अपराधबोधमा पिल्सिएको छु । तिम्रा खाटा बसिसकेका घाउहरू कोट्याउने नादानी पुनः दोहोरिने छैन, कमसेकम मबाट त्यो अपराधको पुनरावृत्ति हुने छैन भन्ने वाचा पनि गर्दछु । फेरि अर्को एक पटक मदन पुरस्कार गुठीप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै विराट गरिमायुक्त विद्वत्सभासँग मेरो वाणीलाई विश्राम दिने अनुमति माग्दछु ।

(मदन पुरस्कार विजेता महारानी पुस्तकका सर्जजकले पुरस्कार ग्रहणपछि व्यक्त विचार । उक्त पुरस्कार मदन पुरस्कार गुठीले शनिबार पोखरामा अर्पण गरेको छ ।)

Related News

सम्बन्धित समाचार

    • संक्रमित खोज्न वडा तहमा एन्टिजेन

      सविन लामिछाने असार ७, २०७८
      दमौली । शुक्लागण्डकी ७ का ३५ वर्षीय पुरुषले वडास्तरमा खटिएको स्वास्थ्यकर्मीको टोलीसमक्ष स्वाब दिए । एन्टिजेनमार्फत गरिएको परीक्षणमा रिपोर्ट भने…
    • सत्ता किचलोले बजेटमा विलम्ब

      आदर्श समाज सम्वाददाता असार ७, २०७८
      पोखरा । गण्डकीमा अहिले सत्ता किचलो बढी छ । संविधानको धारा १६८ (५) अनुसार गठित कृष्णचन्द्र नेपाली पोखरेलको सरकारले जेठ…
    • २३ करोडको रामायण पार्क बन्ने

      साधन राम्जाली असार ७, २०७८
      म्याग्दी । बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको…
    • कास्कीमा निषेधाज्ञा खुकुलो, जोरबिजोर आधारमा निजी गाडी चल्ने

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा, ६ असार । कास्कीमा विभिन्न सेवा खुकुलो पार्दै निषेधाज्ञा अवधि एक साता बढाइएको छ । जसमा निजी सवारीसाधन जोरबिजोर…
    • प्रदेश नीति तथा योजना आयोगमा तनहुुँका काफ्ले

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले…

    hero news full width

    sanil ads

    wordlink ads