मातृसेवा प्रतिष्ठान नेपालले कास्कीमा झन्डै ४० लाखको छात्रवृत्ति प्रदान गर्ने

आदर्श समाज सम्वाददाता
माघ ३०, २०७७
palpali (2)

पोखरा । मातृसेवा प्रतिष्ठान नेपालले कास्कीका विभिन्न ५ पालिकामा करिब ४० लाख बराबरको छात्रवृत्ति वितरण गर्ने भएको छ ।
पाल्पाली समाज पोखराको व्यवस्थापनमा वितरण गरिने सो छात्रवृत्ति पोखरा महानगरपालिका सहित माछापुच्छ्रे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकाका गरी ७२ वटामा प्रत्येक वडा समेट्ने गरी वितरण गरिने भएको हो । कर्मभूमि नामक सो छात्रवृत्तिका लागि फागुन ५ सम्म आवेदन दिनुपर्ने समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार प्राविधिक विषय पढ्ने प्रतिविद्यार्थीलाई ५० हजार रुपैयाँको छात्रवृत्ति वितरण गरिनेछ । यसरी ७२ वडामा ५० हजार दरले ३६ लाख र जिल्लाका दलित विद्यार्थीका लागि बाँकी ३ लाख छात्रवृत्ति स्वरुप उपलब्ध गराइने छ ।

पूर्व मन्त्री समेत रहेका उद्योगपति हरिप्रसाद पाण्डेले प्रतिष्ठानमार्फत यसअघि पनि विभिन्न नाममा निरन्तर छात्रवृत्ति रकम उपलब्ध गराउँदै आएका छन् ।
यसैबीच, पाल्पाली समाजले कास्कीका विभिन्न पालिकाका प्रमुख तथा अध्यक्षहरुसँग छलफल गरी सुझाव संकलन गरेको छ ।

पोखराका मेयर मानबहादुर जिसी, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, अन्नपूर्णका युवराज कुँवर, मादीका वेदबहादुर गुरुङ श्याम र रुपाका नवराज ओझासँग भेट गरी छात्रवृत्तिबारे जानकारी गराउँदै आवश्यक सुझाव संकलन गरेको हो ।

छलफलमा उनीहरुले अन्य समाजको तुलनामा पाल्पाली समाज पोखराले रचनात्मक कार्य गर्दै आएकोमा प्रशंसा गर्दै छात्रवृत्ति कार्यक्रम कर्मभूमि कास्कीमा ल्याएकोमा खुसी व्यक्त गरे । यसबाट गरिब, विपन्न तथा असहायको हित हुने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width