मादी नदीको बालुवा रातारात चोरी

सविन लामिछाने
माघ ३०, २०७७
tanahun chori news2

दमौली । व्यास नगरपालिका अन्तर्गत विभिन्न नदीनालामा दिनहुँ नदीजन्य सामग्रीको चोरी निकासी हुने गरेको छ । वडा ५, मादीको पुलमुनि रातिको समयमा बालुवा, गिट्टी लगायत नदीजन्य पदार्थ निकाल्ने काम भएको पाइएको हो । नदीजन्य पदार्थको उक्त क्षेत्रमा ठेक्का नलागेपछि स्थानीय आवश्यकता पूरा गर्न तस्कर गिरोह चोरी निकासीमा सक्रिय भएका हुन् ।

ठेक्कामार्फत सञ्चालन हुँदै आएको मादी नदीघाट यस वर्ष व्यास नगरपालिका आफैँले सञ्चालन गरेको हो । व्यास वडा ४, ५, ६, ७ र १० अन्तर्गत मादी नदीबाट ढुंगा, गिट्टी, बालुवा संकलनका लागि नगरपालिका आफैँले घाट सञ्चालन गरेको र गत वर्षको भन्दा भाग बढी भएकाले तस्करले रातारात नदीमा ट्याक्टर लगेर खोलाबाट बालुवा र ढुङ्गा निकाल्ने काम भएको हो ।

अझ मादीको पुलबाट ५ सय मिटर तल र माथि नदीजन्य पदार्थ निकाल्न नपाउने नियम भए पनि तस्करले दैनिक रुपमा चोरी गर्दै आएका छन् । बिक्री गर्न २ पटकसम्म ३० दिने सार्वजनिक सूचना प्रकाशित गरिएकामा बोलपत्र लाग्न नसकेको भन्दै नगरपालिकाले आर्थिक ऐन, २०७७ अनुसार घाट सञ्चालन गदै आएको हो । नदीमा ठेक्का नलागेपछि तस्करले पहिलेको तुलनामा बालुवा ढुंगाको भाउ पनि बढाएका छन् । मादी नदीको धार परिवर्तन गर्दा थुपारिएका बालुवा तथा गिट्टी दैनिक ३/४ वटा ट्याक्टरले बालुवा चोरी गरिरहेको स्थानीयवासीले बताएका छन् ।

पुलको पश्चिमपट्टि पिलरको भागमा बढी गहिरिएर जान थालेपछि पुलको अस्तित्व संकटमा पर्दै गएकाले संरक्षण गर्न नदीको धारमा परिवर्तन गरिएको थियो । नदीमा ठेक्का नलाग्दा नगरपालिकालाई दैनिक लाखौँको घाटा भएको छ भने जथाभावी बालुवा चोरी हुँदा वर्षात्मा समस्या आउने जानकारले बताएका छन् । अनुगमन प्रभावकारी नहुँदा पनि चोरी निकासी बढेको स्थानीय बताउँछन् ।

त्यसैगरी व्यास र ऋषिङ जोडने सुँडेपुल तल पनि दिउँसोको समयमा दैनिक नदीजन्य पदार्थ चोरी निकासी भइरहेको छ । प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले तस्करलाई कारबाही दायरामा ल्याउने बताउँछन् । ‘हामीले रातको समयमा पनि अनुगमन गरेका छौं । बुधबार बिहान पनि २ ट्याक्टर नियन्त्रणमा लिएर जरिवाना गरायौं,’ उनले भने, ‘पहिलेको तुलनामा चोरी कम भएको छ । न्यूनीकरण गर्न हामी प्रयासमा छौं ।’ प्रहरीसँग समन्वय गरी अनुगमनलाई तीव्रता दिएको उनको आश्वास छ ।

Related News

सम्बन्धित समाचार

hero news full width