‘डुकवाली’ सभ्याको साहसिक यात्रा

धनबहादुर गुरुङ
फागुन १, २०७७
Savya KC Photo 4

पोखरा । दाइ विदेश गएपछि डुक बाइक थन्किएको थियो । सानैदेखि साहसिक गतिविधि मन पराउने पोखरा बिरौटाकी सभ्या केसीलाई त्यही बाइक हुइँकाउने रहर जाग्यो । कक्षा १२ मा पढ्ने उनी त्यो बेलासम्म स्कुटर चलाउन पोख्त भइसकेकी थिइन् ।

छोरालाई बाइक र छोरीलाई स्कुटर, सामाजिक चल्ती छ । उनको घरमा पनि त्यही भयो । सभ्याको दाइलाई बाइक र उनलाई स्कुटर एसइई पास हुने बित्तिकै किनिएको थियो । बाइक हुइँकाउने रहर पालेर बसेकी उनलाई एकदिन भित्रैदेखि आँट पलायो । बाबा घर नभए पनि आमाको डर थियो ।

पसल चलाउने उनकी आमा बिहानै स्कुटर लिएर निस्कन्थिन् । सभ्यालाई सार्वजनिक बसमै कलेज जानुपर्ने बाध्यता थियो । घरमै थन्किएको बाइक लिएर हिँड्छु भन्ने इच्छा पूरा गर्ने गतिलो समय बिहान नै ठानिन् । तर जाने कहाँ ? बिहानमा उनको कलेज थियो ।

कलेजमै बाइक लिएर जाने निधो गरिन् । फेरि अर्को चुनौती खडा भयो । कजेल युनिफर्ममा छात्रालाई स्कर्टभन्दा अर्को थिएन । खाने मुखलाई जुँगाले के छेक्थ्यो र ! स्कर्टमै बाइक चलाइन् । अनि सकुशल पुगिन् कलेज । बाइक कलेज बाहिर पार्किङ गरेर सरासर कक्षाकोठा गइन् । जब कलेज बिदा भयो, विद्यार्थी बाहिर निस्किए । झिसमिसेमै लिएर निस्केको बाइक त घर फर्काउनुप¥यो । जब उनी स्कर्ट सहित बाइकमा चढिन्, सबै अचम्मित बने । एकअर्काले कानेखुसी गर्दै थिए ।

सभ्याले एकै दिन पोखरादेखि बिर्तामोडसम्मको ७ सय किमी यात्रा गरेकी छन्

उनी त्यसको बेवास्ता गर्दै बाइक चढेर जसोतसो घर पुगिन् । आमाले नदेख्ने गरी जस्ताको तस्तै त्यही ठाउँमा सही सलामत पार्किङ गरिन् । एवंरीतले बाइक चढेरै कलेज आउजाउ गर्न थालिन् । कलेजमा गाइँगुइँ थियो । ‘ऊ डुकवाली आई’, ‘हेर त स्कर्टमा डुक’ यस्तै–यस्तै । यसले उनको मनमा झन् शान्ति छायो । झन् खुसी लाग्न थाल्यो । पछि त उनी कलेजमा भाइरल नै भइन्–‘डुकवाली’ नामले ।

बिस्तारै सामाजिक सञ्जालमा भाइरल भइसकेपछि छोरीले बाइक चलाउन थालेको कुरा आमाको कानसम्म पुग्यो । जोखिमको काम गरेकाले आमाले गाली गरेको उनी सम्झिन्छिन् । ‘सुरुमा थाहा पाउँदा त डराउनुभयो अनि हल्का कराउनु पनि भयो,’ सभ्याले भनिन्, ‘पछि मेरो मिहिनेत र यो क्षेत्रको लगावले गर्दा साथ दिन थाल्नुभयो ।’

उनी बाइक चलाउने बेला मात्र १८ वर्षकी थिइन् । पोखराको सगरमाथा स्कुलबाट १२ कक्षा पास गरेर अहिले काठमाडौंको न्यु समिट कलेजमा विज्ञान संकायमा अध्ययन गर्छिन् । सानैदेखि पढाइमा अब्बल उनको पुख्र्यौली घर स्याङ्जाको फेदीखोला हो । कक्षा ६ सम्म उतै पढेकी उनी कक्षा ७ पढ्न पोखरा झरेकी हुन् । अनि फिस्टेल बोर्डिङमा भर्ना भइन् । पढाइमा तेज उनको हरेक काममा आमाबुवाले राम्रै साथ दिने गरेको उनी बताउँछिन् । उच्च माध्यमिक तहमा विज्ञान संकाय पढेकी उनी स्नातक तहमा पनि बिएस्सी सिएसआइटी तेस्रो सेमेस्टरमा अध्ययन गर्छिन् । अचेल पोखरा–काठमाडौं बाइकमै आउजाउ गर्छिन् ।

बाइक चलाउन सुरुमा गाह्रो होला भनेर डराए पनि अहिले कुनै रोकतोक छैन । राम्रोसँग चलाउनू । राम्ररी अगाडि बढ्नू भन्ने बाबुआमाको हौसलाका शब्दले ऊर्जा थपिन्छ, उनमा । उनकी आमा बिन्दु केसी पनि छोरीको प्रगतिमा खुसी छिन् । ‘छोराछोरीको खुसी नै हाम्रो खुसी हो,’ बिन्दु भन्छिन्, ‘सुरुमा त कतै केही हुने हो कि भन्ने डर लाग्थ्यो अहिले खुसी लाग्छ ।’ १२ को परीक्षा दिएर बस्दा उनलाई ‘भ्लग’ बनाउन मन लाग्यो । भ्लग बनाउँछुभन्दा आमाबाबाले नार्इंनास्ती गरे पनि पछि कुरा बुझेकोमा उनी खुसी छिन् ।

बाइक चलाउन सुरु गरेदेखि आजसम्म उनलाई कुनै ठूलो चोटपटक लागेको छैन । बाटोमा कोहीले गिँज्याउने गरेको सामान्य घटना बाहेक नराम्रो अनुभव छैन, उनीसँग । उल्टै हौसला, माया र उत्साह थप्नेहरु भेटिँदा मख्ख छिन् । उनको ‘सभ्या राइड्स’ नामको युट्युब च्यानल पनि छ । च्यानलमा १ लाख ७३ हजार जोडिएका छन् । उनले आफू पुगेको नयाँ–नयाँ ठाउँको जानकारी च्यानलमार्फत् नै दिने गरेकी छिन् । बिदामा कहिले कता कहिले कता पुगिरहेकी हुन्छिन् । पूर्वका अधिकांश ठाउँ लगायत बुटवल घुम्न जाँदा उनले बाइक नै लिएर जाने गरेकी छिन् ।

उनको उद्देश्य भनेको एक नारीका लागि नेपाल कति सुरक्षित छ ? एक्लै हिँड्दा कस्तो व्यवस्थापन गरेर हिँड्नु पर्छ ? भन्ने सन्देश दिनु थियो । त्यसैको लागि १ महिनाअघि पूर्वी नेपालको यात्रामा निस्किन् । यात्राको पहिलो दिनमा उनले एकै दिनमा ७ सय किलोमिटर यात्रा गरिन् ।

पहिलो दिन उनी पोखराबाट झापाको बिर्तामोड गएर बसिन् । बिर्तामोड पुग्न गुगल म्यापले झुक्कायो । म्यापमा नजिकै देखाए पनि विर्तामोड टाढा भएपछि जसोतसो रातको ८ बजे उनी पहिलो दिनको गन्तव्यमा पुगिन् । रातको समय त्यसैमाथि जंगलको बाटो मनमा डर थियो । विपरीत दिशाबाट आएका गाडीले आँखै नदेखिने गरी हेडलाइट बालिदिँदा झनै डर पैदा भयो । पछाडिबाट कसैले फलो गरेको छ कि भन्ने भय उस्तै । जंगलकै बीचमा १ जना असहाय पुरुष भेटिन् । रातको समय दयनीय अवस्थामा ती पुरुषलाई देखेपछि आफूले बोकेको खाजा दिएर अगाडि बढिन् । त्यो दृष्यले उनलाई दुखी पनि बनायो ।

पूर्वी नेपाल भ्रमणमा निस्किएकी उनीसँग विर्तामोड पुगेपछि साथी जोडिइन् । त्यो दिन साथीसँग उनी इलाम फिक्कल पुगिन् । चौथो दिन सूर्योदय अवलोकन गर्न अन्तु गइन् । त्यही दिन नेपाल–भारत सीमा पशुपतिनगर गइन् । त्यहाँबाट भारततर्फ छिर्न नपाएपछि बिर्तामोड फर्किइन् । पाँचौं दिन बिर्तामोडबाट साथीसँग बिदा लिई एक्लै हेटौडा पुगिन् । छैटौं दिन हेटौंटाबाट पोखरा फर्किइन् । महिलालाई एक्लै घुम्न केही गाह्रो भए पनि परिस्थिति बुझ्न सके सहज बनाउन सकिन्छ भन्ने उनलाई लाग्यो । आँट र साहस भएरकोले पूर्वी नेपालको यात्रा सहज भएको उनी बताउँछिन् ।

यसअघि समूहमा धेरै ठाउँमा पुगेको उनी बताउँछिन् । यसरी हिड्न स्पोन्सर आउने गरेको उनको भनाइ छ । गत वर्ष मात्र पनि माउन्टेन डिउको प्रायोजनमा उनले बन्जी, रक क्लाइबिङ, क्यानोनिङ लगायत गतिविधिमा भाग लिने अवसर पाइन् । त्यसको ६ महिनापछि टिभिएसको प्रायोजनमा भारतसम्म पुगिन् । हिजोआज धेरै ठाँउबाट प्रायोजन अफर आउने गरेको उनले बताइन् ।

युट्युबको कमाइ पनि राम्रै रहेको उनी सुनाउँछिन् । प्रायोजन र युट्युबबाट भएको कमाइले खर्च धानेको छ । ‘स्पोन्सर र युट्युबबाट आएको पैसाले खर्च चलाउन पुगेको छ, कहिलेकाहीं नपुगेको घरमा माग्छु,’ उनी भन्छिन्, ‘मेरो कमाइले बाबा मम्मीलाई मोबाइल किनिदिएकी छु । दाइलाई कपडा ल्याइदिन्छु ।’

Related News

सम्बन्धित समाचार

hero news full width