पोखरा सिमरा सिधा हवाई सेवा चैत १५ बाट

आदर्श समाज सम्वाददाता
माघ २९, २०७७
pokhara simara udan

पोखरा । पर्यटकीय नगरी पोखरा र औद्योगिक नगरी सिमराबीच अब सिधा हवाई सुरु हुने भएको छ । गण्डकी प्रदेश सरकारले ७ वटै प्रदेशमा हवाई सम्पर्क स्थापित गर्ने अभियान अन्तर्गत सिमरामा उडान हुन लागेको हो ।

यसका लागि यति तारा एअरलाइन्स, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका, पोखरा र सिमराका उद्योगी व्यवसायी र पर्यटनकर्मीबीच सहमति भएको छ ।

गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले चैत १५ बाट साताको ३ दिन उडान गर्ने गरी यति तारा एअरलाइन्स सहमत भएको बताए ।

उनले भने, ‘यही सरकारको अवधिभित्र ७ वटै प्रदेशमा हवाइ उडान गर्ने हाम्रो प्रतिबद्धता हो, भैरहवा र भरतपुर अहिले पनि उडान हुँदै आएको छ, विराटनगरमा सुरु गरे पनि अहिले रोकिएको छ, अब फेरि सुरु गर्छौ । उनका अनुसार पाखराबाट सिमरा हप्ताको ३ दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार नियमित उडान हुनेछ । अहिलेका लागि भाडादर ४५ सय रुपैयाँ तोकिएको छ ।

सडकमार्गबाट पोखरा सिमरा ५ घन्टा लाग्छ । हवाई यात्रा ३० मिनेट लाग्छ ।

बिहीबार भएको बैठकमा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा.विष्णुराज बराल, पोखरा महानगरपालिकाका मेयरमान बहादुर जिसी, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेल, मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, पोखरा विमानस्थलका प्रमुख विक्रम गौतम, यति तारा एयरलाइन्सका वरिष्ठ निर्देशक सरलशमशेर जवरा, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीवबहादुर कोइराला, उद्योग वाणिज्य संघ जीतपुर सिमराका अध्यक्ष संजयकुमार शाह, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई तथा पर्यटन व्यवसायी सहभागी थिए ।

कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई थोरै भए पनि यो पहलले राहत दिने पोखरा पर्यटन परिषद अध्यक्ष गोपिबहादुर भट्टराईले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width